गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २१ गते । सत्ता गठबन्धनको कार्यदलको
मंगलबारको बैठकमा सिट बाँडफाँट सम्बन्धमा प्रतिवेदन तयार गर्ने विषयमा छलफल भएको छ
।
कार्यदलका सदस्य एवम् सञ्चार तथा सूचना प्रविधि
मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकमा शीर्षस्थ नेताहरुले कार्यदललाई
सुम्पेको जिम्मेवारी पूरा गर्ने नजिक पुगेको जानकारी दिनुभयो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै
उहाँले भन्नुभयो, ‘‘शीर्षस्थ
नेतृत्वबाट जुन जिम्मेवारी सुम्पिएको थियो । त्यो, जिम्मेवारीको कार्यसम्पादनको हामी नजिक पुगेका
छौं । भोलि फेरि ५ बजे बैठक बस्छ ।’’
त्यसपछि अन्तिम निष्कर्ष निकालेर शीर्षस्थ नेतामा प्रतिवेदन पेश गरिने उहाँले बताउनुभयो ।
सिट बाँडफाँटको प्रतिवेदन करिब–करिब लिपिबद्ध गर्ने अवस्थामा पुगेको र भोलिको
बैठकमा यो तयार हुने उहाँको भनाइ छ ।
लिपिबद्ध गरेर जुन कार्यभार दिइएको छ त्यो सम्पन्न गर्छौं, मन्त्री कार्कीले भन्नुभयो ।
उहाँले प्रतिनिधिसभाको सम्पन्न भएपछि
प्रदेशसभाको कार्य सम्पन्न गर्न सहज हुने ढंगबाट छलफल भएको पनि उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद
सिटौला कार्यदलको संयोजक हुनुहुन्छ । सदस्यहरुमा सञ्चारमन्त्री कार्कीसहित
कांग्रेस महामन्त्री गगनकुमार थापा हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)बाट देव
गुरुङ, वर्षमान पुन, एकीकृत समाजवादीबाट वेदुराम भुषाल, प्रमेश हमाल सदस्य हुनुहुन्छ ।
यसैगरी, जनता समाजवादीबाट रामसहायप्रसाद यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल
पुरी र आनन्द शर्मा सहभागी हुँदै आउनुभएको छ ।