• १४ असार २०८१, शुक्रबार

गौरा पर्वको अन्तिम दिन आज दूर्वाष्टमी व्रत

blog

अविनाश चौधरी

धनगढी, भदौ १८ गते । सुदूरपश्चिम प्रदेशको मौलिक गौरा पर्वको अन्तिम तथा महत्वपूर्ण दिन आज व्रतालु महिलाले दूर्वाष्टमी व्रत बसी मनाउँदै छन् । यस दिनलाई अठवाली पनि भन्ने गरिएको छ । 

अठवालीको दिन लौकिक मान्यताअनुसार गौराकी सौताका रुपमा सञ्ज्या गौरालाई ल्याइने गरिएको कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टीएन जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार यस दिन व्रत गर्ने नारीहरुले घाँटीमा बाँध्ने धागो फेर्छन् । जसलाई दुब्धागो भनिन्छ । 

रातो, पहेलो र कालो धागोबाट बनाइएको दुब्धागो सामान्यतयाः पोतेजस्तै देखिनेगरेको जनाइएको छ । रक्षाबन्धनका दिन बाहुन, क्षेत्रीय पुरुषले नयाँ जनै फेरेझै यस पर्वको अन्त्यमा व्रतालुहरुले घाँटीमा बाँध्ने धागो फेर्ने चलन रहेको जोशीको भनाइ छ । 

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लासहित कैलाली, कञ्चनपुरमा समेत धुमधामसँग मनाइने गौरा पर्व भाद्र शुक्ल वा कृष्णपक्षमा मनाइने गरिन्छ । यो पर्व कहिले भाद्र शुक्लपक्ष त कहिले कृष्णपक्षमा पर्ने गर्छ । यो वर्ष भाद्र शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउँदै गौरा पर्व सुरु भएको थियो । गौरा सकिएपछि देउडा खेल खेल्ने चलन रहेको छ ।