• १३ साउन २०८१, आइतबार

बैतडीमा डेङ्गु र स्क्रब टाइफसका सङ्क्रमित बढे

blog

डेङ्गुको लार्भा खोजेर नष्ट गर्ने अभियानमा स्वास्थ्यकर्मी लगायत सुरक्षाकर्मीहरु । तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल 

बैतडी, भदौ २७ गते । बैतडीमा डेङ्गु र स्क्रब टाइफसका सङ्क्रमित बढ्न थालेका छन् । यहाँ १३ जनामा डेङ्गु र ४१ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएपछि स्वास्थ्य कार्यालय बैतडीले डेङ्गुको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । 

बैतडी सदरमुकाममा डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टेको लार्भा भेटिएकाले सदरमुकाम क्षेत्रका पानी जम्ने ठाउँ पहिचान गरेर सरसफाइ अभियान थालिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । 

उहाँले भन्नुभयो, “बैतडीमा डेङ्गुको सङ्क्रम बढेको छ । एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु रोग सर्छ ।” डेङ्गुको संक्रमणबाट बच्न घर वरिपरि पानी जम्मा हुन नदिनेतर्फ सबै सचेत हुनुपर्ने उहाँले बताउनुभयो । कुहिने फोहरलगायत लामखुट्टे बस्ने ठाउँको सरसफाइ गरेर राति सुत्ने बेलामा अनिवार्य झुलको प्रयोग गर्न आव्हान गरिएको उहाँले बताउनुभयो । 

डेङ्गुको सङ्क्रमण भएमा अचानक उच्च ज्वरो आउने, आँखाको वरिपरि तथा कन्चटमा धेरै दुख्ने, शरीर दुख्ने, घाँटी बस्ने, साना बिमिरा आउने, शरीर चिलाउनेलगायतका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जँचाउन उहाँले आग्रह गर्नुभयो । 

बैतडीमा डेङ्गुसँगै स्क्रबटाइफसका सङ्क्रमित बढेकाले सचेतनामुलक कार्यक्रम गरिएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य अधिकृत भुवन जोशीले जानकारी दिनुभयो ।    उहाँले भन्नुभयो, “झाडी र घाँस भएका ठाउँमा माइट नामक किर्ना र भुसुना बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा बस्नु हुँदैन ।” माइट नामक किर्ना र भुसुनाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो । 

स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीरमा राता डाबरहरु आउने लगायतका लक्षण देखा परेमा स्वास्थ्य संस्थामा सम्पर्क राख्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । 

स्क्रब टाइफसको सङ्क्रमण भए पनि टाइफाइडजस्तै ज्वरोको लक्षण देखिने भएकाले समयमै परीक्षण गराउनु पर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले      बताउनुभयो । स्वास्थ्य परीक्षणपछि मात्रै रोगको पहिचान हुने भएकाले ज्वरो आएमा वा जिउ दुखेमा स्वास्थ्य परीक्षणपछि मात्रै औषधि सेवन गर्न उहाँले सुझाव दिनुभयो ।डा. श्रेष्ठले भन्नुभयो, “ज्वरो आएर जिउ दुखेमा जहाँ पायो त्यहीबाट आफूखुसी औषधि सेवन गनुहुँदैन । प्रसस्त पानी पिउने र आराम गर्नुपर्छ ।”