• १३ साउन २०८१, आइतबार

फुटपाथमा बजार लाग्दा आवागमनमा सास्ती

blog

महेशकुमार दास 

जलेश्वर, भदौ १८ गते । सडक किनारामा राखिएका पसल र अवैधानिक संरचना निर्माणका कारण महोत्तरीको सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिका अव्यवस्थित देखिन थालेको छ। जलेश्वर नगरपालिकाभित्र फुटपाथ र मूल सडक नै ढाक्नेगरी बजार लाग्ने गरे पनि यहाँका जनप्रतिनिधिले कुनै चासो देखाएका छैनन्। 

नगरपालिका क्षेत्रभित्र एउटा पनि व्यवस्थित पार्किङ स्थल नहुँदा मूल सडक नै पार्किङ स्थलमा परिणत भइरहँदा सोको व्यवस्थापनका लागि सम्बन्धित निकायले कुनै चासो दिएको देखिँदैन। फुटपाथ व्यवस्थित बनाउन चासो नराख्नेले यहाँका अवैधानिक संरचना व्यवस्थित बनाउने चर्चा गर्नु धेरै टाढाको विषय रहेको जलेश्वर नगरपालिका–१ का घनश्याम भगतले बताउनुभयो। “जिल्ला सदरमुकाम जलेश्वरको अवस्था हेर्दा जलेश्वर बजारमा सडक नै बजारक्षेत्र भएको जस्तो देखिन्छ,” उहाँले भन्नुभयो। 

मधेश प्रदेशकै सबभन्दा पुरानो सदरमुकाम जलेश्वर नगरपालिकाको महत्वपूर्ण तीर्थस्थल मानिएको जलेश्वर महादेव मन्दिरको ठीक अगाडि र मन्दिर जाने बाटोको दुवै छेउमा सर्वसाधारणलाई पैदल हिँड्डुल गर्न छ फिट चौडाइ भएको फुटपाथ निर्माण गरिएको भए पनि सो फुटपाथ सर्वसाधारणले कहिल्यै प्रयोग गर्न नपाएको गुनासो भगतले गर्नुभयो। 

यसअघि जलेश्वर महादेव मन्दिरको सौन्दर्यीकरणका क्रममा जलेश्वरनाथ महादेव मन्दिर अगाडि नगरपालिकाको मातहतमा रहेको घरलगायतका संरचना भत्काउने निर्णयसमेत भएको थियो तर त्यो निर्णय कार्यान्वयन हुन सकेन । मन्दिर अगाडिको भौतिक संरचना प्रयोग गर्ने व्यवसायीले थोरै रकम बिटौरीबापत नगरपालिकालाई तिरेर आ–आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्नुका साथै फुटपाथसमेत ओगटेर बसेका छन्। कुरूप देखिने भौतिक संरचनाकै कारण जलेश्वरनाथ महादेव मन्दिरको सौन्दर्यीकरणमा पनि प्रभाव पारेको भगतले जानकारी दिनुभयो। 

फुटपाथमा लाग्ने अव्यवस्थित बजार व्यवस्थापनको लागि यसअघि पनि प्रयासहरू नभएका होइनन् तर ती सबै प्रयास विफल हुँदैआएका छन्। अहिलेका जनप्रतिनिधिबाट जलेश्वरनगरका फुटपाथ र अवैधानिक संरचना व्यवस्थित होलान् भनेर आशा गरेका स्थानीय निराश बन्न थालेको अर्का स्थानीय नागेन्द्र पासवानले बताउनुभयो।  

महेन्द्र चोकदेखि जलेश्वर महादेव मन्दिर जाने बाटो, खैरा चोक जाने बाटो, मटिहानी बसपार्क जाने बाटो, अस्पताल चोक जाने बाटो, परिक्रमा गाछी जाने बाटो र महादेव मन्दिरदेखि जलेश्वर नगरपालिकाको कार्यालयसम्म जाने बाटो सबैमा पसल राखिएको छ। हार्डवेयर, फलफूल, होटल, प्लाष्टिकका सामग्री बिक्री गर्ने पसल, तरकारी पसल, कपडा पसल गर्नेहरू बिहानैदेखि आ–आफ्ना सामान फिजाएर फुटपाथमै व्यापार गर्दछन्। यसरी फुटपाथलाई नै व्यापार गर्ने थलो बनाएकालाई कसैले केही नभनेपछि उनीहरूको मनोबल बढ्दै गएको स्थानीयको गुनासो छ । यहाँका जनप्रतिनिधि त्यही बाटो भएर आउजाउ गर्ने गरे पनि नदेखेजस्तो गर्ने गरेको स्थानीयको भनाइ छ । 

जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनारले नगर क्षेत्रभित्रको फुटपाथको अवस्थाबारे आफूलाई जानकारी रहेको बताउनुहुँदै फुटपाथ व्यवस्थित बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो। “बजार क्षेत्रभित्रका फुटपाथ खाली गराउने योजना बनिसकेको छ। यो साताभित्रै खाली गराउने कार्यको सुरुवात गरिने छ,” प्रमुख सोनारले भन्नुभयो, “फुटपाथ सर्वसाधारणलाई हिँड्डुलको सुविधाको लागि बनाइएको हो, सोही उद्देश्यका लागि फुटपाथ खाली गराएर प्रयोगमा ल्याउने कार्य छिट्टै हुनेछ।”