काठमाडौँ, भदौ २२ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवालाई थप सक्षम, सबल र सुदृढ बनाउँदै लैजाने सरकारको योजना रहेको बताउनुभएको छ।
१९औँ निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै निजामती सेवालाई सशक्त बनाई सरकारी सेवा प्रवाहलाई अझ चुस्त बनाउन र विकास निर्माण कार्यलाई गति दिनुपर्ने खाँचो रहेको बताउनुभएको छ।
उहाँले मुलुक राजनीतिक सङ्कटको अवस्थामा रहेका विभिन्न कालखण्डमा समेत राज्य सञ्चालनदेखि विकास निर्माण र सेवा प्रवाह कार्यलाई निरन्तरता दिने काममा निजामती प्रशासनको महत्वपूर्ण भूमिका रहेको सन्देशमा उल्लेख गर्नुभएको छ।
प्रधानमन्त्री देउवाले समयको परिवर्तनसँगै निजामती कर्मचारीलाई समयसापेक्ष तलब भत्ता तथा वृत्तिविकास व्यवस्थापन गरी उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ।
उहाँले निजामती प्रशासनले विभिन्न चुनौती बेहोर्दै आए पनि निरन्तर देश र जनताको सेवामा आफूलाई समर्पित गर्दै आएको उल्लेख गर्नुभएको छ। २०१३ साल भदौ २२ गते निजामती सेवालाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने उद्देश्यले निजामती सेवा ऐन जारी गरिएको थियो।