• १६ भदौ २०८१, आइतबार

निजी साझेदारीमा सार्वजनिक शौचालय

blog

सन्तोष सुवेदी

कास्की, भदौ १८ गते । पोखरा महानगरपालिकाका ३२ स्थानमा निजी साझेदारीमा सार्वजनिक शौचालय तयार भएका छन् । पोखरा महानगरपालिकाले गत असारमा सूचना प्रकाशित गरी महानगरभित्र भएका शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न दिन इच्छुकलाई सम्पर्क गर्न आह्वान ग-यो ।

महानगरको उक्त आह्वानपछि ३२ आवेदन परेका छन् । व्यक्ति र संस्था गरी ३२ जना आफ्ना शौचालय सार्वजनिक प्रयोग गर्न दिने इच्छाका साथ महानगरमा आएका छन् । महानगरले ती सबै व्यक्तिसँग आवश्यक समन्वय गरी बिहीबारदेखि शौचालयको सार्वजनिक प्रयोग गर्ने सुरुवात गरेको छ । 

पोखरा महानगरपालिकाभित्र २७ वटा सार्वजनिक शौचालय छन् । तीमध्ये धेरैजसो प्रयोगविहीन छन् । नियमित सरसरफाइ र मर्मतसम्भार नहुँदा सार्वजनिक शौचालयको अवस्था दयनीय रहेको छ । ती शौचालयसमेत प्रयोगमा ल्याउन नसकेपछि महानगरपालिकाको बारम्बार आलोचना हुने गरेको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा न्युरोडस्थित सिटी स्क्वायर प्रालिबाट निजी साझेदारीमा सार्वजनिक शौचालयको शुभारम्भ गर्नुभएको छ । प्रमुख आचार्यले पोखरा महानगरपालिकाका ३२ स्थानमा निजी साझेदारीमा सार्वजनिक शौचालयको सुरु भए पनि यो सङ्ख्या एक सय स्थानसम्म पुग्न सक्ने जनाउनुभयो । “हामीले सर्वसाधारणका लागि शौचालय उपयोगका सन्दर्भमा विभिन्न बैङ्क तथा वित्तीय संस्था र व्यक्तिहरूसँग पनि कुराकानी गरिरहेका छौँ । यसको सङ्ख्या एक सय पु¥याउने लक्ष्य छ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार एक वर्षभित्रमा महानगरका मुख्य–मुख्य चोक र सार्वजनिक स्थलहरूमा सार्वजनिक शौचालय निर्माण गरिनेछ । बजार आउने सर्वसाधारणका लागि अप्ठ्यारो परिस्थितिमा निकै राहत प्रदान हुने विश्वास गरिएको छ ।

सहरभित्र सार्वजनिक शौचालय नभएको ठाउँमा, यदि खल्तीमा पैसा छैन भने कुनै रेस्टुरेन्टमा पसेर खान सक्ने अवस्था पनि छैन भने शौच गर्न नसक्ने अवस्थाको अन्त्य हुने बताइएको छ । कार्यपालिका बैठकले यो वर्षभित्रमा महानगरका सबै वडामा र बजारका मुख्य–मुख्य चोकमा सार्वजनिक शौचालय बनाउने निर्णय गरेको महानगर प्रमुख आचार्यले बताउनुभयो । 

उहाँका अनुसार एक वर्षभित्रमा कम्तीमा ३३ स्थानमा सार्वजनिक शौचालय निर्माण गरिनेछ । विगतमा महानगरपालिकाले निर्माण गरेका शौचालयको समेत मर्मतसम्भार गरी प्रयोगमा ल्याइनेछ । महानगरले यो आर्थिक वर्षमा स्मार्ट सार्वजनिक शौचालय निर्माणका लागि आठ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । 

घुम्ती शौचालय प्रयोगविहीन

कास्की जिल्लालाई २०६८ साल असार ५ गते नेपालकै पहिलो खुला दिसापिसाबमुक्त जिल्ला घोषणा गरियो । उक्त घोषणा हुनुपूर्व पोखराका मुख्य स्थान पुरानो बसपार्क, सेती किनार, फिर्केखोलालगायत विभिन्न चोक तथा सडक किनारमा खुला दिसापिसाब हुने गर्दथे ।

२०७० सालमा रोटरी क्लब अफ पोखरा न्युरोडले विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटाएर नेपालमै पहिलो पटक पोखरामा घुम्ती शौचालय ल्याउन सफल भए ।

पोखराका विभिन्न मुख्य चोकहरू जहाँ मानिसको अधिक चाप रहने भएकाले र सार्वजनिक शौचालय नभएको हुनाले घुम्ती शौचालय आवश्यक परेको थियो । त्यति मात्र होइन मेला, महोत्सव, साङ्गीतिक कार्यक्रममा प्रभावकारी हुने उद्देश्यले सञ्चालनमा ल्याइएको घुम्ती शौचालयमा महिला र पुरुषका लागि छुट्टाछुट्टै युरिन प्यानलको व्यवस्था गरिएको थियो । 

एक पटकमा छ जनाले प्रयोग गर्न सक्ने उक्त शौचालयबाट सर्वसाधारण, बटुवा, यात्रु र पर्यटक लाभान्वित भएका थिए । सन् २०१४÷१५ का प्रेसिडेन्ट एवं घुम्ती शौचालय व्यवस्थापन कार्यक्रमका संयोजक दिलीपराज श्रेष्ठका अनुसार ‘घुम्ती शौचालयको सङ्ख्या बढाएर पाँचवटासम्म पु-याउने लक्ष्य रहेको थियो तर महानगरले घुम्ती शौचालयको उचित व्यवस्थापन गर्न नसक्दा भएको एउटा शौचालय पनि नयाँबजारको प्रदर्शनी केन्द्रमा थन्किएको छ ।