• १३ साउन २०८१, आइतबार

अठार वडा स्वास्थ्य संस्थाविहीन

blog

सर्लाही समाचारदाता

सर्लाही, भदौ १७ गते । सरकारले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरी नागरिकलाई प्राथमिक स्वास्थ्य उपचार सेवा प्रदान गर्ने लक्ष्य लिए पनि सर्लाहीका १८ वटा वडा अझै स्वास्थ्य संस्थाविहीन छन्। 

जिल्लाका ११ नगरपालिका र नौ गाउँपालिकामध्ये १४ वटा पालिकाका प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना भएका छन्। छवटा पालिकाका १८ वटा वडामा भने अझैसम्म स्वास्थ्य संस्था पुग्न सकेका छैनन्।  

जिल्लामा सबैभन्दा धेरै बागमती नगरपालिकाका छवटा वडामा स्वास्थ्य संस्था छैनन्। बागमतीको वडा नं. २, ६, ७, ८, ९ र ११ मा स्वास्थ्य संस्था नरहेको नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक पदम रायमाझीले जानकारी दिनुभयो।  रायमाझीका अनुसार वडा नं. १ मा ढुङ्ग्रेखोला स्वास्थ्य चौकी, वडा नं. ५ मा राजघाट स्वास्थ्य चौकी, वडा नं. १० मा शङ्करपुर स्वास्थ्य चौकी, वडा नं. १२ मा कर्मैया स्वास्थ्य चौकी तथा वडा नम्बर ३ र ४ मा सामुदायिक स्वास्थ्य एकाइ केन्द्र रहेका छन्। स्वास्थ्य संस्था नरहेका वडामा तत्काल स्वास्थ्य संस्था स्थापना गर्ने कुनै निर्णय नभएको स्वास्थ्य सहसंयोजक रायमाझीले बताउनुभयो। 

यस्तै लालबन्दी नगरपालिकाको वडा नम्बर ७ र ८, ईश्वरपुर नगरपालिकाको वडा नं. ७, ११ र १३, कविलासी नगरपालिकाको वडा नम्बर १ र १०, मलङ्गवा नगरपालिकाको वडा नं. ३ र ८, बरहथवा नगरपालिकाको वडा नं. ८ र रामनगर गाउँपालिकाको वडा नम्बर ३ र ७ स्वास्थ्य संस्थाविहीन छन्। यी वडामा नजिकैको वडामा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको पालिकाहरूले जनाएका छन्। 

सदरमुकाम मलङ्गवा नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक रामनन्दन राय यादवले नगरमा स्वास्थ्य संस्था नरहेको दुईवटा वडामध्ये वडा नं. ८ मा प्रादेशिक अस्पताल नै रहेकाले त्यहाँ स्वास्थ्य संस्था स्थापना नगरिएको बताउनुभयो। वडा नं. ३ का बासिन्दाले पनि नजिकै अर्को वडामा रहेको स्वास्थ्य संस्थाबाट सेवा लिइरहेका यादवले बताउनुभयो। 

लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक सुरेन्द्र खतिवडाले स्वास्थ्य संस्थाविहीन रहेको वडा नं. ७ र ८ का बासिन्दालाई वडा नं. ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमे नजिकैपर्ने भएकाले त्यहीँबाट स्वास्थ्य सेवा लिइरहेका जानकारी दिनुभयो। जनसङ्ख्या धेरै रहेको र भूगोल ठूलो रहेको भन्दै ईश्वरपुर नगरपालिकाले वडा नं. १२ कालिञ्जोरमा स्वास्थ्य चौकी भए पनि सो वडाको उत्तरी दुर्गम चुरे भेगका बासिन्दालाई ध्यानमा राखी पीपलदमारमा सामुदायिक स्वास्थ्य एकाइ, हरिपुर नगरपालिकाले वडा नं. ५, असन्मा गाउँमा आधारभूत स्वास्थ्य सेवा केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ र गोडैता नगरपालिकाले वडा नं. २ बेल्वाजब्दीमा स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेका छन्। 

सरकारले सबै वडामा स्वास्थ्य संस्था पु¥याउने लक्ष्य लिएपछि दुई वर्षअघि जिल्लाका अधिकांश पालिकाले स्वास्थ्य संस्था नरहेका वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेका हुन्। जिल्लामा २० पालिकाका दुई सय वडामध्ये १८५ वडामा भने स्वास्थ्य संस्था पुगेका छन्। 

सर्लाहीमा १५ वडा स्वास्थ्य संस्थाविहीन भए पनि सदरमुकाम मलङ्गवामा एउटा प्रादेशिक अस्पताल, लालबन्दी, हरिपुर, जमुनिया, अचलगढ र बरहथवामा गरी पाँच स्थानमा प्राथमिक स्वास्थ्य केन्द्र र ९५ वटा स्वास्थ्य चौकी तथा बाँकी आधारभूत स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ रहेका छन्। प्रायः सबैजसो वडामा स्वास्थ्य संस्था पु-याउन लागिपरे पनि दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा र आफैँले नियुक्त गरेर पारिश्रमक दिन सक्ने अवस्था नरहेकाले समस्या भइरहेको पालिकाले बताएका छन्।