• १३ साउन २०८१, आइतबार

समाजवादीका अधिकांश नेता एमालेमा फर्किए

blog

समाजवादीका नेताहरुलाई एमालेमा स्वागत गरिदै । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, भदौ १८ गते । नेकपा (एकीकृत समाजवादी) सर्लाहीको जिल्ला नेतृत्वका अधिकांश पदाधिकारी एमालेमा फर्किनुभएको छ । सदरमुकाम मलङ्गवास्थित एमाले जिल्ला पार्टी कार्यालयमा आयोजित एक समारोहमा समाजवादीका नेताहरु एमालेमा समाहित हुनुभएको हो । 

समाजवादीका केन्द्रीय परिषद् सदस्य रुपनारायण सिंह, जिल्ला उपाध्यक्ष देवेन्द्र राय, सचिब गोविन्द अधिकारी, उपसचिव लिलादेवी कोइराला, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका सदस्य समेत रहनुभएका विश्व लामा, प्रचार विभाग प्रमुख तथा हरिवन नगर कमिटी अध्यक्ष चुडामणि वाग्ले, ईश्वरपुर नगर कमिटीका अध्यक्ष मेनकुमार गौतम, हरिपुर नगर कमिटी अध्यक्ष चुडामणि धामीलगायतका नेता कर्याकर्ता एमालेमा फर्किनुभएको छ । 

उपाध्यक्ष राय र सचिब अधिकारीले संयुक्त हस्ताक्षरमा नेकपा (एकीकृत समाजवादी) सर्लाही जिल्ला कमिटी एमालेमा समाहित भएको सम्वन्धमा प्रेस विज्ञप्ति समेत जारी गर्नुभएको छ । समाहित हुनुभएका नेताहरुलाई एमाले केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला इन्चार्ज कमलादेवी महतो, केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला सहइन्चार्ज बद्री न्यौपाने, प्रदेश उपाध्यक्ष रेवती पन्त, जिल्ला अध्यक्ष राजनारायण साहलगायतले पार्टीमा स्वागत गर्नुभयो ।

मङ्सिर ४ का लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा घोषणा भइसकेको अवस्थामा समाजवादीका अधिकांश नेताहरु पुरानै पार्टीमा फर्किनुलाई एमाले सर्लाहीले ठूलो उपलब्धी मानेको छ ।