• ७ साउन २०८२, बुधबार

गाजामा भएको इजरायली आक्रमणमा १५ जनाको मृत्यु

blog

गाजा सिटी (प्यालेस्टिनी क्षेत्रहरू), साउन ६ गते । गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा १५ जनाको मृत्यु भएको र सेनाले मध्य सहर देइर अल-बलाहमा स्थलगत कारबाही विस्तार गरेको बताएको छ ।

एजेन्सीका प्रवक्ता महमुद बासलले गाजा सहरको पश्चिममा रहेको अल-सती शिविरमा इजरायली आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु र ५० जनाभन्दा बढी घाइते भएको बताउनुभयो । गाजाको अधिकांश जनसङ्ख्या २१ महिनाको द्वन्द्वमा कम्तीमा एक पटक विस्थापित भएको छ र भूमध्यसागरीय तटमा रहेको अल-सती शिविरले उत्तरबाट विस्थापित हजारौँ मानिसलाई पाल र अस्थायी आश्रयमा राखेको छ ।

बासलले देइर अल–बलाहमा थप दुई जनाको मृत्यु भएको बताउनुभयो । त्यहाँ इजरायली सेनाले आफ्नो स्थलगत कारबाही विस्तार गर्ने र धेरै क्षेत्र खाली गर्ने आदेश दिएको थियो । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसिएचए) ले यस क्षेत्रमा ५० हजारदेखि ८० हजार मानिस बसोबास गर्ने अनुमान गरेको छ र यस क्षेत्रलाई अहिलेसम्म अपेक्षाकृत सुरक्षित मानिएको थियो ।

करिब ३० हजार विस्थापन स्थलहरूमा बसिरहेका थिए । ओसिएचएले सम्पूर्ण गाजा पट्टीको लगभग ८८ प्रतिशत अब या त निकासी आदेश अन्तर्गत वा इजरायली सैन्य क्षेत्रभित्र रहेको बताएको छ । य २४ लाख जनसङ्ख्यालाई सँधै सङ्कुचित स्थानमा बस्न बाध्य पारेको छ । रासस/एएफपी