• १२ असार २०८१, बुधबार

हेलम्बु र मेलम्चीमा बाढीले क्षति

blog

चित्र मिजार

सिन्धुपाल्चोक, भदौ १४ गते । शुक्रबार र शनिबार परेको अविरल वर्षासँगै आएको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा क्षति पुगेको छ। मेलम्ची र हेलम्बुका नदी तटीय क्षेत्रका स्थानीय बाढीका कारण अहिले घर छोडेर सुरक्षित स्थानमा गएका छन्। गत वर्ष असार १ गतेको मेलम्ची बाढीले विस्थापित भएका मेलम्ची र हेलम्बुवासी गएको हिउँदमा बाढीले पुरेको घर सफा गरेर बसेका थिए। शनिबार र आइतबार वर्षासँगै आएको बाढीका कारण पुनः घर छोडेर हिँड्नुपरेको मेलम्चीका बालचन्द्र सापकोटाले दुखेसो गर्नुभयो। हेलम्बु र मेलम्ची क्षेत्रका खोलामा आएको बाढीले ग्रामीण सडक र धानबालीमा क्षति पुगेको सापकोटाले बताउनुभयो। 

हेलम्बु गाउँपालिका–३ मा पहिरो र बाढीले धान खेतीमा क्षति पुगेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो। मेलम्चीको सिमखेतमा बाढीपहिरोले र पाँचपोखरी थाङ्पाल जाने मेलम्ची–तिपेनी सडक पहिरोले अवरुद्ध भएको छ। सिमखेतका सडक सञ्चालनका लागि मर्मत सम्भारको कार्य भइरहेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभयो। मेलम्ची र इन्द्रावती नदीमा हिउँदमा निर्माण गरिएको पक्की पर्खाल बगाउनुका साथै धानबालीमा क्षति पु-याएको छ। बाहुनेपाटी, भीमटार, ढाँडखोला आसपास नदी किनाराका धानखेतमा बाढी पसेर क्षति गरेको छ। 

अरनिको राजमार्ग र बाह्रबिसे–कोदारी लोकमार्गका विभिन्न खण्डमा पहिरोले अवरुद्ध भएको छ। बलेफी–जलबिरे, जलबिरे–कात्तिके–तेम्बाथान सडकमाथिबाट पहिरो आउने र तलबाट भासिने भएपछि आवागमनमा समस्या भएको जलबिरेका राम थापाले जानकारी दिनुभयो। बाह्रबिसेदेखि त्रिपुरासुन्दरी गाउँपालिकाको पिस्कर जोड्ने सडक भासिने र पहिरो जाने भएपछि तीन दिनअघिबाट सडक बन्द भएको छ।