• १६ भदौ २०८१, आइतबार

अस्पतालमा मुख्यमन्त्रीको छड्के

blog

लहान समाचारदाता  

लहान, भदौ १६ गते । लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा चिकित्सकले लापर्बाही गरिरहेको गुनासो आएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले छड्के अनुगमन गर्नुभएको छ ।  मुख्यमन्त्री सिंहले भन्नुभयो, “लहानको प्रादेशिक अस्पतालमा अनुगमनका क्रममा भेटाएका त्रुटि र समस्याबारे मेसु सुनील कुशवाहासँग स्पष्टीकरण लिई आउने सोमबारसम्ममा कुनै निर्णयमा पुग्छौँ ।” 

शुक्रबार राति ९ बजे मुख्यमन्त्री सिंहले गर्नुभएको छड्के अनुगमनका क्रममा देखिएको कमीकमजोरी सुधार्न प्रक्रिया अघि बढाए सुधार हुने चर्चा भएको छ । लहानका नगर उपप्रमुख रामचलितर महतोले भन्नुभयो, “अस्पताल प्रदेशको मातहतमा रहेकाले मुख्यमन्त्रीले छड्के अनुगमन गरेर राम्रो काम गर्नुभयो । यसको नतिजा आओस्, हामी प्रतीक्षामा छौँ ।”

अस्पतालमा छड्के अनुगमन गर्दा अधिकांश चिकित्सक आफ्नो समयतालिका अनुसार उपस्थित नभएको, सरसफाइमा त्रुटि रहेको र अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सुनील कुशवाहासमेत अनुपस्थित रहेको पाइएको छ । मेसु कुशवाहा लहानदेखि १० किलोमिटर टाढा गोलबजारमा निजी क्लिनिक सञ्चालन गरिरहेको र अस्पतालमा साँझ परेपछि उपस्थित नहुने गुनासोे मुख्यमन्त्री सिंहकहाँ पुगेको थियो । 

आफन्तलाई सुत्केरी गराउन अस्पताल आएकी अमृता महतोले सरसफाइको कमी, अत्यधिक गर्मीमा पङ्खा र एसीको अभावले विद्युत् लाइन कट्दा ठुलो सास्ती बेहोर्नु परेको र साँझ परेपछि चिकित्सकको लापर्बाही हुने गरेकोलगायतका समस्या रहेको मुख्यमन्त्री सिंहलाई सुनाउनुभयो । अन्य बिरामी तथा कुरुवाले समेत मुख्यमन्त्रीलाई गुनासो सुनाएका थिए । सबैको गुनासो सुनेर मुख्यमन्त्री सिंहले आकस्मिक कक्षका चिकित्सक, ल्याबका चिकित्सक र प्रसूति विभागको चिकित्सकलाई अस्पतालमा सरसफाइ नभएको र कर्मचारी चिकित्सकको लापर्बाहीबारे जिज्ञासा राख्नुभएको थियो । 

प्रसूति विभागका चिकित्सक कुसुम यादवले करारमा रहेका चिकित्सक कर्मचारीको करार म्याद अहिलेसम्म नथपिदिँदा समस्या भएको जिज्ञासामा मुख्यमन्त्री सिंहले म्याद चाँडै थपिने विश्वास दिलाउनुभयो । 

२०३७ सालमा स्थापित लहानका रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालको एक बिघा १५ कट्ठा अर्बौं मूल्यको जग्गा दाताद्वय पवन मुरारका र मुरारीलाल मुरारकाले रजिस्ट्रेसनका लागि हस्ताक्षरसमेत गरिदिए पनि रजिस्ट्रेसन गराउन राजस्व नै एक करोडभन्दा बढी लाग्ने भएपछि हाल रजिस्ट्रेसन रोकिएको छ । दाता परिवारका मुरारीलाल मुरारकाका अनुसार रजिस्ट्रेसनका लागि प्रदेश सरकारको पहलमा सङ्घीय सरकारको अर्थ मन्त्रालयबाट हुनुपर्ने भनी पहल पनि भयो तर राजस्व मिनाहाका लागि कुनै चिठी नआएकाले जग्गा रजिस्ट्रेसन अड्किएको हो । जग्गा रजिस्ट्रेसन नहुँदा अस्पतालको स्तरोन्नति गर्न र थप निर्माणको कामसमेत अघि बढ्न सकेको छैन ।

प्रादेशिक अस्पताल लहानमा बढेको लापर्बाहीले गर्दा अस्पताल भर्ना भएका बिरामीलाई साँझ परेपछि यहाँ उपचार सम्भव नरहेको भनेर अन्तै सिफारिस गर्ने गरिएको गुनासो पनि छ । अस्पताललाई सिफारिस केन्द्रका रूपमा परेको छापका कारण लहान अस्पतालमा भर्ना नगराई धरान, विराटनगरका अस्पताल जानुपर्ने बाध्यात्मक अवस्था रहेको लहान–२ का स्थानीय देवेन्द्र यादवले बताउनुभयो ।