• १३ साउन २०८१, आइतबार

देवीदहमा आउन छाडे पर्यटक

blog

लहान समाचारदाता

लहान, भदौ १८ गते । लहान–१७, दौलतपुर बलानसेरमा १० बिघा क्षेत्रफलको देवीदहमा चल्ने पाँचवटा डुङ्गा प्रयोगविहीन भएपछि आन्तरिक पर्यटक आउन छाडेका छन्।  कहिल्यै पानी नसुक्ने र डुङ्गामा चढेर रमाइलो गर्ने देवीदहका तीनवटा डुङ्गा बिग्रिएको अवस्थामा रहेका र दुईवटा पानीमै गाडिदिएपछि प्रत्येक शनिबार पिकनिक गर्न र रमाइलो गर्न आउने आन्तरिक पर्यटक आउन छाडेका स्थानीयवासीले बताएका हुन्।  

प्रथम राष्ट्रपति डा. रामवरण यादवको पालामा चुरे राष्ट्रपति कार्यक्रमअन्तर्गत यस दहको सौन्दर्यीकरण गरिएको थियो। लहान बजारदेखि पाँच किलोमिटर उत्तरपूर्वमा रहेको यस दहमा वनभोज ‘स्पट’, शौचालय र एक दर्जन ‘सेड’समेत निर्माण गरिएको छ। 

स्थानीय रामशरण यादवका अनुसार सुरुमा तीन महिना डुङ्गा चल्दा ९५ हजार रुपियाँ आम्दानी भएको थियो। जनवरी पहिलो दिन मात्रै ५० हजार रुपियाँ आम्दानी हुने गरेको यस दहमा शनिबार पिकनिक गर्ने र डुङ्गामा चढ्नेको भीड हुन्थ्यो तर अहिले अस्तव्यस्त देखिएको छ। पूर्वमा सुनसरी र पश्चिममा धनुषा, महोत्तरी र दक्षिण भारतसम्मका पर्यटकको गन्तव्य बनिसकको देवीदह आपसी खिचातानीका कारण चौपट बनेको स्थानीयवासी बताउँछन्। 

८५ हजार हेक्टर वन रहेको देवीदहको उत्तरपट्टि लाटीबौकी देवीको मन्दिर रहेकाले यसलाई देवीदह भनिएको हो। भाकल गरेपछि मनोकामना पूरा हुनेभएकाले त्यस भेगका बासिन्दाले देवीको पूजा–आराधना नियमित गरिरहेको लहान–१७ का वडाध्यक्ष प्रथमलाल चौधरीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “दौलतपुर र बलानसेरका बासिन्दाबीच समिति बनाउँदा र बजेट आउँदा आफू अनुकूल समिति बनाई खर्च गर्ने अस्वस्थ प्रतिस्पर्धा र स्वार्थका कारण विकासको गतिमा अघि बढिसकेको देवीदह फेरि पछाडि परेको छ। दुई वर्षअघि देवीदहसम्म आउन लहान नगरपालिकाले ५५ लाख रुपियाँको लागतमा मुतनी खोलामा पुल निर्माण गरिदिएपछि पर्यटकलाई आउन सजिलो भए पनि स्थानीयवासीको खिचातानीले देवीदहको विकास रोकिएको हो ।” 

देवीदह व्यवस्थापन समितिका अध्यक्ष रमणकुमार यादवले स्थानीयवासीसँग सकारात्मक वातावरण बनाई पाँच करोड रुपियाँको लागतमा सडक, पत्थर बगैँचा र बाल उद्यान निर्माण गरी अघि बढ्ने प्रयास थालेको बताउनुभयो। लहान नगरपालिका–१५ मा रहेको हात्तीदहभन्दा पहिलेदेखि व्यवस्थापन र सौन्दर्यीकरणको कार्य देवीदहमा सुरु भए पनि हात्तीदहका बासिन्दा र त्यहाँको व्यवस्थापन समिति सक्रिय हुँदा हात्तीदहले फड्को मारिसक्यो। हात्तीदहको प्रगति देखेर देवीदहलाई पनि विकास गर्न दौलतपुर र बलानसेरका बासिन्दा फेरि आपसी मतान्तर त्यागेर विकासका लागि एक हुने वातावरण बनाउन स्थानीय बुद्धिजीवी लाग्नुपर्ने अध्यक्ष यादवले बताउनुभयो।