• १३ साउन २०८१, आइतबार

कानुनविपरीतका संरचना हटाउन कार्यदल

blog

राममणि दाहाल 

हेटौँडा, भदौ १६ गते । देशका नगर क्षेत्रहरूमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना र नक्सा स्वीकृतिबिना बनेका संरचना हटाउने लहर चलिरहेको समयमा हेटौँडा उपमहानगरपालिकाले नगर क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ।

उपमहानगरको नगर कार्यपालिकाको बुधबार बसेको बैठकले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना र नक्सा स्वीकृतिबिना बनेका संरचना हटाउन ३५ दिने सूचना जारी गर्ने निर्णय गरेको छ। उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बैठकले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका र नक्सा स्वीकृतिबिना बनेका संरचनाको लगत तयार गर्न वडाध्यक्षको संयोजकत्वमा वडा नं. १, २ र ४ का वडासहित रहेको कार्यदल गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो।

तर, उपमहानगरपालिकाले बनाएको कार्यदलको संयोजक हेटौँडा उपमहानगरपालिका वडा नं. १० का वडाध्यक्ष फुर्वा दोर्जे तामाङ नक्सा स्वीकृतिबिनै व्यावसायिक भवन बनाउने विद्यालयका अध्यक्ष हुनुहुन्छ। वडाध्यक्ष तामाङ अध्यक्ष रहेको हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविले नक्साबिनै व्यावसायिक भवन बनाएर वर्षौंदेखि भाडामा लगाउँदै आएको छ।

वि.सं. २०६० देखि नै भवन निर्माण गरी सटर कोठा भाडामा लगाउँदै आएको विद्यालयले यसअघि ३० वटा र पछिल्लो पटक व्यावसायिक प्रयोजनका लागि ४३ कोठे सटर उपमहानगरपालिकाबाट नक्सा स्वीकृतिबिनै बनाएको छ।

 विद्यालयका पूर्वतर्फ भैरवरोड र पश्चिमतर्फ पारिजातपथमा निर्माण गरिएको व्यावसायिक भवनको भदौदेखि भाडा लिने गरी सम्झौता भएको विद्यालयले जनाएको छ। नक्साबिनै आफू अध्यक्ष रहेको विद्यालयको खुला स्थानमा व्यावसायिक भवन बनाउने वडाध्यक्षलाई कार्यदल संयोजक बनाएपछि कार्यदल नै विवादमा तानिएको छ।

उपमहानगरका प्रवक्ता न्यौपानेले नक्सा एउटा बनाउने र नक्साविपरीत संरचनाहरू बनाउने प्रवृत्ति बढ्दै जाँदा आवागमनमा समस्यासँगै सहरको सौन्दर्यसमेत गुम्दै गएकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका र नक्सा स्वीकृतिबिना बनेका संचरना हटाउने निर्णय गरिएको बताउनुभयो।

यस्तै उपमहानगर क्षेत्रबाट उत्पादन हुँदै आएको फोहोर राप्ती खोलामा व्यवस्थापन गर्दै आएकोमा उपमहानगरले बढ्दो जनसङ्ख्यासँगै फोहोर उत्पादन बढ्दै गएको भन्दै नगरका पश्चिमी, दक्षिणी र पूर्वी क्षेत्रको फोहोर व्यवस्थापन गर्न उपयुक्त स्थान खोजी गर्न उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा कार्यदल गठन गरेको छ।  

कार्यदलले उपयुक्त स्थानको पहिचानसहित आवश्यक पूर्वाधार तयार गर्न सिफारिस गर्नेछ। उपमहानगरपालिकामा रहेको पर्यटन समितिमा विज्ञका रूपमा भागीरथ शर्मा, केदार न्यौपाने र सिर्जना नेपाललाई राख्ने निर्णय गरेको छ।