• १५ वैशाख २०८२, सोमबार

दुई गोठ जल्दा १४ पशुचौपाया मरे

blog

आगलागीले ध्वस्त धुर्कोट गाउँपालिका –३ का अनन्तबहादुर बस्नेतको गोठ । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा, वैशाख १४ गते । गुल्मीमा एकै दिन दुई छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १४ पशुचौपाया मरेका छन् । आइतबार साँझ धुर्कोट गाउँपालिका –३ हाडहाडेका अनन्तबहादुर बस्नेतको ढुङ्गा माटोले बनेको दुई तले कच्ची गोठमा आगलागी हुँदा एउटा दुहुनो भैँसी र एउटा पाडो जलेर मरेको छ । 

आगलागीबाट गोठ र खोर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।  आगलागीबाट पाँच लाख रुपियाँ बराबरको क्षति भएको सारुले बताउनुभयो । त्यस्तै मरभुङ्गमा बिहान गोठमा आगलागी हुँदा १२ वटा पशुचौपाया जलेर मरेका छन् । 

मालिका गाउँपालिका–८ किलिबाङका तुलबहादुर घर्तिको ढुङ्गा माटोले बनेको गोठमा आगलागी हुँदा एक भैसी, एक भैसीको पाडी र खोरमा रहेका १० बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सारुले जानकारी दिनुभयो । 

खोरमा रहेका चार बाख्रा जलेर घाइते भएका छन् । घटना लगत्तै मरभुङ्ग प्रहरीचौकीबाट प्रहरी सहायक निरीक्षक दिपक शाहको कमाण्डमा पुगेको प्रहरी टोली र स्थानीयले आगो नियन्त्रणमा लिएको सारुले बताउनुभयो । गोठ र बाख्राको खोर पुर्णरुपमा जलेर नष्ट भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।