• १३ साउन २०८१, आइतबार

बबईको पानी ल्याउन लिफ्टिङ

blog

गोकर्ण पौडेल 

तुलसीपुर, भदौ २७ गते । जुम्ल्याहा उपमहानगरपालिका घोराही र तुलसीपुरको खानेपानी समस्या समाधान गर्न बबई नदीको पानी लिफ्टिङ गरेर ल्याउने प्रक्रिया सुरु गरिएको छ। यी दुई उपमहानगरपालिकामा महाभारत पहाडबाट मुहानको पानीको धारा वितरण गरिँदै आइएको छ। 

सहरमा जनसङ्ख्या वृद्धि भएसँगै उपत्यकाको तल्लो तटीय क्षेत्र भएर बग्ने बबई नदीको पानीलाई उपयोगमा ल्याउन थालिएको हो। करिब ५० वर्षअघि तुलसीपुर बजार क्षेत्रमा साबिकको हलवार गाविस मूलकोटबाट खानेपानीको जोहो गरिएको थियो। 

त्यो समयमा मूलकोट मूहानको पानी तुलसीपुर बजारमा पर्याप्त थियो। मूलकोट मुहानसँगै तुलसीपुर क्षेत्रमा डिप बोरिङको पानीले आजसम्म पुग्यो। खोलाको सतह गहिरिँदै गएपछि डिपबाट समेत पानी आउन छाडेपछि अहिले तुलसीपुर क्षेत्रमा विकल्प खोज्न सुरु गरिएको छ। 

अन्यत्र नदीको पानी पिउनका लागि सम्भाव्यता अध्ययन गरिँदै गर्दा दाङ उपत्यकामा भने बबईको पानी ल्याउनका लागि प्रक्रिया सुरु गरिएको छ। तुलसीपुरका १९ वटा वडामध्ये नौवटा वडामा खानेपानी पु¥याउनका लागि टेन्डर स्वीकृत भएको छ।

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव सेवकराम भण्डारीले  तीन वर्षभित्र काम सम्पन्न गर्ने गरेर टेन्डर स्वीकृत भएको जानकारी दिनुभयो । कुल ५६ करोडको लागतमा सम्पन्न हुने बबई लिफ्टिङ आयोजनाबाट थप दस हजार धारा वितरण गर्न सकिने छ।

मेघासिटीका रूपमा विकास भइरहेका घोराही र तुलसीपुर क्षेत्रको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि बबईको पानी करिब दस किलोमिटर नदीबाट उत्तरतर्फ लिफ्टिङ गरेर आयोजना सम्पन्न गर्न थालिएको छ। 

अहिले नौवटा वडामा आठ हजार धारा वितरण गरिएको छ भने दुई हजार धारा वितरणको तयारी गरिएको छ। त्यस्तै घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले ५० करोडको लागतमा बबईको नदी लिफ्टिङ प्रविधिबाट पानी ल्याउन थालिएको छ। 

संस्थाका अध्यक्ष देवीबहादुर डीसीले आठ हजार धाराबाट ७५ हजार जनसङ्ख्या लाभान्वित भएको जानकारी दिनुभयो। प्रविधिबाट पानी ल्याए थप १२ हजार धारा वितरण गरेर एक लाख २५ हजार जनसङ्ख्यालाई ४० वर्षसम्म पानी पुग्ने उहाँले बताउनुभयो।