• १९ पुस २०८१, शुक्रबार

प्रशिक्षक अलमुताइरीको राजीनामा दिने घोषणा

blog

फाइल तस्बिर ।

काठमाडौं, भदौ २६ गते । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षक पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । अलमुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गर्नुभएको हो ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ,‘‘नेपाल आएको पाँच सय २५ दिनपछि टिमको जिम्मेवारी छोड्ने निर्णय गरेको छु । यस अवधिमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गर्न चाहन्छु । खुसी, माया, दुःख र पीडाविनाको यस यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद । एक टिम जय नेपाल ।’’

उहाँ कतार फुटबल सङ्घको सहयोगमा नेपालको प्रशिक्षक बन्नुभएको हो । अलमुताइरीले यसअघि पनि सामाजिक सञ्चालनमा टिम छाडेको घोषणा गर्ने गर्नुहुन्थ्यो । पछिल्लो समय आफ्नै देश कुवेतमा बस्दै आउनुभएका  अलमुताइरीको राजीनामाको विषयमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कुनै जानकारी दिएको छैन ।

एन्फाले अलमुताइरीलाई सन् २०२४ सम्म नेपाली फुटबल टोलीको प्रशिक्षकमा अनुबन्ध गरेको थियो । तर पटक पटक विवादमा पर्दै आउनुभएका प्रशिक्षक अलमुताइरी एन्फाको नयाँ नेतृत्वसँग रुष्ट हुनुहुन्थ्यो । सोही कारण अहिलको एन्फाले प्रदीप हुमागाईँलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेर राष्ट्रिय टोलीको जिम्मेवारी सुम्पिएको छ ।