• १३ साउन २०८१, आइतबार

आयुर्वेदिक औषधि एलोपेथिक पसलमा

blog

गौर समाचारदाता

गौर, भदौ १७ गते । एलोपेथिक औषधि पसलमा नियमविपरीत आयुर्वेदिक औषधि बिक्री भइरहेका कारण आयुर्वेदिक औषधि विक्रेता मारमा परेका छन्। बिनाअनुमति जिल्लाका अधिकांश औषधि पसलमा आयुर्वेदिक औषधि बिक्री वितरण भइरहे पनि नियन्त्रण गर्ने निकाय उदासीन रहेको छ।

जिल्लाका विभिन्न ठाउँमा आयुर्वेदिक पसल सञ्चालन गर्दै आइरहेका विक्रेताको बिक्री एकदमै न्यून भएको नेपाल आयुर्वेदिक स्वास्थ्यकर्मी समाज रौतहटले जनाएको छ। जिल्लाका कतिपय ठाउ“बाट आयुर्वेदिक औषधि विक्रेता व्यवसाय छाडेर विस्थापित हुनपुगेको समाजका सरोज झाले बताउनुभयो। उहाँले औषधि व्यवस्था विभागका कर्मचारीका चरम लापरवाहीका कारण आयुर्वेदिक औषधि विक्रेता दिनानुदिन विस्थापित हुँदै गएको गुनासो गर्नुभयो। लामो समयदेखि आयुर्वेदमा अध्ययन गरी औषधि व्यवस्था विभागबाट पसल सञ्चालनको लागि अनुमति लिए पनि अवैध बिक्रीका कारण अन्य पेसामा लागेको गौतम झाले बताउनुभयो।

अर्का वाचस्पति मिश्रले अवैध बिक्री वितरणको सम्बन्धित निकायले अनुगमन गरी रोक लगाउनुपर्ने माग गर्नुभयो। एलोपेथिक औषधि पसलबाट आयुर्वेदिक औषधि बिक्रीमा रोक लगाइ औषधि व्यवस्था विभागबाट बजार अनुगमन गरी आयुर्वेदको क्षेत्रमा लागेका व्यक्तिलाई राहत दिलाउन नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज रौतहटका रामप्रवेश साहले माग गर्नुभयो।