नेपाली राजनीतिका अब्बल व्यक्तित्व बीपी कोइरालाको जन्मजयन्तीका कार्यक्रम यस पटक पनि औपचारिक रूपमै सीमित भएका छन्। बीपीका बहुआयामिक व्यक्तित्वका विषयमा चर्चा/परिचर्चा भए पनि उहाँकै अनुयायीले समेत बीपीलाई आँतैदेखि सम्झिन सकिरहेका छैनन्। भाषणमा बीपीका आदर्श गुणका चर्चा हुन्छन् तर व्यवहारमा केही पनि लागू हुँदैन। उहाँका अनुयायी बीपीको समाजवादी नीतिको चर्को स्वरमा चर्चा गर्छन् तर व्यवहार र चरित्रमा त्यस्तो पाइँदैन।
भदौ २४ गते अर्थात् आज बीपीको १०९औँ जन्मजयन्ती हो। बीपीको सिङ्गो जीवन राजनीतिक, आर्थिक, साहित्यिक, सामाजिक सांस्कृतिक र दार्शनिक पक्षसँग गाँसिएको छ। यी सबै क्षेत्रमा बीपीका सोच, विचार र दृष्टिकोण अब्बल छन् भनिएकै पनि छ तर यति बेला बीपीले बोकेको सोच र चिन्तनअनुरूप मुलुक चलेको छैन। अर्को राजनीतिक विचार र दृष्टिकोणले बीपीको नीतिलाई प्रतिस्थापन गर्न पनि सकेको छैन। बीपीको समग्र जीवन निरङ्कुश राणातन्त्र र तीसवर्षे पञ्चायतले गरेको ज्यादतीविरुद्ध सङ्घर्ष गरेर बितेको जगजाहेर छ। २०१५ सालको आम निर्वाचनपछि दुईतिहाइ मतका साथ प्रधानमन्त्री बन्नुभएका बीपीले २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रको ‘कु’पछि पटक–पटक जेलनेल खेप्नुभयो। बीपीलाई पञ्चायतले राजनीतिक आग्रहबाट हे¥यो, बुझ्यो र त्यहीअनुरूप दुःखकष्ट र यातना दियो। २०४६ को परिवर्तनपछि पनि बीपी नीति र विचारलाई रूपमा मात्रै हेर्ने काम भयो सारमा बीपीलाई बुझ्ने बुझाउने काम हुन सकेन। उहाँका नीति र सिद्धान्तबमोजिम देशको गति अगाडि बढ्न सकेन। यथार्थमा अहिले पनि बीपीलाई सम्झने मात्र काम भएको छ अनुसरण गर्ने काम भएको छैन।
बीपीको जन्मजयन्ती मनाइरहँदा उब्जिने प्रश्न यही हो, के वर्षदिनमा एक पटक सम्झेर वा गुणगान गाएर मात्र उहाँप्रतिको सम्मान ठहर्छ ? बीपीका राजनीतिक अनुयायीले उहाँको राजनीतिक आदर्शलाई कुन रूपमा अनुशरण वा पालना गरिरहेका छन्। वर्तमान सन्दर्भमा बीपीका राजनीतिक, आर्थिक र सामाजिक सोच र चिन्तनलाई कुन रूपमा कसरी परिभाषित गरिएका छन् ? यसको चिन्तन आजको राजनीतिले गरेको छ कि छैन ? यति बेला बीपी विचारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले उहाँको राजनीतिक आदर्शलाई कुन रूपमा व्याख्या गरेको छ र त्यसको पालना कसरी भइरहेको छ भन्ने विषयको विश्लेषण हुन जरुरी छ।
बीपीमा सबै नेपालीलाई आफू जस्तै मध्यमवर्गीय परिवार बनाउने सोच र चिन्तन थियो। सबै नेपालीका घरमा एउटा दुहुनो गाई होस्, सबैका छोराछोरीले पढ्न लेख्न पाउने अवस्था बनोस्, बिरामी पर्दा सामान्य औषधिमूलो गर्न सक्ने अवस्था होस् भन्ने सोच र चिन्तन बोक्नुभएका बीपीले १८ महिना देशको प्रधानमन्त्रीको पदमा रहँदा देशलाई समृद्धको बाटोमा अगाडि बढाउने धेरै योजना र खाका तय गर्नुभयो। उहाँले राष्ट्रिय योजना आयोगको बैठकमा योजनाविद्लाई देशको योजना बनाउँदा आयोगको भित्तामा एउटा हलो जोतिरहेको किसानको तस्बिर राख्न निर्देशन दिनुभएको थियो।
गरिब किसान र गाउँको विकासलाई केन्द्रमा राखेर मात्र देशलाई समृद्धिको दिशामा अगाडि बढाउन सकिन्छ भन्ने बीपीको परिकल्पना अहिले पनि सान्दर्भिक र यथार्थमा आधारित छ। बीपीले अघि सार्नुभएका यी र यस्ता विषयमा नेतृत्व कति गम्भीर छ ? यो विषयलाई बीपीका अनुयायीले कति र कसरी बुझेका छन् भन्ने विषय पनि बहसमा आउनुपर्छ।
बीपी आफ्नो राजनीतिक जीवनमा एक सिद्धान्तनिष्ठ र सच्चा राष्ट्रवादी नेताका रूपमा सतिसाल बनेर उभिइरहनुभयो। यसविपरीत जीवनभर कसैसँग कुनै किसिमको सम्झौता पनि गर्नुभएन। उहाँका यिनै आदर्श र निष्ठाले राणाशासन र पञ्चायती निरङ्कुशताको अन्त्य गरायो। यही विचार र दृष्टिकोण मुलुकलाई प्रजातान्त्रिक समाजवादको मार्गमा अघि बढाउने र समाज रूपान्तरण गर्ने नयाँ मार्गचित्र थियो। बीपी देश र दुनियाँ बुझेको सच्चा राष्ट्रवादी नेता हुनुहुन्थ्यो भन्ने कुरा उहाँले राष्ट्रियताको पक्षमा लिएका निर्णयलाई हेरे, बुझे पुग्छ। आफूमाथि लागेका सात–सातवटा फाँसीका मुद्दाको कुनै परवाह नगरी राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ सालमा प्रवास जीवन त्यागेर स्वदेश फर्किनु र देशभित्रै बसेर नागरिक हक अधिकारका लागि आफूलाई सङ्घर्षमा उतार्नु उहाँको देशप्रतिको समर्पित भावना थियो। उहाँको त्यही सङ्घर्षको जगले २०३७ सालमा जनमतसङ्ग्रह गरायो भने यही सङ्घर्षको निरन्तरताले २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन र २०६२/६३ को जनआन्दोलन सफल भयो।
संविधान सभाबाट संविधान लेखिनुपर्छ भन्ने ७० वर्षदेखिको जनअपेक्षा पूरा गराउने काम पनि बीपीले नेतृत्व गरेको राजनीतिक दल कांग्रेसकै नेतृत्वमा सम्भव भएको हो। बीपीका यी र यस्तै सङ्घर्ष र अठोटले मुलुकलाई नयाँ युगमा प्रवेश गरायो। आफूलाई सदैव देश र जनताको स्वार्थमा समर्पित तुल्याउनुभएकै कारण बीपी ‘बीपी’ बन्नुभएको हो।
वर्तमानमा धेरै ठूला परिवर्तन भएका छन् तर आम नागरिकको अपेक्षाअनुरूप काम भएका छन् कि छैनन् ? यसकाप्रति राजनीतिक नेतृत्व कति चिन्तनशील छ ? यसबारे गम्भीर बहस हुनु जरुरी छ। ऐतिहासिक संविधान सभाबाट निर्माण भएको नेपालको संविधान २०७२ जारी भएपछि स्थानीय तहमा दोस्रो कार्यकालका लागि गत वैशाख ३० गतको निर्वाचनबाट नयाँ प्रतिनिधिको निर्वाचन भइसकेको छ भने प्रदेश र सङ्घीय संसद्का लागि आगामी मङ्सिर ४ गते निर्वाचन हुँदै छ। यी तीनै तहबाट पाँचवर्षे कार्यकालमा भए, गरेका कामको समीक्षा स्वयं राजनीतिक दलहरूले गर्नुपर्ने होइन र ? दलहरूकै समीक्षालाई आधार मानेर आम मतदाताले निर्वाचनमा प्रतिनिधि चयन गर्नुपर्छ। लामो समय शासन सत्तामा बस्दैमा ठूलाठूला परिवर्तन गर्न सकिन्छ र यसबाट मुलुकको अपेक्षा पूरा हुन्छ भन्ने कुरालाई बीपीले गलत सावित गराइदिनुभएको छ । उहाँले एउटा राजनेतामा हुनुपर्ने विशेष गुण र क्षमताकै कारण आफ्नो १८ महिने प्रधानमन्त्रीत्वकालमा देशलाई समृद्ध तुल्याउने खाका तय गरेर देखाइदिनुभयो। तत्कालीन राजा महेन्द्रका दबाबका बीच पनि उहाँले जनताका पक्षमा थुप्रै निर्णय गर्नुभयो।
एउटा राजनीतिक कालखण्डमा क्रूर यातना खेप्नुपरे पनि बीपी विचार र दृष्टिकोणबाट सर्वकालीन व्यक्तित्वका रूपमा उभिन सफल भइरहनुभयो। यसै कारण हिजो बीपीलाई राजनीतिक रूपमा प्रमुख दुस्मन ठान्ने वा बीपीलाई फाँसी दिनुपर्छ भन्ने राजनीतिक विचार बोकेकाहरूमा आज बुझ्ने सोच र विचारमा परिवर्तन देखिनु बीपीको राजनीतिक सोच र चिन्तन यथार्थमा आधारित थियो र छ भन्ने पुनर्पुष्टि होइन र ? बीपी एक खुला किताब अर्थात् दर्शन, जसले जसरी पनि बुझ्न र पढ्न सक्छ। एउटा सामान्य मानिसले पनि आफ्नो तहबाट बीपीलाई जाने÷बुझेको होला। उसले त्यसैको आधारमा बीपीप्रति सम्मान र आदर प्रकट गरिरहेको हुन सक्छ। त्यसभन्दा उपल्लो तहमा रहेर बीपीको राजनीतिक, साहित्यिक र दार्शनिक चेतलाई व्याख्या–विश्लेषण भइरहेको होला। यसरी नै बीपी जीवनको रहस्य खुल्दै र प्रस्ट हुँदै आइरहेको छ। साहित्यको माध्यमबाट पनि बीपीले राष्ट्र प्रेम र मानवीय सेवाको भावना प्रस्तुत गर्नुभएको छ।
बीपीको साहित्यिक, राजनीतिक र दार्शनिक पक्षले नेपाली समाजलाई आधुनिक युगमा प्रवेश गराउन ठूलो ऊर्जा र प्रेरणा प्रदान गरेको छ। राजनीतिक र साहित्यिक दुवै विधामा समानान्तर रूपमा अगाडि देखिनुभएका बीपीले समाजमा हुने राजनीतिक तथा अन्य गतिविधि र प्रवृत्तिलाई साहित्यमार्फत प्रकट गर्नुभएको छ । उहाँले आफ्ना साहित्यिक कृतिमा मानवीय स्वतन्त्रता र अस्तित्वको खोजी गराउने कृतिका पात्रमार्फत गराउनुभएको छ।
पञ्चायतकालमा बीपीका कृति जलाउनेहरू बीपीको व्यक्तित्वबाट तर्सिनेहरू नै थिए। अन्ततः यसैको परिणाम जनताबाट निर्वाचित पहिलो सरकारका प्रधानमन्त्री बीपी कोइरालाले लामो समय जेलको कष्टसमेत बेहोर्नुप-यो। तत्कालीन राजा महेन्द्रले मुलुकको स्वतन्त्रता खोसेर जनताको लोकप्रिय नेतालाई जेलको कोठरीमा राखे पनि साहित्यमार्फत बीपीले प्रतिवाद गरिरहनुभयो। उहाँको यही प्रतिबद्धता र अठोटले निरङ्कुशतालाई घुँडा पनि टेकायो। यी अठोट र सङ्घर्षका बीच उहाँले मानिस ठूलो होइन असल बन्नुपर्छ भन्ने सन्देश दिनुभएको छ। आज ठूलो बन्ने होडमा रहेको राजनीतिक समाजले यसको हेक्का राख्ने अवस्था निर्माण भयो भने मात्र बीपीलाई न्याय गरेको ठहर्नेछ।