लक्ष्मणदत्त पन्त
महेन्द्रनगर, भदौ १७ गते । सुदूरपश्चिमेलीको महान् पर्व गौरा बिहीबारदेखि विधिवत् रूपमा सुरु भएको छ। यहाँका पहाडदेखि तराईका जिल्ला देउडा भाकाबाट गुञ्जिन थालेका छन्।
भाद्र कृष्ण पञ्चमीका दिनदेखि गौरा पर्व सुरु हुने गर्छ। गौराको पहिलो दिन घरघरमा महिलाले तामाका भाँडामा बिरुडा (पाँच प्रकारको अन्न) भिजाएर पर्वको थालनी गर्छन्। यस दिन यहाँका महिलाले गहँु, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाँडामा भिजाउँछन्। यी पाँच अन्नलाई ‘बिरुडा’ भनिन्छ। पौराणिक कालमा गौरादेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी भगवान् शिव प्राप्त गरेको विश्वास गरिन्छ। त्यतिबेलादेखि नै यो परम्परा चल्दै आएको भनाइ छ। महिलाका लागि यो विशेष पर्व हो।
महिलाले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुहूर्तमा सामूहिक रूपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ। सप्तमीका दिन गौरा देवीलाई नजिकका मठमन्दिरमा भित्र्याएर पूजाअर्चना गरी महिलाले दुबधागो (घाँटीमा लगाउने रातो पहेँलो धागो) चढाउने गर्छन्। गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौराखलो (गौरा मनाउने स्थल)मा पूजाआजा गर्छन्। साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने धार्मिक परम्परा रहेको पण्डित लीलादत्त भट्टले बताउनुभयो।
यसै दिन महिलाले प्रसादका रूपमा बिरुडा ग्रहण गरेर घरपरिवारका सदस्यको टाउको, शरीरमा पुज्ने र निधारमा बिरुडा थापिदिने गर्छन्। महिलाले घरपरिवारमा सुख, शान्ति र परिवारका सदस्यको दीर्घायुका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता छ। बिरुडालाई प्रसादका रूपमा बाँड्ने चलन पनि छ। बिरुडा भुटेर खाने गरिन्छ। गौराका बखत सुदूरपश्चिममा निकै चहलपहल र रौनक हुन्छ। सुदूरपश्चिमेलीले दशैँभन्दा पनि बढी महत्त्वका साथ गौरा पर्व मनाउँछन् तर पछिल्ला दुई वर्ष भने कोरोना महामारीका कारण गौरा पर्व फितलो भएको थियो।
गौरामा एकैछिन भए पनि देउडामा रमाउन परदेशिएका पनि घरपरिवार सम्झिएर फर्किन्छन्। छिमेकी भारतका विभिन्न सहरमा मजदुरी गर्न गएका हजारौँ सुदूरपश्चिमेली यतिबेला सीमावर्ती नाकाबाट घर फर्किने गरेका छन्।
गौरा पर्वको प्रमुख आकर्षण देउडा हो। देउडामा पौराणिक कथा, देवीदेवताका गाथा, धार्मिक ग्रन्थ गाउने गरिन्छ। त्यतिमात्रै नभएर सामाजिक विकृतिविरुद्ध पनि देउडाका माध्यमले तीखो व्यङ्ग्य गरिन्छ। महिलाले यस अवसरमा आफ्ना सुखदुःख देउडाका माध्यमबाट व्यक्त गर्छन्। गौरामा केटाकेटीसँगै परिवारका सदस्यले नयाँ लुगा किन्ने र लगाउने चलन छ।
यहाँका केही सङ्घसंस्थाले यस अवसरमा हरेक वर्ष देउडा प्रतियोगिता आयोजना गर्ने गरेका छन्। सदरमुकाम महेन्द्रनगरसँगै जिल्लाका विभिन्न मठमन्दिर, मञ्च र सार्वजनिक मैदानमा सयौँको
सङ्ख्यामा देउडा खेल्ने र हेर्नेको घुइँचो लाग्ने गरेको छ। यसैबीच महाकाली साहित्य सङ्गमले बिहीबारदेखि भदौ २५ गतेसम्म महेन्द्रनगरमा गौरा महोत्सवको आयोजना गरेको छ। यस वर्ष सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वको बिदा कटौती गरेपछि चौतर्फी विरोध भएको छ। सुदूरपश्चिममा मात्रै नभएर केन्द्रीय राजधानी काठमाडौँसम्म देउडाको रौनक देख्न सकिन्छ।