• ११ असोज २०८१, शुक्रबार

मप्राविवि र गोरखापत्रबीच सम्झौता

blog

बरगाछी समाचारदाता

विराटनगर, भदौ २४ गते । गोरखापत्र संस्थान र देशकै पहिलो प्राविधिक विश्वविद्यालयको रूपमा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयबीच आपसमा सहकार्य गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। 

विश्वविद्यालयका समग्र गतिविधिका बारेमा सूचना, सन्देशलगायत प्रचार–प्रसार र प्रवर्द्धनात्मक सामग्री गोरखापत्र दैनिक तथा संस्थानका अन्य प्रकाशनमार्फत सार्वजनिक गर्ने गराउने विषयमा बिहीबार मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विश्वविद्यालयको कार्यालयमा सम्झौतापत्रमा दुई पक्षीय हस्ताक्षर सम्पन्न भएको हो। 

सम्झौतापत्रमा संस्थानका सबै प्रकाशनमार्फत विश्वविद्यालयका शैक्षिक गतिविधिका साथै विश्वविद्यालयले सञ्चालन गरेका शैक्षिक उत्थान र विकासका कार्य समाजमा उजागर गर्ने उल्लेख छ। सो अवसरमा प्राविधिक विषयको कक्षा सञ्चालन गर्दै आएको विश्वविद्यालय र संस्थानबीच पारस्परिक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

विश्वविद्यालयका रजिस्ट्रार डा. दिलानाथ फूएलले देशकै जेठो तथा गौरव बोकेको गोरखापत्रसँग विश्वविद्यालयको उन्नतिका लागि सहकार्य गर्न पाउनु आफैँमा गौरवको विषय भएको बताउनुभयो। “केन्द्र बाहिर रहेरसमेत उच्च शैक्षिक गतिविधि सञ्चालन गरिरहेको विश्वविद्यालयका गतिविधि उजागर गर्नु आफैँमा सकारात्मक हो,” उहाँले भन्नुभयो, “यो पवित्र कार्यमा गोरखापत्रसँगको सहकार्यले समग्र विश्वविद्यालय गौरव अनुभव गर्दछ।’’ 

विश्वविद्यालय र संस्थानका कर्मचारीहरूको उपस्थितिमा भएको कार्यक्रममा विश्वविद्यालयका तर्फबाट रजिस्ट्रार डा. फूएल र संस्थानको पूर्वक्षेत्र प्रकाशन कार्यालयका प्रमुख राजकुमार गुरुङले हस्ताक्षर गर्नुभएको हो।