• १३ साउन २०८१, आइतबार

मालवाहक गाडी दैनिक दुई सय मात्रै

बेलहिया नाकाबाट आयात घट्यो

blog

भैरहवा भन्सार कार्यालय। तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, भदौ २३ गते । दैनिक पाँच सय मालवाहक गाडी जाँच पास हुँदै आएको भैरहवा भन्सार कार्यालयमा अहिले दुई सयको हाराहारीमा मात्रै आयात भइरहेको छ। आयात घट्दा यसको असर राजश्व सङ्कलनमा परेको छ। 

चालु आर्थिक वर्ष २०७९/८० को साउन महिनामा अघिल्लो वर्षको तुलनामा करिब ४० प्रतिशत आयात घटेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत तीर्थराज पासवानले जानकारी दिनुभयो। 

चालु आर्थिक वर्षको साउनमा पाँच अर्ब ३८ करोड ४६ लाख ८८ हजार मूल्य बराबरको मालवस्तु आयात भएको छ। गत वर्षको साउन महिनामा आठ अर्ब ८३ करोडको मालवस्तु आयात भएको थियो। 

यो आर्थिक वर्षको साउन महिनामा एक अर्ब २६ करोड ८६ लाख आठ हजार मूल्य बराबरको मोटरसाइकल आयात भएको छ। गत वर्ष मोटरसाइकल आयात दुई अर्ब ४० करोडको थियो। 

त्यस्तै साउनमा ५६ करोड ५८ लाख मूल्य बराबरको पेट्रोल आयात भएको छ। गत वर्ष पेट्रोलको आयात भने ४६ करोड ४८ लाखको मात्रै थियो। त्यस्तै साउनमा ४३ करोड ४१ लाख ८० हजार मूल्य बराबरको ग्लोज टायल आयात भएको छ। एमएस बिलेड भने एक अर्ब १० करोड ११ लाख पाँच हजार मूल्य बराबरको आयात भएको सूचना अधिकृत पासवानले जानकारी दिनुभयो। 

त्यस्तै २१ करोड २९ लाख ९२ हजार मूल्य बराबरको सुपारी आयात भएको छ। पिकअप तथा डेलिभरी भ्यान १० करोड ८० लाख ९३ हजार बराबरको आयात भएको छ। मार्बल स्ल्याव २८ करोड ८० लाख ८७ हजार मूल्य बराबरको आयात भएको छ भने एलपी ग्यास ८२ करोड चार लाख ५९ हजार मूल्य बराबरको आयात भएको छ। त्यस्तै प्लाष्टिकका सिट, फिल्म, फ्वाईल, दाना पत्ता आदि २४ करोड ५३ लाख ७५ हजारको आयात भएको छ। त्यस्तै इलेक्ट्रिक कार, जीप र भ्यान ३४ करोड नौ लाख ८७ हजार मूल्य बराबरको आयात भएको छ।

मुख्यत १० वस्तुको आयातले हाल राजश्व सङ्कलनमा केही योगदान गरेको छ। १५० सिसी सम्मको मोटरसाइकल मात्रै आयात खुला रहेकोले कार्यालयले मोटरसाइकलबाट एक अर्ब ४२ करोड ३५ लाख, पेट्रोलबाट २९ करोड ६ लाख, ग्लेज टायलबाट २८ करोड २४ लाख, एम एस विलेट बाट २५ करोड ४२ लाख, सुपारीबाट २४ करोड, पीकअप भ्यानबाट १६ करोड २५ लाख, मार्बल स्ल्याबबाट १५ करोड ८५ लाख, एलपी ग्यासबाट १५ करोड ३० लाख, प्लाष्टिक सिट फिल्मबाट १० करोड २५ लाख र विद्युतीय गाडीबाट १० करोड २० लाख राजश्व सङ्कलन भएको छ।

भैरहवा भन्सार कार्यालयले आठ महिनायता राजश्व सङ्कलनको लक्ष्य भेटाउन सकेको छैन। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा पनि लक्ष्य पार गर्न सकेन। मुलुककै दोस्रो ठुलो र लुम्बिनी प्रदेशको पहिलो भन्सार नाकाको रूपमा रहेको कार्यालयले ७० दशमलव ९८ प्रतिशत मात्रै राजश्व सङ्कलन गरेको छ। यो लक्ष्यभन्दा २९ प्रतिशतले कम हो।

भन्सार कार्यालयलाई भन्सार विभागले साउन महिनाका लागि नौ अर्ब १४ लाख दुई हजार लक्ष्य दिएकोमा ६ अर्ब ३८ करोड ९३ लाख ४४ हजार राजश्व सङ्कलन गरेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी पासवानले बताउनुभयो।