संयुक्त राष्ट्रसङ्घ, भदौ १५ गते । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेस आगामी हप्ता पाकिस्तानको भ्रमणमा जानुहुने भएको छ ।
पाकिस्तानमा केही हप्ता यतादेखिको बाढी पहिरोले पुर्याएको क्षतिका समयमा पाकिस्तानी सरकार र त्यहाँका नागरिकलाई सान्त्वना दिनका लागि महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको भ्रमण गर्न लाग्नुभएको महासचिव गुटरेसका प्रवक्ताले जानकारी दिनुभएको छ ।
उहाँ आगामी सेप्टेम्बर ९ मा पाकिस्तान पुग्नुहुने उहाँका प्रवक्ता स्टेफन डुजारिकले जानकारी दिनुभएको हो । महासचिव गुटरेसले पाकिस्तानमा बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गर्नुहुने पनि उहाँले जानकारी दिनुभएको हो ।
पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढी पहिरोमा परेर एक हजार एक सयभन्दा बढी मानिसको मृत्यु भएको छ । यो बाढीमा परेर तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । यहाँ गएको हप्तादेखि अविरलरुपमा वर्षा भएको छ ।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर ती व्यक्तिको मृत्यु भएको हो । यहाँका एक हजार छ सय ३४ जना घाइते अस्पतालमा रहेका छन् ।