• १६ भदौ २०८१, आइतबार

भरुवा बन्दुकसहित युवक पक्राउ

blog

भरुवा बन्दुकसहित पक्राउ गरेको युवा र भरुवा बन्दुक । तस्बिरः बेलिना थापा

बेलिना थापा

लमजुङ, भदौ १६ गते । लमजुङ प्रहरीले दुई थान भरुवा बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ । क्व्होलासोंथर गाउँपालिका-८ घाम्राङ घर भई वडा ९ साल्मे बस्ने २७ वर्षीय यमबहादुर राना मगरलाई प्रहरीले पक्राउ गरेको हो । भरुवा बन्दुक लुकाई छिपाई राखेको र स्थानीय मानिसलाई धाक धम्की दिने गरेको सुराकको आधारमा खोजतलास गरी पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताउनुभयो । उहाँका अनुसार इलाका प्रहरी कार्यालय भोर्लेटार र नजिकैको प्रहरी चौकीबाट खोजतलास गर्नेक्रममा एउटा लोड गरेको र एउटा बनाउँदै गरेको अवस्थामा पक्राउ गरिएको छ ।

लोड अवस्थामा रहेको भरुवा बन्दुक अनलोड गर्दा बन्दुकमा ९ वटा छर्राको १८.५ ग्राम, कालो बारुद ४.९ ग्राम र कपडाको गज २ थान बरामद गरेको प्रहरीले जनाएको छ । रानामगरविरुद्ध भदौ १५ गते बुधबार लमजुङ जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सूचना अधिकारी जगदीश रेग्मीले बताउनुभयो ।

मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ६ को हातहतियार तथा खरखजाना सम्बन्धी कसुरअनुसार हतियार उत्पादन वा निर्माण गरेको भेटिएमा १० वर्षसम्म कैद सजाय र एक लाख रुपियाँसम्म जरिवानाको व्यवस्था छ । विना इजाजत घरमा राखेको पाइएमा ७ वर्षसम्म कैद सजाय र ७० हजार रुपियाँसम्म जरिवाना हुनसक्ने उल्लेख छ । अवैध हतियार राख्ने, लिएर हिँड्ने गरेको पाइएमा ५ वर्षसम्म कैद सजाय र ५० हजार रुपियाँसम्म जरिवानाको व्यवस्था छ ।