• १६ भदौ २०८१, आइतबार

सामुदायिकमा पहिला खोज्नु पर्दथ्यो, अहिले रोक्नुपर्छ

blog

शैक्षिक गुणस्तर सुधारका लागि अभिभावकबाट सुझाव लिन विद्यालयले आयोजना गरेको बृहत् अभिभावक भेलामा उपस्थित अभिभावक । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य  

म्याग्दी (बेनी), भदौ २७ गते । सामुदायिक विद्यालयमा आफ्ना नानीबाबुहरू पढाउन धेरै अभिभावकले रुचि राख्दैनन् । प्रायःजसो अभिभावकको रोजाइ निजी विद्यालय नै पर्दछ तर यहाँको एक सामुदायिक विद्यालयमा अभिभावकहरू बालबच्चालाई भर्ना गर्न हुरुक्कै हुन्छन् । बेनी बजारमा अवस्थित बेनी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीमैत्री शैक्षिक वातावरण, पठनपाठन र सिकाइ तरिकाले विद्यार्थी आकर्षित भएका छन् ।  

एक दशकअघि विद्यार्थी खोज्दै घरदैलो गर्नुपर्ने बेनी सामुदायिक विद्यालयलाई अहिले थेगिनसक्नु विद्यार्थी छन् । विद्यालयले विगत दस वर्षदेखि निरन्तर प्राप्त गरेको शैक्षिक उपलब्धिले विद्यार्थीहरू बेनी सामुदायिकमा भर्ना हुन हुरुक्कै हुने गरेका हुन् । विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकको जागरुकता तथा सामूहिक प्रयत्नले सामुदायिक विद्यालयको शैक्षिक स्तर अब्बल साबित हुने रहेछ भन्ने गतिलो उदाहरण बेनी सामुदायिकले प्रस्तुत गरेको छ । 

विद्यालयले शैक्षिक गुणस्तर र व्यवस्थापनमा देशभर नै फरक पहिचान बनाउन सफल भएपछि शैक्षिक भ्रमणको केन्द्रका रूपमा पनि विद्यालय बनेको छ । पछिल्ला केही वर्षयता देशभरका एक सय ३१ विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकले विद्यालयको भ्रमण गरिसकेका छन् । 

विद्यालयप्रति विद्यार्थीको आकर्षण बढेसँगै विद्यालयले अहिले भर्ना नै रोक्नुपर्ने बाध्यता छ । पछिल्ला एक दशकयता विद्यालयको उत्कृष्ट शैक्षिक गुणस्तर भएसँगै विद्यार्थीको चाप बढ्न थालेको विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठले बताउनुभयो । विद्यार्थीको चाप बढेपछि हामीले प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गर्ने गरेको उहाँले बताउनुभयो । “भौतिक संरचनाको अभावका कारण चाहेजति विद्यार्थी भर्ना गर्न सकेका छैनौँ । स्थानीय तह तथा वडाको सिफारिसमा गरिब तथा विपन्न अभिभावकका छोराछोरीलाई भर्ना लिने गरेका छौँ,” प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो । 

यस विद्यालयमा म्याग्दीका ग्रामीण भेग र पर्वतको जलजला गाउँपालिकाका विद्यार्थी पढ्न आउने गर्दछन् । बजारमा रहेका निजी विद्यालयका विद्यार्थी हाम्रो विद्यालयमा भर्ना हुन आउँछन्, प्रअ श्रेष्ठले भन्नुभयो, “प्रत्येक वर्ष आउने नयाँ विद्यार्थीमा ८० प्रतिशत निजी विद्यालयका छन् । 

विद्यालयले २०७० सालको एसएलसी परीक्षामा राम्रो नतिजा प्राप्त गरेपछि नेपालमै सर्वोत्कृष्ट विद्यालयको पुरस्कार पाएको थियो । त्यसपछि पनि निरन्तर रूपमा विद्यालयको नतिजा उत्कृष्ट हुने गरेको छ । विद्यार्थीको सिकाइ उपलब्धिलाई सुधार गर्न वर्षमा तीन पटक अभिभावक, विद्यार्थी र शिक्षकको सामूहिक भेला हुन्छ । भेलामा विद्यार्थीको नतिजा विश्लेषण, आनीबानी र पढ्ने बानीका बारेमा छलफल हुने गर्दछ । भेलाले विद्यालयको अनुगमन गरी सुझाव दिन अनुगमन समिति चयन गर्दछ । कमजोर विद्यार्थीको नतिजामा सुधार ल्याउन अभिभावकले पारिवारिक शैक्षिक वातावरण तयार पर्ने र विद्यालयले अतिरिक्त पठनपाठनको व्यवस्था मिलाउने गरेको प्रअ श्रेष्ठले बताउनुभयो ।   

यही भदौ २३ गते सार्वजनिक गरेको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशका चार हजार ८६७  विद्यालयको कार्यसम्पादन परीक्षणको नतिजामा विद्यालयले ८७.८९ अङ्क प्राप्त गरी देशभरमा १२औँ स्थानमा परेको विद्यालयले जनाएको छ । विद्यालयमा विद्यार्थी मैत्री वातावरण, गुणस्तरीय शिक्षालगायतका कारण विद्यार्थीको आकर्षण बढेको विद्यालयका सहायक प्रधानाध्यापक काशिराम रेग्मीले बताउनुभयो । विद्यालयमा सुविधासम्पन्न कम्प्युटर ल्याब र विज्ञान ल्याबको व्यवस्था गरिएको उहाँले बताउनुभयो । कक्षा चारदेखि नै विद्यार्थीलाई कम्प्युटर शिक्षा प्रदान गरिने, बालकक्षादेखि ६ कक्षासम्म अङ्ग्रेजी माध्यम र ६ देखिमाथि अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठनको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । 

बर्सेनि धेरै विद्यार्थीले भर्नाका लागि आवेदन दिए पनि हामीसँग सीमित भौतिक पूर्वाधार र जनशक्ति भएका कारण भर्नाका लागि आवेदन दिएका सबै विद्यार्थीलाई भर्ना गर्न सक्दैनौँ, विद्यालयका सहायक प्रधानाध्यापक रेग्मीले भन्नुभयो । सबै विद्यार्थीलाई भर्ना गर्ने हामीसँग पूर्वाधार र जनशक्ति छैन । त्यसैले परीक्षा लिएर सीमित सङ्ख्यामा मात्र भर्ना लिने गरेका छौँ  । कक्षाकोठाको अभावका कारण यस वर्ष पनि आवेदन दिएका धेरै विद्यार्थीलाई फिर्ता गर्नुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो । 

बालकक्षादेखि कक्षा १२ सम्म पढाइ हुने विद्यालयमा अहिले एक हजार एक सय ६५ जना छात्रछात्रा अध्ययनरत छन् । विद्यार्थीको चाप बढेपछि कक्षा ६ देखि १२ कक्षासम्म दुई÷तीनवटा समूह विभाजन गरेर पठनपाठनको व्यवस्था मिलाइएको सहायक प्रधानाध्यापक रेग्मीले बताउनुभयो । अन्य विद्यालयबाट कक्षा ७ उत्तीर्ण गरेपछि यहाँ भर्ना हुन धेरै विद्यार्थी आउने गरेका छन् । विद्यालयको भौतिक पूर्वाधार र जनशक्ति अभावका कारण आएका सबै विद्यार्थीलाई भर्ना गर्ने अवस्था नरहेको विद्यालयले जनाएको छ ।