• २८ वैशाख २०८१, शुक्रबार

महारानी एलिजाबेथ विश्‍वले सम्मान गर्ने योग्य राजनेता : राष्ट्रपति भण्डारी

blog

बेलायती महारानी एलिजाबेथ द्वितीय । तस्बिर : बीबीसी

काठमाडौं, भदौ २४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा शोक व्यक्त गर्दै बेलायती जनता र बेलायतका महाराज चार्ल्स तृतीयलाई समवेदना सन्देश पठाउनुभएको छ । उहाँले महारानी एलिजाबेथ विश्‍वले सम्मान गर्ने योग्य राजनेता भएको बताउनुभएको छ ।


काठमाडौंस्थित बेलायती राजदूतावासमा राखिएको शोकपुस्तिकामा हस्ताक्षर गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी  तस्बिर : राष्ट्रपति कार्यालय

काठमाडौंस्थित बेलायती राजदूतावासमा राखिएको शोकपुस्तिकामा हस्ताक्षर गर्दै राष्ट्रपति भण्डारीले लेख्नुभएको छ, ‘‘बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनबाट मलाई अत्यन्तै दुःख लागेको छ । नेपाली जनता, नेपाल सरकार तथा म स्वयंको तर्फबाट दिवंगत महारानीप्रति हार्दिक श्रध्दाञ्जली अर्पण गर्दै महाराज चार्ल्स तृतीय, शाही परिवार, बेलायत सरकार र मैत्रीपूर्ण बेलायती जनताप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’’


शोकको यस दुःखद घडीमा नेपाली जनता तथा नेपाल सरकारको सहानुभूति र साथ तपाईंहरूसँग रहेको पनि राष्ट्रपतिको शोक सन्देशमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले महारानीको निधनबाट बेलायतले आफ्नो समर्पित अभिभावक र नेपालले एक पुरानो मित्र तथा शुभचिन्तक गुमाएको उल्लेख गर्नुभएको छ ।

सन्दशेमा राष्ट्रपतिले भन्नुभएको छ, ‘‘महारानी एलिजाबेथ विश्‍वले सम्मान गर्ने योग्य राजनेता हुनुहुन्थ्यो । उहाँले सन् १९६० र १९८६ मा गर्नुभएको नेपाल भ्रमणको सम्झना नेपाली जनताले सदैव गरिरहनेछन् ।’’

तस्बिर : राष्ट्रपति कार्यालय