• १३ साउन २०८१, आइतबार

बचेरा हुर्काउँदै दुर्लभ चरा भुँडीफोर गरुड (फोटो फिचर)

blog

बचेरा हुर्काउँदै विश्व दुर्लभ भुँडीफोर गरुड । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, भाद्र २६ गते । महाराजगन्ज नगरपालिका –५ उदयपुर गाउँको आकाशमा ठूला चरा आकाशको परिक्रमा गरिरहेका छन् । विश्वमा दुर्लभ रहेको भुँडीफोर गरुड आलोपालो गर्दै परिक्रमा गर्छन् । गाउँको दुर्गा भवानी आधारभूत विद्यालयको छेउमा रहेको अग्लो कर्माको रुखमा ७ वटा भुँडिफोर चराले गुँड लगाएका छन् । गुँडमा हुर्किदैगरेका बचेराको रक्षा गर्न भालेपोथी आलोपालो कुर्ने गर्छन् । 

कपिलवस्तुका धेरै ठाउँमा यतिबेला भुँडीफोर गरुडले आफ्ना बचेरा हुर्काउन थालेका छन् । उदयपुरका अलावा कपिलवस्तु नगरपालिकाको जगदिशपुर बर्ड स्याङ्चुरी आसपास क्षेत्रमा समेत भुँडीफोरले बचेरा हुर्काउन लागेका छन् । बचेरालाई आक्रमणबाट बचाउन भालेपोथी आलोपालो मिलेर गुँडको रक्षा गर्नेगरेका छन् । दुईमध्ये एउटा गुँडको सुरक्षामा खटिने र अर्को बचेराको लागि चारो खोज्न जानेगरेका छन् ।

भुँडीफोर गरुड तराईमा पाइने चरा हो । समुन्द्री सतहबाट ७५ देखि २५० मिटर उचाइसम्म यी चरा बस्ने गर्छन् । सिमल, कर्माजस्ता अग्ला रुखमा गुँड लगाउने गर्छन् । सामान्य बाढीयुक्त खेत, धानबाली, तलाउ आसपासका क्षेत्रमा चराको बसोबास हुनेगर्छ । चराले सर्प, माछा, भ्यागुता तथा पानी कीरालाई मुख्य आहारा बनाउँछन् ।  

जलवायु परिवर्तन र सिमसारको घट्दो सङ्ख्याले गर्दा यी प्रजातीका चरा विस्तारै सङ्कटमा पर्दैगएका छन् । यी चरा उभिँदा ११० देखि १२० सेन्टिमिटरसम्म अग्लो देखिने गरेको पन्छी संरक्षण सङ्घका अधिकृत भूपाल नेपालीले बताउनुभयो ।