• १३ साउन २०८१, आइतबार

विद्युत् अनियमितताका कारण सेवा प्रभावित

blog

रवीन्द्र उप्रेती

बर्दिबास, भदौ १६ गते । पटक–पटक विद्युत् जाने समस्याले महोत्तरीको उत्तरी क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ। विद्युत् अनियमितताले उपचारदेखि व्यवसायसम्म प्रभावित बनेका छन्। लामो समयदेखि विद्युत् अनियमित भएको सेवाग्राहीको गुनासो छ। यस क्षेत्रमा १२ घण्टासम्म लाइन जानु सामान्य भइसकेको छ। लाइन आइहाले पनि कुन बेला जाने हो भन्ने अनिश्चित हुँदा जिल्लाको उत्तरी भेगका ३० हजार परिवार समस्यामा परेका छन्।

बर्दिबासस्थित शुभस्वास्तिक अस्पतालका व्यवस्थापक दीपेन्द्र ढकालका अनुसार पटक–पटक विद्युत् जाने कारणले बिरामीदेखि स्वास्थ्यकर्मीसम्म सास्तीमा छन्। लाइन नहुँदा शल्यक्रिया, ल्याब, आईसीयूजस्ता स्वास्थ सेवाका अनेकौँ सेवा प्रभावित भएका छन्। शुभस्वास्तिक अस्पतालमा दैनिक करिब चार सय बिरामीको चाप हुनेगरेको छ। ढकालका अनुसार विकल्पमा अस्पतालले जेनेरेटरको व्यवस्था गरेको त छ तर यो धेरै खर्चिलो हुने गरेको छ। “चिकित्सा सेवाका सबै उपकरण जेनेरेटरले धान्दैनन्, विद्युत् सप्लाई नै चाहिन्छ,” ढकालले भन्नुभयो, “लाइन अनियमित हुँदा सेवा अस्तव्यस्त हुने गरेको छ।” 

विद्युत् अवरोधले बैङ्किङ र प्रशासनिक सेवा पनि प्रभावित छन्। बर्दिबासमा दर्जनभन्दा बढी बैङ्कका शाखा कार्यालय छन्। तिनमा दैनिक चार हजारभन्दा बढी सेवाग्राहीको उपस्थिति रहन्छ। राष्ट्रिय वाणिज्य बैङ्कको बर्दिबास शाखामा दैनिक तीन सयभन्दा बढीले सेवा लिन आउने गरेको सह–प्रबन्धक रामहरि भुजेलले बताउनुभयो तर विद्युत् अनियमितताले बैङ्किङ सेवालाई असहज पारेको छ। भुजेलका अनुसार सेवाग्राहीको लाम बढेको बेला झ्याप्प लाइन गइदिन्छ। नेट र कम्प्युटर बन्द हुन्छन् र सेवा ठप्प हुन्छ। “जेनेरेटर चलाउँदा र फेरि कम्प्युटर खोलुञ्जेल त बैङ्कको छिटोछरितो भनिएको सेवा नै खजमजिन्छ,” सहप्रबन्धक भुजेलले भन्नुभयो। 

इलाका प्रशासन कार्यालय गौशालाका प्रमुख हेम कार्कीका अनुसार विद्युत् अनियमितताले कर्मचारीदेखि सेवाग्राहीसम्मलाई दिक्क पारेको छ। गौशालास्थित नेपाल विद्युत् प्राधिकरणको शाखा कार्यालयले केही समयलाई सेवा अनियमित भएको स्वीकारेको छ। शाखा प्रमुख प्रवीण झाका अनुसार अहिले दैनिक दुईदेखि पाँच घण्टासम्म विद्युत् जाने गरेको छ। उहाँले सुरुमा तीव्र गतिमा चलेका हावाका कारण र अहिले र वर्षाले गर्दा सेवा प्रभावित हुने गरेको बताउनुभयो। 

उहाँका अनुसार यसअघि हावाले तार हल्लाउने, स्पार्क हुने, हरियो रुखमा छोएर ट्रिप जाने कारणले आपूर्ति अवरोध हुने गरेको थियो। त्यस्तै पानी पर्दा विद्युत् प्रसारणका कतिपय पोलमा पीन लिकेज हुँदा ‘ट्रिप’ हुने गरेको छ। जसका कारण गौशाला शाखाअन्तर्गत बर्दिबास, भङ्गाहा, औरही, रामगोपालपुर, सोनमा, समसी र गौशाला नगरपालिकाका ३० हजारभन्दा बढी विद्युत् ग्राहक प्रभावित भएका छन्।  “विद्युत पोलमा जडान भएका ५० जति पीन र डिस फेर्न नसक्दा पनि केही समस्या भएको हो,” झाले भन्नुभयो, “यो समस्या यसै साता समाधान गर्ने तयारीमा छौँ।” लामो समय लाइन कट्दा मोबाइल र इन्टरनेट सेवासमेत ठप्प हुने गरको छ। फनिर्चर उद्योग, कुटानीपिसानी मिल, ग्रील कारखाना जस्ता सानाठूला गरी २५० भन्दा बढी उद्योग सञ्चालकले गरिखान नपाएको गुनासो पोखेका छन्। 

प्राधिकरणका गौशाला शाखा प्रमुख झाका अनुसार लाइन अनियमित हुँदा सेवाग्राही मात्र होइन, प्राधिकरण स्वयं पनि मर्कामा छ। “विद्युत् महशुलबापत गौशाला शाखाले दैनिक १५ लाख रुपियाँ सङ्कलन गर्दै आएको छ,” उहाँले भन्नुभयो, “तर प्रसारण अनियमित हुँदा विद्युत् खपत कम हुँदा महसुल सङ्कलन आधामा झर्ने गरेको छ।”