• १३ साउन २०८१, आइतबार

सरकारले कसैलाई भोकै बस्न दिने छैन : अर्थ मन्त्री शर्मा

blog

नरैनापुरको स्थलगत निरीक्षण गर्नुहुँदै अर्थमन्त्री जनार्दन शर्मा । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, भदौ १७ गते । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सरकारले कुनै पनि नागरिकलाई भोकै बस्न नदिने बताउनु भएको छ । स्थानीय सरकारले सुख्खा ग्रस्त क्षेत्र घोषित गरेको बाँकेको नरैनापुर गाउँपालिकाको शुक्रबार स्थलगत अनुगमन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

सुख्खाका कारण रोपाइँ गर्न नपाएका पीडित जनतालाई आवश्यक सहयोग गरिने बताउनुभयो । स्थानीयले धान उत्पादन नहुँदा भोकमरी हुने चिन्ता व्यक्त गरेपछि अर्थमन्त्री शर्माले सरकारले सहयोग गर्ने आश्वासन दिनुभएको हो । 

नरैनापुर क्षेत्रका अधिकांश जग्गा बाँझै रहेको आफूले प्रत्यक्ष देखेको जनाउँदै उहाँले यहाँका जनतालाई सहयोग गर्न तथा बाँझो जग्गालाई उपयोग गर्ने सम्बन्धमा मन्त्रिपरिषद्मा कुरा राख्ने र प्रधानमन्त्रीसँग पनि कुरा गर्ने बताउनुभयो ।

स्थानीय जनतालाई छिट्टै केही न केही सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै मन्त्री प्रभाकरले स्थानीय सरकार र प्रदेश सरकारले पनि तत्काल कदम चाल्नु पर्ने आवश्यकता औँल्याउनु भयो ।

गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै तत्काल ६ वटै वडामा १८ वटा डिप बोरिङको व्यवस्थासहित खाद्यान्नका लागि राहात प्याकेजको माग गर्नुभयो । अध्यक्ष शाहले अहिले नै केही परिवार भोकै बस्ने बाध्यतामा पुगेको जनाउँदै छिटो व्यवस्था नगरिए अवस्था विकराल बन्ने चेतावनीसमेत दिनुभयो । 

सो अवसरमा प्रदेशसभाका सांसद कृष्ण केसीले नरैनापुरका जनताको समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने माग गर्नुभयो । मन्त्री शर्माले सुख्खा ग्रस्त क्षेत्रको निरीक्षणसँगै नेपाल भारत सीमा नामा पुगेर त्यहाँको अवस्थाको समेत जानकारी लिनुभएको थियो ।