राज्यका सम्पूर्ण सेवाको जननीका रूपमा सुपरिचित निजामती सेवा नेपाल राज्यभर सञ्जाल फैलिएको नागरिकको आशा, भरोसा र विश्वासको बृहत सेवा प्रदायक संयन्त्र हो। स्वतन्त्र एवं निष्पक्ष संवैधानिक अङ्ग लोकसेवा आयोगका चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक परीक्षाहरू पार गरेर आएका ऊर्जाशील जनशक्तिहरूको जमातले निजामती सेवाको कार्यसम्पादन गुणस्तर अभिवृद्धि मात्र गरेको छैन नागरिकहरूको विश्वास आर्जन गर्नसमेत सफल भएको छ। विगतमा यसलाई सरकारको सिन्दूरको महिमाले विभूषित गरिँदै आएकोमा अहिले जनताको सेवाको महिमाले विभूषित गरिएको छ। विश्वमा सन् १८५४ मा बेलायतबाट र नेपालमा वि.सं. २०१३ बाट औपचारिक रूपमा सुरुवात भएको यो सेवा सरकार र नागरिकबीचको सम्बन्ध सेतुको रूपमा स्थापित हुनुका साथै भरपर्दो र मर्यादित सेवाको रूपमा समेत अनवरत क्रियाशील छ।
नेपालको संविधानको धारा २८५ अनुसार नेपाल सरकारले देशको प्रशासन सञ्चालन गर्न सङ्घीय निजामती सेवा र आवश्यकताअनुसार अन्य सङ्घीय सेवाहरूको गठन गर्न सक्ने प्रावधानअनुरूप नेपालको निजामती सेवाले संवैधानिक हैसियतका आधारमा आफ्नो मर्म, धर्म र कर्मलाई गरिमामय बनाएको छ। तथापि यदाकदा रूपमा देखापर्ने गरेका सामाजिक–आर्थिक विचलन, प्रशासनिक एवं प्रक्रियागत ढिलासुस्ती लगायत प्रशासनको राजनीतिक सामीप्यता तथा राजनीतिको ज्यादा प्रशासनिक अभिरुचिका कारण यो सेवा आलोचित बनेको अवस्था देखिन्छ।
जर्मन समाजशास्त्री म्याक्स वेवरको कर्मचारीतन्त्रीय सिद्धान्त, संवैधानिक मार्गदर्शन, निजामती सेवा ऐन, नियम, आचरण, नैतिकता र थुप्रै ऐन कानुन तथा कार्यविधिले बाँधेको निजामती कर्मचारीहरूको योग्यता, क्षमता र कार्यसम्पादन ऊर्जाले निजामती सेवालाई सरकारको उत्कृष्ट र गौरवशाली सेवाप्रदायक बनाउन मद्दत गरेको छ। सेवाग्राही नागरिकहरूले अब विगतमा जस्तो सार्वजनिक सेवा प्राप्तिका लागि दिनहुँ अड्डाहरूमा धाइराख्नु पर्दैन। एकै दिन एकै छिनमा सेवा प्रवाह हुन्छ। कतिपय सेवा त अनलाइन प्रविधिबाट बसी बसी प्राप्त गर्न सकिन्छ। सेवा प्राप्तिका लागि कार्यालयमै पुग्न नपर्ने भएकाले फेसलेस, कागजको प्रयोग नगरीकन सेवा प्रवाह गरिने भएकाले पेपरलेस र दस्तुर तथा शुल्क अनलाइन पेमेन्ट गरी पैसा बोक्नु पर्ने झन्झटबाट मुक्ति मिल्ने भएकोले क्यासलेस प्रविधिबाट सेवा प्रवाह गर्न सकिने भएबाट अहिले निजामती सेवालाई फेसलेस, पेपरलेस र क्यासलेस प्रशासनको संज्ञा दिइएको हो। यसरी केही सेवा अनलाइन प्रविधिबाट प्रवाह गरिएकोले यसबाट विद्युतीय सरकारको अवधारणालाई समेत साकार पार्न मार्ग प्रशस्त भएको छ।
नेपालको निजामती सेवा वर्तमान संविधानको कार्यान्वयनसँगै सङ्घीयतामा प्रवेश गरेको छ। राजनीतिक, आर्थिक र प्रशासनिक तीनवटै आयामको कार्यान्वयन सम्पन्न भएको छ। नेपालको संविधानबमोजिम तीनै तहको सङ्घीयतामा निजामती सेवाले संरचनागत स्वरूप धारण गरेको छ। सङ्घीय निजामती सेवामा करिब ४५ हजार जनशक्ति, प्रादेशिक निजामती सेवामा १० हजार जनशक्ति र स्थानीय सेवामा ४५ हजार जनशक्ति जनताको सेवामा क्रियाशील छन्। केन्द्रदेखि स्थानीयस्तरसम्म खटिएका उक्त जनशक्तिहरू नत सबै खराब छन् नत सबै असल छन्। तथापि खराबको सङ्ख्या न्यून बनाउने प्रयास नहुँदा कताकता राजनीतिको खराब रङ्ग प्रशासनमा सरेको विज्ञहरूले बताउने गरेका छन्। राजनीति नेता राजनीति प्रति होइन नीति राजनीतिप्रति प्रतिबद्ध रहनुपर्छ। राष्ट्रसेवक कर्मचारीहरूले आफूलाई राष्ट्र भन्दामाथि राखेर काम गर्नु हुँदैन। कार्यसम्पादनका क्रममा सुशासन, सदाचार र राष्ट्र हितलाई सर्वोपरि ठान्नु पर्छ।
निजामती सेवाको सफलता वा असफलता त्यस सेवामा कार्यरत जनशक्तिको उत्प्रेरणाको अवस्थामा निर्भर गर्दछ। निजामती सेवामा कार्यरत कर्मचारीहरू अहोरात्र खटिएमा नै कार्यसम्पादन मजबुत र नतिजामुखी हुने हो। काम गर्ने पद्धति एउटा कोठाको सामान अर्को कोठामा राख्ने र पुनः सोही कोठामा राखेर व्यस्तता देखाउने जस्तो उपलब्धि बिहिन हुनु हुँदैन। तसर्थ काम देखिने गरी र जनताले अनुभूति गर्ने गरी सम्पादन गर्नु पर्दछ। त्यसका लागि कर्मचारीहरूमा उत्प्रेरणाको पक्ष पनि सँगसँगै जोडिएर आउने गर्दछ। कर्मचारी उत्प्रेरणाका दुई महत्वपूर्ण पक्षहरू हुन्छन्। तीमध्ये कसैलाई मौद्रिक पक्षले, कसैलाई गैरमौद्रिक पक्षले त कसैलाई दुवै पक्षले काममा हौसला प्रदान गर्न सकिन्छ। कर्मचारी एउटा सजीव र विवेकशील प्राणी भएको हुनाले उसको मनोविज्ञान अध्ययन गरी उचित उत्प्रेरक उपकरणको प्रयोगमार्फत कार्यसम्पादनमा प्रेरणा प्रदान गर्न आवश्यक छ। यसमा कर्म गर्ने कर्मचारी र कामको भोको सङ्गठन दुवैको कल्याण हुने देखिन्छ। दुवैको कल्याणमा जनार्दनरूपी जनताको मुहारमा मुस्कान देख्न पाइन्छ। निजामती सेवामा नवयुवाको आकर्षण बढ्न सकेको छैन। नकारात्मक भर्ना प्रणाली, न्यून तलबमान र सेवासुविधा, झिनो वृत्तिविकास, परम्परागत कार्यसम्पादन, ज्यादा राजनीतिक हस्तक्षेप, गोप्य संस्कार, सक्षम र राम्रा मान्छेभन्दा पनि हाम्रा मान्छे राम्रा मान्छे, अनुपयुक्त कार्यवातावरण आदि कारणले निजामती सेवाप्रति युवाको वितृष्णा पैदा भएको हो।
हाम्रो समाज सप्तरङ्गी छ तथापि समाजकै लागि काम गर्ने निजामती सेवा अझै सीमित वर्गको छ। यही निजामती सेवा भारतमा सबै वर्गको प्रतिष्ठित सेवाको रूपमा रहेको देखिन्छ। त्यहाँका युवाको जमात यस सेवाप्रति आकर्षित र समर्पित छ।
निजामती सेवालाई आकर्षित र सम्मानित बनाउनका लागि अबका दिनमा हरेक सेवा समूहका केही पदमा सकारात्मक भर्ना प्रणालीको अभ्यासमार्फत अझ उम्दा जनशक्तिहरूको सङ्गमस्थल बनाई समग्र सेवालाई नै नवप्रवर्तनतर्फ क्रियाशील गराउनु पर्दछ। यस सेवामा विद्युतीय सुशासनको सिद्धान्त लागू गर्नुपर्ने देखिन्छ। यसबाट कार्यालयमा भीडभाड कम हुने मात्र होइन कोरोनालगायतका सरुवा रोगको सङ्क्रमण कम हुन जान्छ। त्यसैगरी, निजामती सेवालाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाई निर्भीक र निष्पक्ष रूपमा अगाडि बढाएमा यस सेवाप्रतिको चाख र साख बढ्न जाने देखिन्छ। निजामती कर्मचारीहरूको तलबलगायतका सेवासुविधा अत्यन्त न्यून छन्। यस सन्दर्भमा भोको पेट र रुग्ण पहिरनबाट उच्च कार्यसम्पादनको अपेक्षा राख्नु असान्दर्भिक र अन्यायपूर्ण हुन्छ। यस आर्थिक वर्षमा सबै कर्मचारीको १५ प्रतिशत तलब वृद्धि भए पनि यो अझै न्यून छ। प्राइभेट बैङ्कका सिइओले मासिक करिब १५ लाख तलब बुझ्दा मुख्यसचिवको तलब करिब ७७ हजार मात्र छ। तसर्थ, तलबलगायतका सेवासुविधालाई महसुस गर्न सकिने गरी समयसापेक्ष वृद्धि गरी अगाडि बढ्ने हो भने निजामती सेवामा मौजुदा जनशक्तिको मनोबल बढ्ने, नवयुवाको आकर्षण बढ्ने साथै भ्रष्टाचार न्यून हुने देखिन्छ। त्यसैगरी, सङ्गठनका भौतिक संरचनालाई महिला र अपाङ्गमैत्री बनाउनु आवश्यक छ। निजामती सेवा सबैको साझा र समावेशी सेवा भएकोले यसको स्वरूप, पद्धति र भौतिक संरचनालाई पनि समावेशी बनाउनुपर्ने हुन्छ। यसले निजामती सेवालाई बहुल संस्कृतिको प्रतिविम्ब गराई राज्यको बहुल संस्कृति र विविधता व्यवस्थापन गर्न सघाउ पु-याउँछ।
मुलुकको स्थायी सरकारको रूपमा सुपरिचित निजामती सेवा जनताको सेवाका लागि स्थापित सरकारको प्रतिनिधिमूलक संयन्त्र हो। जनताका आकाङ्क्षाप्रति यो सेवा सदैव संवेदनशील भई उनीहरूको भावनाप्रति उत्तरदायी हुने हो भने लोकतन्त्रको प्रशासनिक आयाम मजबुत भएको ठहर्छ। अहिलेको परिष्कृत परिवेशमा शासन भनेको शक्ति र अधिकारको कुञ्ज मात्र होइन उपलब्ध साधन, स्रोत र सम्भावनाको आदर्श अभ्यास पनि हो। तसर्थ, लोकतन्त्रमा शासित सधैँ शासितै रही रहनु हुँदैन। शासक शासितका स्थानमा तथा शासित शासकका स्थानमा रहने मार्ग खुला हुनुपर्छ। शासनमा सरोकारवालाको सहभागिता गराइयो भने मात्र निजामती सेवा प्रजातान्त्रिक, सहभागितामूलक र परिणाममुखी बन्न जान्छ। यो नै प्रजातन्त्रको आदर्श हो। त्यसैले अब सबै कर्मचारीहरूले मनन गरौँ कर्मचारी मात्र नबनौँ, देशभक्त नागरिक पनि बनौँ। यसैमा देश र जनताको अधिकतम कल्याण छ। सबै निजामती कर्मचारीलाई चेतना भया।
लेखक नेपाल विद्युत् प्राधिकरणका सहायक निर्देशक हुनुहुन्छ।