• १३ साउन २०८१, आइतबार

बीउ उत्पादनमा आत्मनिर्भर बन्दै भेरी नगरपालिका

blog

नगरपालिकाले उत्पादन गरेको प्याजको बिउ उत्पादन क्षेत्र । तस्बिर : सहदेव बस्नेत

सहदेव बस्नेत

जाजरकोट, भदौ १३ गते । आगामी पाँच वर्षमा सबैखाले बीउ उत्पादनमा आत्मनिर्भर बन्ने भेरी नगरपालिकाले लक्ष्य लिएको छ । बीउको खोजीमा व्यावसायिक किसानलाई नगरपालिकाभन्दा बाहिर जानुपर्ने अबस्थाको अन्त्य गर्न भेरी नगरपालिकाले सो लक्ष्य लिएको हो ।

नगर कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले नगरपालिकालाई मकैं, गहुँ, धान, प्याज, मुला, केराउजस्ता विभिन्न जातको तरकारी, आलुको बीउ उत्पादनमा आत्मनिर्भर बनाउन लागेको जानकारी दिनुभयो । आर्थिक विकासको मुख्य स्रोत कृषि भएको बताउँदै शाखा प्रमुख अधिकारीले कृषि पेशाबाटै बेरोजगारी समस्यालाई समाधान गर्न सकिने भएको हुँदा नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको जानकारी दिन्भयो ।

शाखा प्रमुख अधिकारीले दिएको जानकारीअनुसार नगर कृषि शाखाले भेरी नगरपालिका –७ को रुपाकोटमा १० हेक्टर जमिनमा मकैको बिउ उत्पादन भइरहेको छ । त्यस्तै भेरी नगरपालिका –१ कालेगाउँ, ३ स्याँला र १० को सानीचौरमा ५ हेक्टर जमिनमा गहुँको बीउ उत्पादन भइरहेको छ । 

भेरी नगरपालिका –३ होलुजिउलामा १५ हेक्टर जमिनमा धानको बीउ उत्पादन भइरहेको छ । त्यसैगरी भेरी नगरपालिका –२ बाहुनथानामा २ रोपनी र २ कै तिलिङ्गेमा २ रोपनी जग्गामा तरकारीको बीउ उत्पादन भइरहेको छ । नगर कृषि शाखाले भेरी नगरपालिका –६ भेरे र भेरी नगरपालिका –२ तिमिलेमा २ रोपनी जग्गामा शुरु गरेको बीउ आलु हाल २० रोपनी जग्गामा फैलिएको छ ।

धान, मकै र आलुको बिउ उत्पादन गर्न आर्थिक बर्ष २०७७–७८ बाटै पकेट विकास कार्यक्रम सञ्चालन गरिएको नगर कृषि शाखाले जनाएको छ । अन्य बालीको मूल बिउको मुल्यमा ५० प्रतिशत अनुदान दिंदैआएको नगर कृषि शाखा प्रमुख अधिकारीले बताउनुभयो । 

नेपाल सरकारबाट मान्यता प्राप्त बिउ उत्पादन फर्म तथा नेपाल सरकारको मापदण्ड पूरा गरेका व्यक्तिगत कृषि फर्म तथा समुह, सहकारीलाई नगर कृषि शाखाले मल बीउको स्रोतका रुपमा लिएको छ ।

यस वर्ष प्याजको बिउ झण्डै १ क्विन्टल उत्पादन भएको छ भने मुलाको बीउ ५० किलो, केराउको बीउ १ क्विन्टल उत्पादन भएको बताउनुभयो ।