• ६ साउन २०८२, मङ्गलबार

उर्लाबारी नगरपालिकामा बसपार्ककाे शिलान्यास

blog

हरिप्रसाद कोइराला

उर्लाबारी, साउन ५ गते । मोरङको उर्लाबारी नगरपालिकामा नयाँ बसपार्ककाे शिलान्यास गरिएको छ । 

नगर प्रमुख गङ्गाप्रसाद खरेलले आइतबार उर्लाबारी-६ मा बसपार्क शिलान्यास गर्नुभएको हो । उहाँले शिलान्यास कार्यक्रममा बोल्दै नगरको बेरुजु ३८ करोडबाट घटाएर १६ करोडमा झारेको बताउनुभयो । नगर प्रमुख खरेलले नगरलाई भ्रष्टाचार मुक्त बनाउन प्रयास भइरहेको बताउँदै सुशासन कायम गर्नसके भ्रष्टाचार आफैं घट्दै जाने र शुसासन पहिलो सर्त भएको उल्लेख गर्नुभयो ।

उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले १२ करोड ९३ लाख रुपियाँको डिपिआर बनेको जानकारी दिँदै ठेक्का ११ करोड तीन लाखमा लागेको बताउनुभयो । नगर विकास कोषको ६० प्रतिशत ऋण, ३० प्रतिशत नगरको लगानी र नगर विकास कोषको १० प्रतिशत अनुदान सहयोगमा बसपार्क निर्माणको स्रोत सुनिश्चित गरिएको जानकारी दिनुभयो । उहाँले निर्माण कम्पनीले काम समयमा सके रिवार्ड पाउने र ढिलो गरे क्षतिपूर्ति तिर्नुपर्ने बताउनुभयो ।

निर्माण अवधि १८ महिना भए पनि साइट ,स्रोत र प्राविधिक रूपमा कुनै समस्या नभएकोले बसपार्क १२ महिनामा निर्माण गर्न सकिने गुप्ताको भनाइ थियो। निर्माण कम्पनी अभि डिजाइनर्स डेभलपर्स प्रालिका प्रतिनिधि अङ्कुर गौतमले निर्धारित समय भन्दा अगावै आयोजना सम्पन्न गर्ने बताउनुभयो ।

उर्लाबारी-६ का वडाध्यक्ष चिन्तामणि पौडेलको सभापतित्वमा भएको शिलान्यास कार्यक्रममा उपप्रमुख मीमाकुमारी खतिवडा, राजनीतिक दलको प्रतिनिधित्व गर्दै एमालेका उर्लाबारी नगर अध्यक्ष निरोज तिम्सिनाले बोल्नुभएको थियो । 

११ करोड ३ लाख ८५ हजार ८८० रुपियाँको लागतमा निर्माण हुने बसपार्क उर्लाबारी ६ को  १ बिघा १३ कट्ठा जग्गामा निर्माण हुने भएको हो ।