सङ्खुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नं. ९ र भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नं. ६ मा केन्द्र रहने गरी विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना हुने भएको छ। तत्कालीन समाजमा विद्यमान अन्याय, अत्याचार, भ्रष्टाचार, महिला हिंसा, लैङ्गिक विभेद तथा जातीय उत्पीडन आदि विकृतिविरुद्ध योग, ध्यान र भजन कीर्तनका माध्यमबाट आध्यात्मिक तवरले आवाज बुलन्द गर्न सहज थिएन। रूढिवाद र अन्धविश्वासमा जकडिएको समाज सुधारको निमित्त धर्मराज्य (सुशासन) स्थापनाको मागसहित कठोर सङ्घर्ष गर्ने क्रान्ति योद्धा योगमाया न्यौपाने ( वि.सं. १९२५–१९९८ ) को नाममा अरूण उपत्यकामा आयुर्वेद विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययन गर्न नेपाल सरकारले आ.व. २०७४/०७५ मा रु. दुई करोड ५० लाख बजेट विनियोजन भयो। संसद्बाट विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ पास भएको छ। राष्ट्रिय सभामा उत्पत्ति भई दुवै सदनबाट पास भइसकेको यो विधेयक सम्माननीय राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि (ऐनको हैसियत प्राप्त भएपछि) विश्वविद्यालय स्थापनाको औपचारिक कानुनी आधार खडा हुनेछ।
हाल प्रस्तावित विधेयकमा विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय अरूण उपत्यकामा रहने उल्लेख गरिएको छ। अरूण उपत्यका भन्नाले सङ्खुवासभा जिल्लाका सबै १० वटा, भोजपुर जिल्लाका छ वटा र धनकुटा जिल्लाका तीन वटा गरी जम्मा १९ वटा स्थानीय तहलाई बुझाउँछ। नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७८ चैत २४ को बैठकबाट अरूण उपत्यकामा पर्ने सङ्खुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नं. ९ मा ३७२ रोपनी र भोजपुर जिल्ला षडानन्द नगरपालिका वडा नं ६ मा २३३ रोपनी निजी जग्गा विश्वविद्यालयको नाममा प्राप्त गर्ने र यसरी प्राप्त हुने जग्गामा विश्वविद्यालयको भवन तथा अन्य पूर्वाधार संरचना बनाउन निर्माणस्थल तोक्ने निर्णय भएको छ। यी दुवै नगरपालिकाका तोकिएका स्थानमा विश्वविद्यालयको नाममा जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। जग्गा प्राप्तिको प्रक्रिया टुङ्गिएपछि विश्वविद्यालयका लागि आवश्यक भवन तथा अन्य पूर्वाधार संरचनाको विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गरी सोहीअनुरूप विश्वविद्यालयको भवन र अन्य पूर्वाधार निर्माण प्रक्रिया अघि बढाइनेछ। साथै, ऐन जारी भई विश्वविद्यालयले औपचारिक कानुनी हैसियत प्राप्त गरेपछि विश्वविद्यालयका पदाधिकारीको नियुक्तिलगायत शैक्षिक तथा अनुसन्धानमूलक क्रियाकलाप अगाडि बढाउन मार्गप्रशस्त हुनेछ।
न्यौपानेले समाज सुधारका लागि जीवनभर सङ्घर्ष गरेर आफ्ना ६७ जना अनुयायीसहित अरूण नदीमा जलसमाधि लिई प्राणको आहुति गर्नुभएको थियो। क्रान्तिप्रतीक योगमायाको नाममा आयुर्वेद विश्वविद्यालय स्थापना गरेर पूर्वीय दर्शनमा आधारित हाम्रो मौलिक ज्ञानलाई युगसापेक्ष विस्तार गर्दै समाज रूपान्तरणमा योगदान पु-याउने अभिप्रायका साथ सुरु भएको यो विश्वविद्यालय स्थापनाको अभियानले सार्थकता पाउन लागेको छ। यस विश्वविद्यालयको स्थापनाबाट नेपालको मौलिकतामा आधारित एक शैक्षिक आयामको द्वार खुला हुने त छँदैछ, साथसाथै समाजले नारीशक्तिको उच्च सम्मान र महिलाबाट समाज सुधारको क्षेत्रमा पु-याएको योगदानको कदर गरेको ठहरिनेछ।
आयुर्वेद, योग, ध्यान, जडीबुटीलगायत हाम्रा प्राचीन तथा मौलिक पद्धतिका बारेमा युवा पुस्ता र बौद्धिक जगत्मा बढ्दै गएको चासो र यस सम्बन्धमा भइरहेको अध्ययनको प्रयासलाई अझ व्यवस्थित, व्यापक र गम्भीर रूपमा कसरी अघि बढाउन सकिन्छ भन्ने छलफलको सिलसिलामा यस विधालाई समेट्ने अलग्गै विश्वविद्यालयसम्बन्धी अवधारणाको जन्म भएको मानिन्छ। आधुनिक पद्धतिको नाममा विगत लामो समयदेखि अवलम्बन गरिएको शिक्षा प्रणालीले नेपाली युवापुस्तालाई क्रमशः बेरोजगारी, जीवनोपयोगी सीपरहित, पश्चिमी जीवनशैली र उपभोक्तावादी छाडातन्त्रतर्फको भुमरीमा धकेलेको र निरन्तर परनिर्भरताको मार्गतर्फ डोहो-याएको महसुस भएपछि सचेत नागरिकमा बढेको छटपटीबाट मौलिकता गुमाउँदै पतनको बाटो लाग्न सक्ने सम्भावनाबाट समाजलाई जोगाउन सकिने छ।
लामो समयदेखि राजनीतिक कोणबाट विभिन्न बहस तथा आन्दोलन हुँदै आए पनि सामाजिक सुधारको अभियान अपेक्षित दिशातर्फ उन्मुख हुन नसकिरहेको परिप्रेक्षमा आधुनिक शैक्षिक पद्धतिमा देखिएका कमजोरीबाट जोगिँदै मुलुकको मौलिकतामा आधारित जीवनोपयोगी शिक्षा प्रणालीको विकास गर्ने अभिप्रायका साथ शिक्षा मन्त्रालयले आर्थिक वर्ष २०७०/०७१ देखि यससम्बन्धी छलफल अघि बढाएको हो। आर्थिक वर्ष २०७३/०७४ मा नेपाल सरकारको नीति तथा कार्यक्रममा विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाको कार्यक्रम सामेल गरिएको छ। सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएसँगै यो विश्वविद्यालय पूर्वी नेपालको अरूण उपत्यकामा स्थापना हुनुपर्छ भन्ने आवाज उठ्न थाल्यो। क्रान्तियोद्धा योगमायाको जन्मस्थल, कर्मस्थल र समाधिस्थलसमेत अरूण उपत्यकामा रहेको हुँदा उहाँको नाममा स्थापना हुने विश्वविद्यालय अरूण उपत्यकामा नै रहनुपर्छ भन्ने तर्कले बल पाउनु स्वाभाविक मानियो। साथै अरूण उपत्यकामा विविध भौगोलिक अवस्थितिले युक्त रहनुका साथै अनेकन जडीबुटी, वनौषधि र वनस्पतिको भण्डार रहेको छ।
विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने नीतिलाई व्यावहारिक कार्यान्वयनको दिशामा अघि बढाउने कानुनी पाइलाको रूपमा नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०७७ वैशाख ३० मा विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय, पूर्वाधार निर्माण विकास समिति गठन गर्ने निर्णय भयो। २०७७ साउन १२ को नेपाल राजपत्र भाग ३ मा सो समितिको गठन आदेश प्रकाशित गरियो। पूर्वाधार निर्माण विकास समिति गठन भएपछि विश्वविद्यालय स्थापनाको दिशामा तयारीका थुप्रै कार्य हुँदै आएका छन्। विश्वविद्यालयका लागि आवश्यक जग्गा प्राप्तिको कार्य हाल यसै समितिमार्फत अघि बढिरहेको छ। शिक्षा मन्त्रालयमा सीमित रहेको समितिको कार्यालय सङ्खुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नं. ९ तुम्लिङटारमा फिल्ड कार्यालयका रूपमा विस्तार गरिएको छ। निकट भविष्यमा प्रस्तावित भवन तथा अन्य संरचना निर्माणस्थलमा भौतिक विकासका काम सुरु हुने अपेक्षा गरिएको छ।
यो विश्वविद्यालय नेपालमा हाल विद्यमान अन्य विश्वविद्यालयभन्दा केही पक्षमा विशिष्ट र भिन्नसमेत रहेको छ। यस विश्वविद्यालयको साङ्गठनिक संरचनामा राष्ट्रपति, प्रधानमन्त्री र नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीको प्रत्यक्ष संलग्नता रहने व्यवस्था छैन। विश्वविद्यालयको सर्वोच्च निकायको रूपमा सङ्घीय सरकारका केही विषयगत निकायका कर्मचारीको अलावा प्रदेश नं. १ को प्रदेश सरकारबाट मनोनित र अरूण उपत्यकामा पर्ने तीन जिल्ला सङ्खुवासभा, भोजपुर र धनकुटाका १९ वटा स्थानीय तहबाट मनोनित हुने सदस्यसमेत रहेको एक विश्वविद्यालय परिषद्को गठन हुने व्यवस्था छ। विश्वविद्यालय परिषद्को अध्यक्ष परिषद्का सदस्यमध्येबाट छनोट हुने र निजलाई पदबाट हटाउनुपर्ने भएमा सोको निर्णयसमेत परिषद्का बहुमत सदस्यबाट हुने व्यवस्था छ। विश्वविद्यालयका पदाधिकारीका रूपमा अध्यक्ष, कुलपति, रजिष्ट्रार, डिन, निर्देशक, परीक्षा नियन्त्रक र प्राचार्य रहने व्यवस्था छ। विश्वविद्यालय परिषद्को अलावा यसमा कार्यकारी परिषद्, प्राज्ञिक परिषद्, स्कुल, परीक्षा नियन्त्रण कार्यालय, केन्द्रीय विभाग, अनुसन्धान केन्द्र, उत्पादन केन्द्र, विद्या परिषद्, कलेज र शिक्षण अस्पतालजस्ता संरचना रहने व्यवस्था गरिएको छ।
स्थापनाको औपचारिक चरणमा प्रवेश गर्न लागेको विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय आफैँमा चुनौतीरहित भने छैन। यो विश्वविद्यालय स्थापनाको उद्देश्य जनताले महसुस गर्ने गरी सार्थक तुल्याउन आगामी दिनमा थुप्रै कठिनाइको सामना गर्नु पर्नेछ। खासगरी अरूण उपत्यकाबासीको मनमा हाल देखिएको उत्सुकता, उत्साह, जाँगर र सहयोगको भावना यथावत् कायम राखी आगामी दिनमा विश्वविद्यालयको उद्देश्य परिपूर्तिका समग्र क्रियाकलापमा उनीहरूलाई एकाकार तुल्याएर हातेमालो गर्दै अघि बढ्ने वातावरण बनाइरहनु मुख्य चुनौती बन्न सक्छ। विश्वविद्यालयका लागि आवश्यक आर्थिक स्रोतको सुनिश्चितता, दक्ष जनशक्तिको उपलब्धता, योग्य र लगनशील विद्यार्थीको उपलब्धता, अध्ययन अध्यापन कार्यको गुणस्तरीयता र सोको स्तरीकरण तथा मान्यता, दाताको सहयोगको प्रतिबद्धता, सामूहिक सहकार्य र समन्वयको प्राचुर्यता, तीनै तहका सरकारको पर्याप्त सहयोगको सुनिश्चितता तथा विश्वविद्यालयको नवीन शासकीय व्यवस्थाको सफल कार्यान्वयनजस्ता विषयमा गम्भीर चुनौती सामना गर्नुपर्ने हुनसक्छ। कानुनी व्यवस्था र चुनौती तथा अपेक्षा जे जस्तो भए पनि नवीन अभ्यासको रूपमा नयाँ ढाँचामा हाम्रो मौलिक परम्परागत ज्ञान र प्राकृतिक पद्धतिलाई विस्तार गर्दै शैक्षिक पुनर्जागरणको माध्यमबाट समाज रूपान्तरणको महायात्रामा अघि बढ्ने अभिप्रायका साथ स्थापना हुन लागेको विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयलाई सफल तुल्याउने दिशामा अघि बढ्नु सबै नेपालीको ध्येय बन्नुपर्छ।
लेखक सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ।