• १३ साउन २०८१, आइतबार

सेवा प्रवाहको सुनिश्चितता

blog

वि.सं २०६१ बाट हामीले भदौ २२ गते निजामती सेवा दिवस मनाउँदै आएका छौँ। केही कर्मचारी पुरस्कृत हुनेदेखि एउटा सुन्दर नाराको तय यस दिवसमा हुने गरेको छ। समग्र निजामती कर्मचारी यस दिवसको नारालाई आकर्षक बनाउन लागिपर्दछन्। यथार्थमा निजामती सेवा दिवसका दिन राष्ट्रसेवक कर्मचारीले गर्ने प्रतिबद्धताका लागि यी सबै नारा अत्यन्त उपयुक्त देखिएका छन्। राज्य र जनताबीचमा हुने सामाजिक सम्झौताको कार्यान्वयनकर्ताका रूपमा कर्मचारी रहने हुँदा यसले ठूलो जिम्मेवारी प्राप्त गरेको हुन्छ। यी जिम्मेवारी गुणस्तरीय प्रकारले सम्पादन भएकोमा गौरवान्वित हुने अवसर निजामती सेवा दिवस हो। त्यसैले यस दिवसमा वर्षभरि सम्पादन गरिएका उदाहरणीय कार्यहरूको स्मरण गरिन्छ। त्यस्ता उल्लेखनीय कार्यसम्पादकर्ताहरूलाई सम्मान गरी आगामी वर्षका लागि अधिक कुशलतापूर्वक कर्म क्षेत्रमा प्रवेश गरी नतिजामा पुग्ने तरिकाहरूको खोजी यसै दिवसमा गरिन्छ। नेतृत्व तहमा र कार्यान्वयन तहमा रहनेहरू सबैले सामूहिक सङ्कल्प गर्दै सेवा प्रवाहमा इमानदारिता साथ अग्रसर हुनका लागि प्रेरणा प्राप्त गर्ने दिन हो तर यसको उपयोगिता र सान्दर्भिकताको बारेमा चिन्तन गर्दा हरेक वर्षमा हामीले निजामती सेवा दिवसमार्फत गरेका प्रतिबद्धता के कति पूरा गर्न सफल भएको अवस्था छ ? त्यसैमा केन्द्रित भएर निजामती सेवा दिवसको उपादेयताको खोजी हुनु पर्दछ।

यो दिवस सार्वभौम जनतालाई सम्मान गर्दै मैत्रीपूर्ण वातावरणमा सेवा प्रवाह गर्न सबै निजामती सेवा प्रदायकले आफूलाई समर्पित गर्दै कर्तव्यपरायण रहन शक्ति सञ्चय गर्ने दिन हो। निजामती कर्मचारी परिवर्तनका वाहक र राज्य प्रणालीको सबल एवं गतिशील संयन्त्र हो। मूल्य, मान्यता, सेवाभाव, आदर्श र व्यावसायिकताको परिधिभित्र रहेर राजनीतिज्ञ र नागरिकहरूका बीचको सम्पर्क सूत्रको भूमिकामा यो संयन्त्रले आफ्नो कर्तव्यको निर्वाह गर्नु पर्दछ। वर्तमान समयमा समेत देशभित्र रहेका प्रतिभावान् जनशक्ति प्रायः निजामती सेवामै आकर्षित भइराखेका छन्। देशको सबल र सक्षम जनशक्तिले लोकतन्त्रका लाभ सर्वसाधारण जनतासमक्ष समान र न्यायोचित रूपमा पु-याउन जनताका आवश्यकताको पहिचान गरी सो उपलब्ध गराउन प्राथमिकता प्रदान गर्न समर्पित हुनु पर्दछ। कानुनी प्रावधान, प्रक्रियागत पक्ष, स्थापित प्रणालीमा समयसापेक्ष सुधार गर्दै नागरिक शासनको अनुभूति दिलाई लोकतन्त्रको अनुभूति नागरिकहरूलाई व्यवहारमा गराउन महìवपूर्ण योगदान दिने संयन्त्र निजामती सेवा हो। अनुभवी, दक्ष, योग्य, सीपयुक्त, कर्तव्यपरायण, निपुण कर्मचारीले नै नागरिक र सरकारका बीचको सौहार्द सम्बन्धको विकास गर्न सक्छन्। राजनीतिक, सामाजिक, आर्थिक, रूपान्तरणका लागि स्थायी सरकारको भूमिकामा रहेका निजामती कर्मचारीको उपयुक्त परिचालन जरुरी हुन्छ। यो संयन्त्रले राजनीतिक नेतृत्वलाई जनस्तरमा स्थापित गराउन ठूलो सहयोग गरिराखेको हुन्छ। यी सबै महत्वपूर्ण भूमिकामा रहेका कर्मचारीले सेवाप्रति समर्पित हुन थप ऊर्जा प्रदान गर्ने दिनका रूपमा निजामती सेवा दिवसलाई लिने गरिएको छ। यस अर्थमा यस दिवसको उपादेयता र सान्दर्भिकता छ। 

विभिन्न देशका अभ्यास 

सेवा प्रवाह प्रभावकारी बनाउने, आफ्ना संयन्त्रलाई प्रभावकारी र निपुण बनाउने उद्देश्यले विभिन्न देशमा केही उदाहरणीय कार्यक्रम र नीति कार्यान्वयनमा ल्याइएका छन्। खुला बजारलाई प्रश्रय दिई सरकारको भूमिकामा कटौती गर्दै ब्रिटिस नागरिकको जीवनस्तरमा सुधार ल्याउन सरकारलाई निजी क्षेत्रसंग प्रतिस्पर्धा र साझेदारी गर्ने गराउने नीतिका रूपमा पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचरले कार्यान्वयनमा ल्याउनु भएको थ्याचरिज्म, संयुक्त राज्य अमेरिकामा सुरु भएको रेगनोमिक्स, दक्षिण अफ्रिकाको वाथो पेले, मलेसियाको स्माइलिङ मोवमेंट, घानाको अपरेटिङ एजेन्सी, अस्ट्रेलियाको कर्पोरेटाइजेसन आदि उल्लेखनीय छन्। यी कार्यक्रमहरू राजनीतिक तहबाटै क्रियाशीलता दिई जनतालाई सेवा प्रवाह राम्ररी गराउने अभिप्रायले कार्यान्वयनमा आई जनस्तरमा राम्रो प्रभाव पार्न शासक सफल भएका छन्। यस प्रकारका कार्यक्रमबाट सेवा प्रवाहको प्रभावकारिताका साथै शासकीय संयन्त्रको क्षमता विकास गर्न सफलता मिलेको अवस्था छ। तसर्थ, शासनको जिम्मेवारी लिएर बसेकाहरूले आफ्ना संयन्त्रलाई चुस्त दुरुस्त राखी उनीहरूलाई उच्च मनोबलका साथ जनताको सेवामा समर्पित हुने अवस्था सिर्जना गर्न विशेष गम्भीर हुनुपर्ने स्थिति छ। यसमा हाम्रा सरकारमा रहनेबाट शीघ्र पहलकदमी हुनु पर्दछ। अन्यथा स्थायी संयन्त्रले प्रभावकारिताका साथ कार्य गर्न नसक्दा सरकार लाचार बन्दछ। जनतासमक्ष सरकारको सकारात्मक प्रभाव पर्न सक्दैन। यस दिवसको उपादेयतामा प्रश्न चिह्न खडा हुने अवस्था बन्दछ। विश्वभर यस दिवसलाई मनाउने र स्मरण गर्ने तरिका विविध प्रकारका देखिएका छन्। सन् २००२ मा संयुक्त राष्ट्रसङ्घले प्रत्येक वर्ष सार्वजनिक सेवा दिवस मनाउने गरी साधारण सभाबाट निर्णय लिई कार्यान्वयन भइराखेको छ। क्यानाडामा प्रति वर्ष जुन १४ देखि २० सम्म राष्ट्रिय सार्वजनिक सेवा सप्ताह मनाउँदै त्यहाँको सङ्घीय प्रशासनमार्फत प्रदान गरिने सेवाको सम्मान गरिन्छ र भावी दिनमा लागि प्रभावकारी सेवा प्रवाहको योजना तयार पारिन्छ। युरोपियन युनियनमार्फत निजामती सेवा दिवस हरेक वर्ष यसका सदस्य राष्ट्रले मनाउने गर्दछन्। भारतमा सन् २००६ देखि अप्रिल २१ का दिन यो दिवस मनाउँदै जिल्ला स्तरमा उत्कृष्ट काम गर्नेहरूलाई सम्मान गर्दै प्रधानमन्त्री पुरस्कार प्रदान गरिन्छ। सार्वजनिक सेवाको विकास निर्माणमा देखिएको उपादेयता, कर्मचारी संयन्त्रबाट सम्पादित असल कार्यको स्मरण र सम्मान गर्दै मेधावी युवालाई सार्वजनिक सेवा प्रदायकका रूपमा सेवा प्रवेश गरी वृत्तिविकासको शृङ्खलाको प्रारम्भ गर्न प्रोत्साहन प्रदान गर्ने उद्देश्यका साथ संयुक्त अधिराज्यमा जुन २३ का दिन यस दिवसलाई मनाउने गरिन्छ। तसर्थ, विश्वव्यापी रूपमा अध्ययन गर्दा यस दिवसको विभिन्न नामकरण गरिए पनि कर्मचारी संयन्त्रको उपादेयता र यसको प्रभावकारितामा विशेष महत्व दिई सार्वजनिक सेवा प्रवाहलाई केन्द्रबिन्दुमा राखिएको प्रस्ट छ। उल्लेखित पृष्ठभूमिमा जनताको सेवामा समर्पित भई जनताकै भलाइका लागि कर्मचारीहरूले आफ्नो योग्यता, क्षमता, अनुभव र सीपको सदुपयोग गर्ने, कर्तव्यपालनाका लागि समर्पित रहँदाका अवस्थामा देखिएका कठिनाइ र चुनौतीको सामना र समाधानका लागि प्रभावकारिताका साथ प्रस्तुत हुने, समग्र कर्मचारी संयन्त्रलाई प्रोत्साहन प्रदान गर्ने, एक वर्ष अवधिमा विभिन्न विभागबाट भएका कार्यसम्पादनको मूल्याङ्कन गर्नेजस्ता उद्देश्यबाट निर्देशित यो दिवसको महìव अत्यन्त ज्यादा देखिएको छ। नेपालको निजामती सेवा दिवस पनि यसैबाट अभिप्रेरित भई उत्सवकै रूपमा मनाउन थालिएको हो।

नेपालको निजामती सेवा 

नेपालको निजामती सेवाले नयाँ अवधारणालाई पूर्ण रूपमा आत्मसात् गर्न सकिराखेको छैन। निजामती सेवाभित्र अत्यधिक राजनीतीकरण हुँदै गएकाले सेवाग्राहीहरू सार्वजनिक निकायमा प्रवेश गर्दा राजनीतिक कार्यकर्ताको भूमिकामा रहेका कर्मचारीसँग जम्काभेट हुने अवस्था छ। सार्वजनिक सेवा प्रदायकहरूलाई नैतिकवान् र लोकतान्त्रिक चरित्रको बनाउने प्रयाससम्म पनि उल्लेखनीय रूपमा हुन सकेको छैन। ट्रेड युनियन अधिकार प्रदान गर्ने नाममा राजनीतीकरणको विकृत स्वरूप देखिएको छ। यस प्रकारको अस्वस्थ प्रतिस्पर्धा राजनीतिक दलहरूले गरिराखेका छन्।

नेपालको विशिष्ट परिस्थितिमा निजामती सेवा दिवस मनाउने तरिकाहरूमा पनि परिवर्तनको आवश्यकता देखिएको छ। यस दिवसले सम्बोधन गर्नुपर्ने अत्यधिक महìवको विषय भनेकै सार्वजनिक सेवा प्रवाह हो। निजामती कर्मचारीले सेवा प्रदायकका रूपमा आफ्ना कार्यसम्पादनको शैलीमा गरिनुपर्ने समयसापेक्ष परिवर्तन र सुधार, सङ्घीयताको कार्यान्वयनका क्रममा सरकारहरूको स्वशासन र साझा शासनलाई सुदृढ गर्ने, नीति निर्माण र व्यवस्थापनलाई प्रभावकारी बनाउने, विकास व्यवस्थापनलाई नतिजामा देखिने गरी गर्ने, कर्मचारीहरूको धूमिल प्रतिष्ठामा सुधार ल्याउने गरी जनतालाई सूचना सम्प्रेषण गर्न सक्ने सक्षमताका साथ यस दिवसलाई मनाउनु पर्दछ।

यस क्रममा निजामती सेवाले धेरै प्रकारका कठिनाइको सामाना गर्नु परिराखेको छ। ती समस्याहरूको व्यावहारिक समाधानका लागि मार्ग प्रशस्त गर्ने कार्य गरी उद्घोष गर्ने दिनका रूपमा यस दिनलाई स्मरण गर्दा यसको गरिमामा निखार आउने परिस्थिति बन्दछ। यी सबै विषयलाई निजामती सेवा दिवसले समेटन सक्नु पर्दछ। एक वर्षभित्र उदाहरणीय कार्यसम्पादन गर्नेलाई कार्यरत कर्मचारी र सेवाग्राही जनतासमेत विश्वस्त हुने प्रकारले सम्मानित गर्नु पर्दछ। संयुक्तराज्य अमेरिकामा प्रयोगमा आइराखेको सिजर र हम्मर अवार्डलार्ई यस सन्दर्भमा उल्लेख गर्नु सान्दर्भिक देखिन्छ।

कर्मचारीले आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेका उदाहरण छन्। लामो समयदेखि विभिन्न प्रकारका राजनीतिक प्रणालीमा आधारित निर्वाचनमा सफलतापूर्वक सम्पन्न गराउन सफल छन्। राजनीतिक सङ्क्रमणका समयमा सरकारको उपस्थिति देखाई प्रस्तुत हुने प्रभावकारी संयन्त्रको भूमिकामा निजामती कर्मचारीहरू नै अग्रपङ्क्तिमा रहेका छन्। प्राकृतिक प्रकोपको अवस्थामा कर्मचारीहरूले प्रदान गरेको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन। द्वन्द्वकालमा आफ्नो भौतिक अस्तित्वलाई जोखिममा राखी काम गर्ने समूह कर्मचारी नै हुन्। सबै प्रकारका राजनीतिक परिवर्तनपश्चात् सरकारलाई सहयोग प्रदान गर्न सफल र अब्बल श्रेणीमा कर्मचारी दर्ज भएका छन्। 

अब निजामती सेवा दिवसलाई मनाउनुपूर्व केही स्पष्ट कार्यक्रम र धारणासहित प्रस्तुत हुनु पर्दछ। दिवसका दिन प्रसारित नाराले स्पष्ट सन्देश दिई यसलाई सार्थकता दिने गरी वार्षिक कार्यतालिका तयार हुनु पर्दछ। अर्को वर्ष त्यसको प्रगति वस्तुगत आधारमा प्रस्तुत हुने खालको प्रतिबद्धता जरुरी छ। यही आधारमा हरेक विभागको पदाधिकारीको कार्यसम्पादनको मूल्याङ्कन हुनु जरुरी छ। यस सेवाको नेतृत्व वर्गले राजनीतिक नेतृत्वसँग पटक पटक संस्थागत एजेन्डामा केन्द्रित रहेर समग्र निजामती सेवामा सुधारका कार्यक्रम र सेवा प्रवाहलाई गुणस्तरीय बनाउने सन्दर्भमा वार्ताहरू अन्तक्र्रियाहरू गर्नु पर्दछ । सरकार र संसद्को ध्यान यसमा तान्ने गरी निजामती सेवाको संरक्षकका रूपमा रहेको लोकसेवा आयोगसँग सहकार्य र समन्वय गरी अघि बढ्नु पर्दछ। नेपालको ट्रेड युनियनलाई राजनीतिबाट पृथक् राखी सिर्जनात्मक र मर्यादित बनाउन सक्नु पर्दछ। समावेशीकरण र योग्यता प्रणालीको निरन्तरता र संरक्षण गर्दै सेवा प्रवाहलाई गुणस्तरीय बनाउने उपाय अवलम्बन गर्नु पर्दछ। आजको दिन राजनीतिक नेतृत्वको साथमा नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न प्रतिबद्ध भई यसका लागि थप ऊर्जा, जोश जाँगर प्राप्त गर्ने अवसरका रूपमा स्थायी सरकारले लिनु पर्दछ। देशमा व्याप्त भ्रष्टाचारलाई नियन्त्रण गर्न सबै प्रकारका प्रयास गर्दै सेवा प्रवाहका क्रममा देखिएका प्रक्रियागत, कानुनी, नीतिगत सबै प्रकारका जटिलतालाई सामना गर्ने गरी सबल र सक्षम निजामती प्रशासनले आफ्नो उपस्थिति दिन सक्नु पर्दछ। सबै विकृतिको सही समाधानमा राजनीतिक नेतृत्व र स्थायी संयन्त्र प्रतिबद्ध हुनु पर्दछ। कमजोर वर्गलाई राज्यका सबै प्रकारका अवसरको पूर्णउपभोग गर्न पाउने गरी नीति तय गर्नु जरुरी हुन्छ। यथास्थितिवादी सोचबाट संयन्त्र मुक्त हुनु अनिवार्य छ। कर्मचारी व्यवस्थापन, कानुनी शासनको कार्यान्वयन र कर्मचारीहरूको कार्य क्षमताको विकासमा प्रस्ट देखिने गरी अघि बढ्दा मात्र यस दिवसले सार्थकता पाउनेछ। यस महत्वपूर्ण घडीमा सबै सरकारी संयन्त्रमा रहेका राष्ट्रसेवकले संवैधानिक व्यवस्थाअनुसार सुशासन कायम गर्नेतर्फ प्रतिबद्ध भई सपथ लिने पवित्र दिनका रूपमा स्वीकार गर्नु जरुरी छ। 

लेखक नेपाल सरकारका पूर्वसचिव हुनुहुन्छ।