• ११ असोज २०८१, शुक्रबार

गाउँ–गाउँमा सडक

सुविधाभन्दा हिलो र धुलो धेरै

blog

कविराज घिमिरे

हिले, भदौ १२ गते । दुई दशक यताको तथ्याङ्क हेर्ने हो भने धनकुटा जिल्लामा करिब एक हजार पाँच सय किलोमिटरभन्दा बढी सडक खनिएको छ। धनकुटाका गाउँगाउँ मात्र नभई टोलटोलसम्म सडक पुगेको छ तर सडकको स्तरोन्नति हुन नसक्दा बर्खामा हिलो त हिउँदमा धुलो हुँदा सडक सञ्चालनमा निक्कै समस्या हुने गरेको छ। 

ट्रयाक खोलिएका सडक मात्र नभई ठूला र महत्वपूर्ण सडकको समस्या यही छ। हिउँदमा जसोतसो सञ्चालनमा आउने सडक बर्खामा भने प्रायः बन्द हुने गरेका छन्। यसरी सञ्चालन हुने सडकमा समेत यात्रुले निक्कै सास्ती भोग्नु परेको छ। बिरामी पर्दा एम्बुलेन्स सञ्चालन गर्न, गाउँसम्म दैनिक उपभोग्य सामग्री पु-याउन तथा गाउँमा उत्पादित कृषिजन्य उत्पादन बजारसम्म पु-याउन मद्दत पुग्ने भनेर खनिएका यी सडकमा अहिले ओहोरदोहोर गर्न समस्या भएको स्थानीयको भनाइ छ। एम्बुलेन्स पनि सहज रूपमा सञ्चालनमा आउन नसक्ने भएकाले बिरामी र सुत्केरीलाई अस्पतालसम्म पु-याउन समस्या हुने गरेको धनकुटाको साँगुरीगढी गाउँपालिका–५ का स्थानीय छत्र याख्खाको भनाइ छ।

त्यसो त धनकुटा सदरमुकामबाट ग्रामीण क्षेत्रका महत्वपूर्ण बजार र अन्य जिल्ला जोड्ने ठूला लगानीका सडकको अवस्था नाजुक छ। बर्खा लागेसँगै पहिरो र कतिपय सडक हिलोले गर्दा सवारीसाधन सञ्चालनमा समस्या हुने गरेको छ। धनकुटाको भेडेटारबाट बुधबारे हुँदै पाँचथर, मूलघाटबाट पाँचथर जाने सडक तथा हिले–छिन्ताङ सडक खण्ड, त्रिशूले–अर्खौले सडक खण्ड, जोरपाटी–चुलाचुली सडक खण्ड, मूलघाट–सफाइटार सडक–खण्ड जोड्ने सडकहरू हिलाम्ये छन्। त्यस्तै कोसी राजमार्गअन्तर्गत धनकुटाको कुवापानीदेखि हिलेको तोङ्वा चोकसम्मको बाटो पनि उस्तै छ। पानी परेको बेला यातायात सञ्चालन नहुने तथा भइहाले गाडी फसेर घण्टाँै जाम हुने गरेको छ। यी सडकमध्ये केही सडक निर्माणाधीन अवस्थामा छन् भने अधिकांश सडक स्तरोन्नति हुन नसक्दा स्थानीयवासी बर्खामा हिलो तथा हिउँदमा धुलोको समस्या भोग्न बाध्य छन्। 

त्यसो त एउटै सडकमा करोडौँ रुपियाँ खर्च भएको छ। बर्सेनि अलिअलि गरी आएको बजेटले अघिल्लो वर्ष गरिएको मर्मत पछिल्लो बर्खाको पानीले सबै भत्काएर उस्तै बनाउने गरेको छ। सडक खन्नु र बनाउनु फरक कुरा भएको धनकुटा बहुमुखी क्याम्पसका ग्रामीण विकास विषयका उपप्राध्यापक किरण घिमिरेको तर्क छ। कनिका छरे जसरी गरिएको लगानीले सडकको स्तरोन्नति हुन नसकेको उहाँको भनाइ छ। थोरै लगानीका धेरै बाटो खन्नेभन्दा पनि धेरै लगानी गरेर गुणस्तरीय बाटो निर्माण गर्नुपर्ने घिमिरेले बताउनुभयो। “हामीले सडक त माग्याँै तर गुणस्तरीय सडक मागेनौँ, हाम्रा सडक खन्ने इन्जिनियर एस्काभेटर ड्राइभर नै भए, त्यसैले सडकको दीर्घकालीन विकास हुन सकेन” उहाँले भन्नुभयो। ‘अहिले नै सडकको बारेमा नसोचे दीर्घकालसम्म सडकको समस्या समाधान हुँदैन, त्यसैले सडकको बारेमा सम्बन्धित निकायले गम्भीर भएर अहिले नै सोच्नुपर्छ’ उहाँले थप्नुभयो।

सडकको समस्यालाई मध्यनजर गर्दै जिल्ला समन्वय समिति धनकुटाले भने अब सडकको ट्रयाक खोल्ने काम सकिएकाले सडकको स्तरोन्नति गर्न पहल गर्ने बताउँदै आएको छ। सडकको अनुगमन गर्ने बजेटका लागि पहल गर्ने तथा स्थानीय तहसँग समन्वय गरेर सडकको समस्या समाधान गर्ने जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ बताउनुहुन्छ। यसअघि नै तत्कालीन जिल्ला विकास समितिले नयाँ ट्रयाकमा लगानी बन्द गरी पुराना सडकको स्तरोन्नति गर्ने निर्णय गरेको थियो तर जिल्ला विकास समिति खारेज भए र स्थानीय तह गठन भएपछि स्थानीय तहले पुन नयाँ सडक खनेकाले समस्या बल्झिएको हो। अहिले न त नयाँ सडक नै राम्रोसँग सञ्चालन हुने अवस्थामा छन् न त पुरानो सडक नै सञ्चालन हुने अवस्थामा छन्। त्यसले अब भने स्थानीय तहले नयाँ सडकभन्दा पनि पुराना सडकको स्तरोन्नतितर्फ ध्यान दिन आवश्यक रहेको स्थानीयको बुझाइ छ।