• १६ भदौ २०८१, आइतबार

एउटै पार्टीका एक सय एक जना सांसदका आकाङ्क्षी

blog

अर्जुन काफ्ले/राधाकृष्ण डुम्रे 

स्याङ्जा, भदौ १६ गते । आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनका लागि स्याङ्जामा राजनीतिक सरगर्मी बढेको छ। दलहरूले केन्द्रको निर्देशनअनुसार उम्मेदवार चयन गर्ने प्रक्रिया अगाडि बढाएसँगै राजनीति सरगर्मी बढेको हो। 

दुईवटा प्रतिनिधिसभा सदस्य र चारवटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको यस जिल्लामा नेपाली कांग्रेसबाट प्रत्यक्ष र समानुपातिकका लागि १०१ जनाले सांसद बन्ने आकाङ्क्षा देखाएका छन्। 

कांग्रेस पार्टी केन्द्रीय समितिले सङ्घ र प्रदेशका लागि उम्मेदवार छनोट गरी पठाउन परिपत्र गरेपछि सांसद बन्ने दौडमा आकाङ्क्षीहरू धेरै देखिएका हुन्। सङ्घ र प्रदेशबाट प्रत्यक्षमा एक महिलासहित तीन जना र समानुपातिकमा एक महिलासहित दुई जना सिफारिस गरी पठाउनुपर्ने व्यवस्था छ। 

केन्द्रको परिपत्रअनुसार ३० जनाको नाम सिफारिस हुनुपर्नेमा आकाङ्क्षी १०१ जनाको नाम सिफारिस गरिएको छ। ७१ जनाको नाम हटाउन क्षेत्र र प्रदेशलाई कठिन बनाएको हो। 

स्याङ्जा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष सङ्घीय सांसदका लागि आठ जना, समानुपातिकका लागि तीन र क्षेत्र नम्बर २ बाट १० जना प्रत्यक्ष, चार जनाले समानुपातिकमा आकाङ्क्षा देखाएको कांग्रेस स्याङ्जाका प्रवक्ता भरतप्रसाद लम्सालले बताउनुभयो। 

यस्तै स्याङ्जा क्षेत्र नम्बर १ को प्रदेश (क) बाट प्रत्यक्षमा नौ जना र समानुपातिकबाट आठ जनाले आकाङ्क्षा देखाएका छन् भने प्रदेश (ख) बाट प्रदेश सांसदका लागि प्रत्यक्ष आठ र समानुपातिकबाट १४ जनाले आकाङ्क्षा देखाएका छन्। 

यस्तै क्षेत्र नम्बर २ (क) बाट आठ जना प्रत्यक्ष र समानुपातिकमा ११ जनाले आकाङ्क्षा देखाएका छन् भने क्षेत्र नम्बर २ (ख) बाट आठ जनाले प्रत्यक्ष र समानुपातिकमा १० जनाको दाबी रहेको छ। 

यहाँ केन्द्रीय उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ र युवा उद्यमी खुमाप्रसाद अर्यालले दुवै क्षेत्रमा सङ्घीय सांसदका लागि नाम दर्ता गराउनुभएको छ। गुरुङ र श्रेष्ठले क्षेत्र नम्बर १ बाट समानुपातिकमा पनि नाम दर्ता गराउनुभएको छ।

प्रदेश सांसद मेखलाल श्रेष्ठले क्षेत्र नम्बर १ (क) र भगवतप्रकाश मल्लले क्षेत्र नम्बर २ बाट प्रत्यक्ष उम्मेदवारका आकाङ्क्षा देखाउनुभएको छ। यता नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलले पनि उम्मेदवार छनोट प्रक्रियामा लागिपरेका छन्।