• ११ असोज २०८१, शुक्रबार

उम्मेदवार सिफारिसमा दलका पदाधिकारी र पूर्वमन्त्री

blog

दमक समाचारदाता

दमक, भदौ २३ गते । पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा राजनीतिक दलले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार चयन प्रक्रियालाई तीव्रता दिएका छन्। झापामा उम्मेदवार सिफारिस हुने राजनीतिक दलका पदाधिकारी तथा पूर्वमन्त्रीको सङ्ख्या उल्लेख्य रहेको पाइएको छ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले झापाको क्षेत्र नम्बर १ बाट पार्टी उपमहासचिव एवं पूर्वमन्त्री राम कार्कीलाई प्रतिनिधि सभा उम्मेदवारको रूपमा सिफारिस गरेको छ। उहाँ हाल पनि यस क्षेत्रको प्रतिनिधि सभा सदस्य हुनुहुन्छ। यस क्षेत्रबाट यसभन्दा अघि नेपाली कांग्रेसले पार्टीका महामन्त्री विश्वप्रकाश शर्मालाई सर्वसम्मत सिफारिस गरेको थियो। 

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका संविधान सभा सदस्य रवीन कोइरालाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ। प्रमुख तीन राजनीतिक दल एमाले, कांग्रेस र माओवादी केन्द्रले यस क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मत रूपमा नाम सिफारिस गरेका छन्। झापाको क्षेत्र नम्बर २ मा पनि पार्टीका प्रभावशाली नेता तथा पूर्वमन्त्रीहरू प्रतिनिधि सभामा सिफारिस भएका छन्। नेकपा (एमाले)बाट मन्त्रीसमेत भइसकेका पूर्वमहान्याधिवक्ता अग्नि खरेल, एमालेको प्रदेश १ ईन्चार्ज देवराज घिमिरे, अहिले पनि प्रतिनिधि सभा सदस्य रहनु भएकी अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा खरेलसहितको नाम प्रतिनिधि सभा सदस्यमा सिफारिस भएको छ। नेपाली कांग्रेसले पनि यहाँ प्रभावशाली नेताहरूको नाम सिफारिस गरेको छ। पूर्वमन्त्री एवं कांग्रेस नेत्री सरीता प्रसाईं, पूर्वमन्त्री केशवकुमार बुढाथोकी, संविधान सभा सदस्य सुधीरकुमार सिवाकोटीलगायतको नाम कांग्रेसले सिफारिस गरेको हो। क्षेत्रीय कमिटीबाट आएको नाम जस्ताको त्यस्तै प्रदेश कमिटीमा पठाइएको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले जानकारी दिनुभयो। क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वउपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाको एकल नाम उक्त पाटीको क्षेत्रिय समितिले सिफारिस गरेको छ। यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नाम सिफारिस गरेको छ। लिङ्देनले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनुभएको छ। यस क्षेत्रमा नेकपा (एमाले)ले पार्टीका केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईसहितको नाम प्रतिनिधि सभा सदस्यमा सिफारिस गरेको छ।

झापाको क्षेत्र नम्बर ५ बाट नेकपा (एमाले)ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वसम्मत सिफारिस गरेको छ। नेपाली कांग्रेसले पहिलो संविधान सभा निर्वाचनमा ओलीलाई हराउने विश्वदीप लिङ्देन, समानुपातिक तर्फबाट हाल प्रतिनिधि सभा सदस्य रहनुभएकी महेन्द्रकुमारी सुब्बा, अघिल्लो निर्वाचनमा ओलीसँग प्रतिस्पर्धी रहनुभएका खगेन्द्र पाण्डव अधिकारीसहितको नाम सिफारिस गरेको छ।

झापाको क्षेत्र नम्बर ४ बाट नेकपा (एमाले)ले हाल प्रतिनिधि सभा सदस्यसमेत रहेका नेपाल उद्योग तथा व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष एलपी साँवा, १ नम्बर प्रदेशका पूर्वमन्त्री हीराकुमार थापा, शिवसताक्षी नगरपालिकाका पूर्वप्रमुख चन्द्रकुमार शर्मासहितको नाम सिफारिस गरेको छ। यस क्षेत्रमा नेपाली कांग्रेसले सर्वसम्मत रूपमा जिल्ला पार्टी अध्यक्ष देउकुमार थेवेको एकल नाम सिफारिस गरेको छ। नेपाली कांग्रेस र नेकपा (एमाले)ले जिल्लाका सबै निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका उम्मेदवारको नाम सिफारिस गरेर माथिल्लो तहमा पठाएको छ भने माओवादी केन्द्र र राप्रपा नेपालले भने उम्मेदवारको नाम सिफारिस गर्ने काम सकेको छैन। आफूहरू छलफल र प्रक्रियामा रहेको माओवादी केन्द्रका नेता गगन पुरीले बताउनुभयो।