एक लाख ४७ हजार १८१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको सानो राष्ट्र हो नेपाल। मानिसले आफ्नो अस्तित्व रक्षा गर्न सुरुवाती अवस्थादेखि नै विभिन्न सङ्घर्ष गरे। कहिले जङ्गली फलफूल र कन्दमूल मात्र खाए त कहिले वन्यजन्तुको सिकार गरेर काँचोकचिलो मासुले पेट भरे; जुन बेला आगोको आविष्कार भएको थिएन। समाज विस्तारको क्रमसँगै उपयुक्त हावापानी र वातावरणमा खाद्य बाली उत्पादन हुन थाल्यो। मानव सभ्यताको यो प्रक्रियाबारे इतिहास हाम्रासामु प्रस्टै छ।
नेपाल भौगोलिक हिसाबले हिमाल, पहाड र तराईमा विभक्त छ। विश्वको सर्वोच्च शिखर सगरमाथा, अन्य कैयौँ अग्ला हिमशृङ्खला र तिनीहरूबाट बगेका सयौँ नदीनालाले जलविद्युत् उत्पादनको अपार सम्भाव्यता देखाउनुका साथै लाखौँ हेक्टर जमिन सिञ्चित बनाइरहेका छन्।
नेपालमा करिब ६५ प्रतिशत जनतालाई कृषि क्षेत्रले रोजगारको अवसर प्रदान गरेको छ। जनताको मेहनत र परिश्रमले देशको कुल गार्हस्थ्य उत्पादनमा समेत करिब २७ प्रतिशत यो क्षेत्रले ओगटेको छ। तैपनि रोजगारको अपार सम्भावना अनि कुल गार्हस्थ्य उत्पादनमा योगदान पु¥याउने कृषि क्षेत्र, राज्यको प्राथमिक चासोमा नपर्नु÷पर्न नसक्नु दुःखद हो।
नयाँ पुस्ताले आफ्ना बुवाआमाको पेसालाई गर्वले हेर्ने गर्छन्। सार्वजनिक स्थलमा डाक्टर, इन्जिनियर, वकिल, लेखक, पत्रकार, शिक्षक, कर्मचारी, व्यापारी आदिको सन्तान हुँ भनेर गौरव गरिरहेको भीडमा म किसानको सन्तान हुँ भन्ने आवाज निस्कँदैन। हिचकिचावटतुल्य बोलीले यस देशका किसानको के मूल्य होला ? अनि हाम्रो परम्परा यस्तोसम्म छ कि यहाँ नयाँ पुस्तालाई सिकाउने संस्कार राम्रो खान लाउन नसक्ने, निरीह र गरिब अनि आर्थिक रूपले कमजोर मानिसको रूप किसान हो भनेर चित्रण गरिन्छ।
एउटा किसानभित्रको प्रकृति प्रेम, मेहनत, धैर्य र लगनशीलताको परख यो समाजले किन गर्न सकेन ? कृषिप्रधान देशले किसानलाई फेरि पनि गिज्याएझैँ लाग्छ। हरेक साल जब खेतीपाती गर्ने समय सुरु हुन्छ, मल अभावको समस्या दोहोरिन्छ। यही विषयमा अखबारका पाना कति भरिन्छन् ? सम्बन्धित मन्त्रालयमा कति ज्ञापनपत्र बुझाइए ? कति नेता गुहारिए तर वास्तविक किसानका दुःखमा साथ दिने नेतृत्व देखिएन आजसम्म। कृषिको प्रमुख चुनौती बजारीकरण हो। अनेक समस्याका अतिरिक्त हाम्रा खेतबारीमा उत्पादन भएका तरकारी तथा फलफूल बजार नपाएर बारीमै कुहिन्छन् भने आयातित तरकारी तथा फलफूलले बजार भरिन्छन्। गाउँगाउँमा कृषि उपज सङ्कलन केन्द्र खोलेर किसानका फसल खरिद गरिदिए देशका कुनाकाप्चामा रहेर कृषि उत्पादन गर्ने किसान कति लाभान्वित हुन्थे ? जब कि देशको कमै बस्ती मात्रै त्यस्तो छ, जहाँ कृषिको कुनै सम्भावना छैन। मुस्ताङ र जुम्लामा फलेका स्याउको स्वाद अन्यत्र कहाँ पाइएला ?
देशभर २६ लाखभन्दा बढी हेक्टर जमिन खेतीयोग्य नै छ। कुनै एउटा समय थियो, भारत तथा बङ्गलादेशलाई धान चामल निर्यात गर्ने हाम्रो मुलुकले यतिबेला अर्बौंको चामल आयात गर्दछ। योभन्दा दुःखद कुरा के होला ? तथापि यतिबेला हाम्रा गाउँबस्तीमा पुगेर हेर्दा धानको उत्पादन घटेका ठाउँमा कालो सुनका नाउँमा प्रख्यात अलैँची लगाउने होड चलेको छ। त्यस्तै इलामको चिया भनेपछि अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाउन सक्षम अन्य जिल्लामा पनि बगान हुर्काउने क्रम जारी छ।
जमिनको प्रकृतिअनुसार किसान अहिले पनि व्यावसायिक कृषिमा लागिरहेका छन्। टनेलमा गोलभँेडा लगाएर होस् कि बारीका काल्लामा अम्लिसो जगाएर। बारीका पाटामा अकबरे खुर्सानी मात्र फलाउने हो भने पनि त्यसबाट प्राप्त वार्षिक आम्दानीले ठूलो भरथेग गर्छ। नेपाली युवा खाडी जानुको साटो यहीँ काम गरेर बस्न सक्छन्। हुन त देखासिकी गर्ने हाम्रो चलन, कतिलाई त्यस्तै बाध्यता पनि होला। कतिपय व्यक्तिमा स्वदेशमै केही गरौँ भन्ने भावनाको विकास नै हुँदैन। अर्को प्रमुख कुरा पढेलेखेकाले कृषिकर्म गर्नु हुँदैन भन्ने गलत मान्यताकै कारण नेपाली युवा जागिर ताक्ने प्रवृत्तिको सिकार छन्।
पाँगो माटोको मलिलो भूगोल आज ठूल्ठूला संरचनामा परिणत हुँदै गयो। देशको जनसङ्ख्या वृद्धि भविष्यलाई हेरेर उही समयमा कृषि क्षेत्र र बसोवास क्षेत्र वर्गीकरण गरेको भए कति राम्रो हुन्थ्यो ? त्यो पनि भएन रे, आर्थिक र प्राविधिक रूपमा महँगो भए पनि तराईसँगै हिमाल र पहाडमा पनि विकास तीव्र बनाउनु पथ्र्यो। हाम्रा गाउँबस्ती रित्तिनाका कारण यहाँ एउटा उदाहरण पेस गर्न उपयुक्त लाग्यो। आफ्नो थातथलो भनेर के गर्नु, थेगिनसक्नु पानीको अभाव विडम्बना हैन
त ? आजका मितिसम्म पनि राज्यले आन्तरिक बसाइँसराइका कारणलाई उचित सम्बोधन गर्न सकेको छैन। यसबारेमा अध्ययन अनुसन्धान गरेर समाधान दिनुप¥यो राज्यले।
विगतको तुलनामा कृषियोग्य जमिन धेरै कम भइरहेको छ। धान फल्ने जमिन कङ्क्रिटले भरिएका छन्। अब धान फल्ने जमिन प्लटिङमा रोक लगाउनुपर्छ। थोरै जमिनबाट धेरै आम्दानी या प्रतिफल लिने खालको कृषि नीति अवलम्बन गर्नुपर्छ। यसका लागि नयाँ प्रविधि के हुन सक्छ ? बीउबिजन जोहो गर्नेदेखि तराई र पहाडमा कसरी खेती गर्ने ? वार्षिक रूपमा एक बाली, दुई बाली या तीन बाली कति फलाउन सकिन्छ। अनि हिमाली क्षेत्रमा भएका जडीबुटीको अपार सम्भावनालाई कसरी उपभोग गर्ने ? अथवा निर्यात बढाउन सके विदेशी मुद्रा आर्जन गर्ने सुअवसर पनि गुम्ने थिएन।
विश्वमा कुनै पनि देशले आफूलाई चाहिने सम्पूर्ण वस्तु आफैँ उत्पादन गर्न सक्दैन। हो, यो कुरा ध्रुव सत्यजत्तिकै छ। लेखकको आसय पनि नेपाली जनताले उपभोग गर्ने सम्पूर्ण खाद्यान्नमा आत्मनिर्भर बन्नैपर्छ भन्न खोजेको होइन। यद्यपि तुलनात्मक र प्रतिस्पर्धात्मक लाभको सिद्धान्तमा आधारित भएर कृषि क्षेत्रमा केन्द्रित हुनु जरुरी छ।
सरकारले दिने कृषि अनुदानको उपलब्धि वास्तविक किसानले नपाउनु फजुलजत्तिकै भइरहेको हाम्रो परिप्रेक्ष्यमा, अब ढिलो नगरी विद्यालयस्तरको पढाइमा किसान भनेको कामदार वा झुत्रेझाम्रे प्रवृत्तिका मान्छे हुन् भन्ने भ्रम चिर्नुपर्छ। वर्र्षौं किसान भएर कुन माटोमा कुन बाली सुहाउँछ ? कसो गरेमा कृषि उत्पादन बढाउन सकिन्छ भन्ने कुराको अनुभव बोकेका किसान दाजुभाइलाई पहिचान गरेर सम्मान गर्न सकेका छैनौँ। जसले कृषि गर्न चाहिने औजार हलो, जुवा, कुटो, कोदालो र दाँदे बनाए। त्यस्तै परम्परागत ढिकीजाँतो बनाएका किसान इन्जिनियरलाई पनि हामीले सम्मान गरेनौँ।
कृषिप्रधान देश नेपालका लाखौँ युवा बर्सेनि गर्न विदेश गइरहेका छन्। यी युवालाई प्रत्येक जिल्लामा कृषि क्याम्पस खोलेर आफ्नै खेतबारीमा ‘इन्टर्नसिप’ गराउन र कृषि क्षेत्रमै रोजगार दिन अब ढिलाइ गर्नु हुन्न। पर्याप्त सीप र अनुभव भएका किसान दाजुभाइको सम्मान गर्दै कृषिलाई देश निर्माणको प्रमुख आधार बनाउनुपर्छ। कृषिबाट मात्रै समृद्धिको यात्रामा पुग्न सकिन्छ भन्ने मान्यताको विकास नभएसम्म यो पेसाको मर्यादा राख्न सकिन्न।