• १३ साउन २०८१, आइतबार

त्रिविभित्रको किचलो

blog

यतिबेला धेरै चर्चा/परिचर्चा भइरहेको छ त्रिभुवन विश्वविद्यालयमा छात्र राजनीतिको। तालाबन्दीका समाचार छन्। छात्रछात्रासँग विग्रह छ उपकुुलपति र उनका सहकर्मी झुन्डको। वातावरण मिलिसकेको छैन। अध्ययन, अध्यापन, परीक्षाफल आदि समस्या बल्झिँदै छन्। समस्या के हो, के गरियो भने तत्काल समाधान होला, पुनः समस्या दोहोरिन नदिन के गर्ने भन्ने प्रश्न सबैका सामु तेर्सिएका छन्। 

छात्र राजनीति : 

उच्च शिक्षामा छात्र राजनीति न रोक्न सकिन्छ न त प्रतिबन्धित नै गर्न। यो राणाकालदेखि रोक्न, छेकबार लगाउन नसकेको विधा हो। त्यसैगरी ०३६ को जनमत घोषणा, ०४६ को आन्दोलन र यसपछि गणतन्त्रकालले पनि यसलाई छेकबार गर्न सकेनन्। बरु ०४६ सालसम्म त्रिविको दसमहिने कार्यक्रम राष्ट्रिय विकास सेवा (एनडीएस) अविस्मरणीय छ। यसअन्तर्गत विद्यार्थी वर्ग राष्ट्र«मा कुनाकाप्चा पुगेर सेवा दिने गर्थे र फर्केर मात्र आफ्नो डिग्री प्राप्त गर्थे। तिन्ताका यो सेवाले बहुदल राजनीतिमा झन् गहकिलो योगदान दिएको थियो। 

उच्च शिक्षा एक प्रकाश पुञ्ज हो र राजनीति समाज चेतनाको अभिन्न पाटो। समग्रतया राजनीति एक स्वभाव हो। उच्च शिक्षामा अहिले यो एक अभिन्न अवयव हो तथा सहायक पाठ्यक्रमसरह हो। यही अन्तर्उपदेश र व्यावहारिक ज्ञान लिएर भोलिका दिन विद्यार्थी सामान्य सामाजिकतामा फर्केको हुन्छ। मात्र यसमा सीमाङ्कन वा चौहद्दी, सन्तुलन वा मर्यादाको यक्ष प्रश्न छ। विडम्बना पनि छन्, हामी गुरुवर्गमध्ये कतिपय विद्यार्थी राजनीति खेमाका पनि छौँ। भए पनि यिनै गुरुवर्ग छात्रसङ्घ निर्वाचनमा लागिपर्छन् र कार्यकारिणी निर्वाचित गराउँछन्। गुरुवर्गको यो नैतिक दायित्वमा पर्छ। 

पाठ्यान्तरमा राजनीति मात्र किन ? : 

अब एक सहज प्रश्न छ– विश्वविद्यालयमा राजनीति मात्र विद्यार्थीको अभिरुचि हो त ? यो एक जटिल आख्यान हो। तथापि समाधान खोज्न र पाउन पहिले हामी विश्वविद्यालयको प्रतीक चिह्न र औपचारिक छाप पर्गेलौँ– तमसो मा ज्योतिर्गमय। प्रतीकले बोल्छ– अन्धकारभित्र उज्यालाका धेरै थरी धर्सा छन्; जुन हामीले बेवास्ता गरिरहेका छौँ। पाठ्यान्तरमा राजनीति मात्र किन ? केही विद्यार्थीले राजनीतिको बुँदा बोके भन्दैमा सबैले यो चाहेका हुन् त ? अनि अर्को के त ? प्रथमतः यत्ति बुझौँ राजनीति मात्र विद्यार्थीको बुद्धिविलास होइन। जो यसमा लाग्छन्, उनीहरूको उद्देश्य शिक्षामा भाँडभैलो मच्चाउने नभई मूलतः त्रुटि सुधार गराउने हो। पढ्ने कि राजनीति गर्ने! सबैमा यो लागू हुँदैन, जस्तो हामी सुन्ने गर्छौं। यी दुईबाहेक अरू सामाजिक विधा छैनन् भन्ने पनि होइन । सोझा आँखाले हेरौँ, हामी देख्नेछौँ राजनीतिबाहेक उच्च शिक्षामा नानाथरी बुुद्धिविलास छन्; जुन अहिले हामीले बिर्सिदिएसरह छ। विश्वविद्यालयदेखि तल कलेज तहसम्म यस्ता क्रियाकलापलाई पाठ्यान्तरण वा पठन बाधा भन्न मिल्दैन, यी शिक्षा सहयोगी हुन्। ती हुन्– वादविवाद, साहित्यिक गोष्ठी, सङ्गीत र गायन, नाटक लेखन, 

हास्यव्यङ्ग्यदेखि विविध कार्यक्रम र मञ्चन, अतिथि विशेषको विषयवस्तुमा सम्बोधन, अतिथि विशेषका अन्तर्वार्ता, पत्रिका प्रकाशन, क्विज प्रतियोगिता, भित्ते प्रकाशन आदि आदि। यस्ता क्रियाकलापले उत्तिकै प्रेरक भूमिका निर्वाह गरिरहेका हुन्छन्। यीमार्पmत विद्यार्थीको मानसिक, बौद्धिक र सामाजिक व्यक्तित्व निर्माण हुन्छ।

चेस, क्यारमबोर्ड, फुटबल, भलिबल र ब्याडमिन्टन प्रतिस्पर्धा जसका दर्शक र उत्प्रेरकमा समस्त कलेज सहभागी हुन्छ। यसमा पुरस्कार प्रथा छ र उत्सव छन्। पराजयमा सान्त्वना पुरस्कार छ। 

सङ्क्षेपमा विद्यार्थीले शिक्षासहित यीमध्ये एक न एकलाई रौस र सोख बनाउन सक्छन्, राजनीतिलाई मात्र होइन। 

किन त विद्यार्थी मात्र दोषभागी ? : 

यथार्थमा त्रिवि राजनीतिको दोष विद्यार्थीमा मात्र जाँदैन। बरु यसरी पनि हेरौँ, राजनीतिमा पराइका सन्तान होमिएका छन् र बलिका बोका भएका छन्, कारण नेताका सन्तान त उच्च शिक्षामा विदेश भासिएका छन्। तथापि के पनि बुझौँ भने राजनीति मात्र राष्ट्र होइन, आत्मसमीक्षा गरौँ।

हाम्रो उच्च शिक्षा पद्धति र पाठ्यक्रममा परिस्थिति र कालअनुसार हामीले के परिवर्तन ल्याउन सक्यौँ त ? बीसौँ वर्षमा एक पटक यसको संशोधन हुन्छ तर परीक्षा प्रणाली उही सिमसिमे राजाका पालाको छ। उच्च शिक्षामा विद्यार्थी आपैmँ जान्नेसुन्ने छन् भन्ने ठानेर शासक प्रशासक वर्ग कुर्सी तानातानमा मात्र अलमलिएका देखिन्छन्। न अध्ययन सामग्रीको विकास छ, न सहयोगी वा अतिरिक्त कार्यक्रम देखिन्छन्, न योजना वा यिनका छनोट छन्। न त सेडाजस्ता अनुसन्धान परिषद् वा पाठ्यक्रम विकासले खँदिलो केही दिन सकेको छ। अनि खोइ साहित्यिक, सांस्कृतिक कार्यक्रम र खोइ विद्यार्थी यता पनि लाग्न पाएका ? यस्ता कार्यक्रम के आधुनिक शिक्षामा पर्दैनन् र ? माथि उल्लेख गरेजस्ता नाटक लेखन, नाटक मञ्चन, कविता वा साहित्य गोष्ठी जन्माउनै पर्दैन, मात्र किन पाखा लाएका रहेछौँ भन्ने मनमा गुुुन्ने समय चाहिन्छ । विज्ञान र प्रविधि, कानुन, व्यवस्थापनतर्पmसमेत उस्तै उपयोगी कार्यक्रम ल्याउन सकिन्छ। उसैगरी सेमिनार, शैक्षिक भ्रमण नियमित चलाउन सकिन्छ। विद्यार्थीको मन कमलो हुुन्छ, यिनका मनमा राजनीतिप्रति वितृष्णा जगाउन पनि नखोजौँ। बरु राजनीतिमा यिनलाई उन्मुक्ति दिऔँ तर उनैलाई राम्ररी पहिले बुझ्न दिऔँ, राजनीति मात्र समग्र विधा होइन, यस अतिरिक्त पनि विधा छन्। ती विधामा कलेजले क्रियाशील रहनुपर्छ मन फुकाएर। केही विद्यार्थीमा राजनीतितिर आकर्षण छ भने केहीलाई माथि भनेजस्ता अर्को कुनै न कुनैमा चाख रहेको हुन्छ। यस्ता कार्यक्रमको परीक्षामा आन्तरिक मूल्याङ्कन गराउने, परीक्षाफलमा यो एक अनिवार्य अंश बनाउने र अतिरिक्त मान दिने, एक सय पूर्णाङ्कमध्ये परीक्षाफलमा विशेष अङ्कभार दिने, राष्ट्रिय विकास सेवाका ढाँचामा लैजाने एवं रीतले अभिप्रेरित गर्ने। 

यस्ता नियोजित कार्यक्रमले हडताल वा तालाबन्दीका कमै अवसर आउलान्, न शिक्षाको बर्खे पात्रो भाँडिएला, न गुणस्तर खस्केला, न ब्रेन ड्रेन (मस्तिष्क पलायन) होला। हो, यसनिम्ति अर्को गहकिलो विषय छ समयमा परीक्षाफल प्रकाशन। बरु परीक्षा कार्यक्रम र परीक्षाफलको समयसारिणी तोकियोस्। त्रिभुवन विश्वविद्यालय बामे सर्ने कालमा पटना विश्वविद्यालयले यसको पनि परीक्षाफल प्रकाशित गथ्र्यो र परीक्षा सकिएको एक महिनामा आफ्नो विश्वविद्यालयको परीक्षाफल आर्यावर्त दैनिक समाचारपत्रमा दिइसक्थ्यो। 

पदाधिकारी चयन र नियुक्ति : 

उच्च शिक्षा निकाय हाँक्न पदाधिकारी चाहिन्छन् जसरी कक्षाकोठामा विद्यार्थी। पदाधिकारीका टाउका औँलामा गन्न सकिन्छ भने विद्यार्थी त्यसरी न औँलामा गन्न सकिन्छन्, न मुट्ठीमा अटाउन। युवा मस्तिष्कलाई पाठ्यपुस्तक र कक्षा सञ्चालनले मात्र अँचेटेर राख्न सकिन्न। यसैमा गहकिलो सन्दर्भ छ विश्वविद्यालयमा उपकुलपति र यिनका सहकर्मीको नियुक्ति परिपाटी। खल्तीबाट उपकुलपतिमा दलीय भागबन्डे वा ब्रान्डेड बुद्धिजीवी झिक्ने चटक बन्द गर्नुपर्छ। अबको देशमा अराजनीतिक, प्राज्ञिक र कुशल प्रशासकको खाँचो छैन। यस्ताको चयन र नियुक्ति भए विद्यार्थीले राजनीतिमा लाग्ने र बाटो बिराउने सम्भावना न्यून हुन्छ। तात्पर्य, राजनीतिको चौहद्दी स्वतः तोकिँदै वा खुम्चिँदै जान्छ। 

अहिलेको यक्ष प्रश्नमा शिक्षाको राँकोबिना राष्ट्रनिर्माण वा देश विकास सम्भव छैन। यस्तो नहोस् भन्नका लागि विश्वविद्यालय केन्द्रीय तहबाट मात्र होइन, स्नातक तह कलेजदेखि नै पाइला चाल्नु तर्कसङ्गत देखिन्छ। तथापि भन्न खोजेका वा दिन चाहेका उपाय हामीसँग पनि नभएको होइन तर मन मारेर बसेकासम्म हौँ। युवापुस्ता नभए राष्ट्र र राजनीति अघि बढ्न सक्दैन। विद्यार्थी पढिसक्छ, प्राध्यापकसरह बुद्धिजीवी हुन्छ। प्राध्यापक र विद्यार्थीमाझ दूरी वा खाडल दुई÷चार वर्षको हो भन्ने बुझ्न सक्नुपर्छ। विद्यार्थी समाज वा राष्ट्रमा उत्तिकै सम्मानयोग्य नागरिक हो।