• १३ साउन २०८१, आइतबार

प्रशासनिक पाटोमा बहस भएन : मुख्यमन्त्री भट्ट

blog

नेपाल जेसीजको एरिया ‘घ’ सम्मेलनलाई सम्बोधन गर्नुहुँदै सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट। तस्बिर : एकिन्द्र तिमिल्सेना

टीकापुर (कैलाली), भदौ २४ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालमा राजनीतिक परिवर्तनसँगै गरिएका अपेक्षा पुरानै प्रशासनिक संरचनाका कारण सम्भव नभएको बताउनुभएको छ।

नेपाल जेसिजको एरिया ‘घ’ सम्मेलनलाई शुक्रबार टीकापुरमा सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले जनप्रतिनिधिका योजना राम्रा तर धरातलीय यथार्थताभन्दा फरक भएका र प्रशासनिक  रूपान्तरण नभएकाले आफूले चाहेका काम पनि गर्न नसकेको महसुस भएको बताउनुभएको हो। 

‘‘नीतिहरू कार्यान्वयन गर्ने र प्रशासनिक कमजोरीका विषयमा बहस नै भएन,’’ मुख्यमन्त्री भट्टले भन्नुभएको छ, ‘‘इमानदारीपूर्वक शासन चलाउने कुराको पनि कमी भयो होला, भने जस्तै गर्न नसक्दा जनस्तरमा आलोचना र वितृष्णा बढ्दै गएको छ।’’

मुख्यमन्त्री कार्यकालको पाँच वर्ष पूरा गर्न थाल्नुभएका भट्टले लोकसेवा पास गरेर मात्रै प्रशासक बन्न नसक्ने भन्दै यसलाई आरोपका रूपमा बुझ्न नहुने र युवाले दबाब दिनुपर्ने बताउनुभयो।

अर्को प्रसङ्गमा मुख्यमन्त्री भट्टले सङ्घीयता र सरकारका कामको परिणाम पाँच वर्षमै नआउने र सङ्घीयताको विषयमा अहिल्यै समीक्षा गर्ने समय नभएको बताउँदै सङ्घीयता सहरमा भन्दा गाउँमा भेटिने बताउनुभयो। उहाँले पहिले लाख बजेट नपाउने दुर्गम गाउँमा अहिले करोडौंको बजेट खर्च भइरहेको र केही वर्षमा परिणाम देखिने बताउनुभयो।

कार्यक्रममा विशिष्ट अतिथि आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले प्रदेश सरकारबाट जनताले धेरै आशा राखेको तर यसअघि सरकारबाट भएका अलोकप्रिय कामको सुधार गर्दै जाने बताउनुभयो। उहाँले युवा जिम्मेवारीमा आउनुपर्ने र देशमा सुशासन कायम गर्नुपर्ने बताउनुभयो। टीकापुरबाटै प्रदेश सभा सदस्य निर्वाचित रावलले टीकापुरलाई विविध सांस्कृतिक समूहको साझा स्थल र शैक्षिक नगरीका रूपमा टीकापुर विकास भइरहेको पनि बताउनुभयो। 

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले टीकापुर केही वर्षअघिको घटनाका कारण आक्रान्त सहरको रूपमा नभई अहिले शान्तिपूर्ण वासस्थल हो भन्ने सन्देश प्रवाह गरिदिन सम्मेलनमा सहभागी जेसिज युवाहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रममा नेपाल जेसिजका गैँडाकोटदेखि पश्चिम महाकालीसम्मका ३३ जिल्लाका ५५ वटा जेसिज, लेडिज जेसिज र जुनियर जेसिजहरु सहभागी छन्। सम्मेलन दुई दिनसम्म चल्नेछ। आयोजकले सम्मेलनबाट तत्कालीन राजा महेन्द्रलाई मुटुको समस्या हुँदा एक महिनासम्म बसेर स्वास्थ्यलाभ गर्नुभएको टीकापुर पार्क, केरामा आधारित कृषि पर्यटन, केराका परिकार, दुर्लभ जलचर डल्फिन, पुरातात्त्विक महत्त्वको पद्मप्रकाशेश्वर महादेव मन्दिर र यस वरपरका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुने अपेक्षा गरेका छन्।