• १३ साउन २०८१, आइतबार

बाँसको पुलले दिएको छ सुविधा

blog

लहान समाचारदाता

लहान, भदौ १३ गते । सिरहा र धनुषा जिल्लाको सिमाना जोडिएको कमला नदीमा निर्माण भएको पुल सञ्चालनमा नआउँदै दुईवटा पिल्लर (पाया) गत वर्षको बाढीमा धसिए। पिल्लर धसिएकाले हुलाकी मार्गबाट जनकपुर जानेहरूले एक सय रुपियाँ तिरेर मोटरसाइकल वारपार गर्नु परिरहेको छ। 

सिरहा बजारबाट जनकपुर २९ किलोमिटर मात्रै रहे पनि स्थानीयवासीलाई घुमेर जनकपुर जाँदा एक सय रुपियाँभन्दा बढी खर्च हुने गरेको छ। स्थानीय युवाले कमला नदीमा बाँस जोडेर बनाएको पुलबाट जानआउन गर्न एक सय रुपियाँ लिने गरिएको छ। यसले निकै सजिलो भएको स्थानीयवासी नेपाल पत्रकार महासङ्घ सिरहाका पूर्वअध्यक्ष देवकुमार यादवले बताउनुभयो। 

यादवका अनुसार बाह्र वर्षपहिले ठेक्का लागे पनि निर्माण कार्यमा ढिलासुस्ती हुँदा स्थानीयवासीले सङ्घर्ष समिति गठन गरेर पटकपटक सरोकारवाला निकायहरूलाई दबाब दिएपछि पुल निर्माण गरिएको थियो। तर, पुल सञ्चालनमा नआउँदै दुईवटा पिल्लर (पाया) धसिएपछि सारा खुसी उड्यो। अनि स्थानीय मलाह समुदायका युवाले बाँस जोडेर मोटरसाइकलसम्म वारपार गर्न सहज बनाइदिएका छन्। 

पुल निर्माण कार्यका ठेकदारलाई सरकारले छानबिन गरी कारबाही गर्नुको साथै तत्कालै धसिएको पिल्लर पुनः निर्माणका लागि कार्य अघि बढाउनुपर्ने हुलाकी सडक सङ्घर्ष समिति निर्माण दबाब समूहका अध्यक्ष मनोजकुमार पासवानले बताउन्भयो। 

सिरहा नगरपालिका प्रमुख नवीनकुमार यादवले पुलको धसिएको पाया पुनर्निर्माण गरी कार्य अघि बढाउन सम्बन्धित निकायमा घच्घचाउने काम भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “पुनः निर्माणका लागि सिरहा–३ का सङ्घीय सांसद लीलानाथ श्रेष्ठ र ४ का सांसद राजकिशोर यादवले समेत पहल गरिरहनुभएको छ।”

“कमला नदीको पुल सञ्चालनमा आएको भए हुलाकी मार्गको प्रयोग गरेर बस र ठूला सवारीसाधनहरू सञ्चालन भइरहन्थे। सिरहा, सप्तरी र धनुषा तीनै जिल्लाका स्थानीयहरूको राजमार्ग प्रयोग गर्नुपर्ने बाध्यता पनि हटिसकेको हुन्थ्यो,” स्थानीयवासीले भन्नुभयो।