• १३ साउन २०८१, आइतबार

काठ तस्करीमा सङ्गठित गिरोह

सोह्र घरमा छापा, सय क्यूफिट काठ बरामद

blog

बर्दिबास नगरपालिका –१० मधवटारे टोलबाट वनकर्मीद्वारा बरामद गरेका चोरीका काठ । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दिबास, भदौ ११ गते । डिभिजन वन कार्यालय महोत्तरीले बर्दिबास-१० खयरमारास्थित जंगली क्षेत्र नजिकको माधबटारे बस्तीबाट साखु जातका करिव एक सय क्यूफिट बराबरका काठ नियन्त्रणमा लिएको छ । बरामद गरिएका काठमा २० थान गोलिया तथा विभिन्न साइजका २२ थान चिरान रहेको छ । 

‘वन संरक्षण एवम् चोरीतस्करी नियन्त्रण’ अभियान अन्तर्गत डिभिजन वन प्रमुख (डिएफओ) सन्तोष झाको कमाण्डमा सुरक्षाकर्मी र सशस्त्र वन रक्षकसहित शुक्रबार अपरान्ह घटनास्थल पुगेको टोलीले ७ घण्टा लगाएर बस्तीका १६ घरमा तलासी लिएको थियो । 


यस क्षेत्रमा संगठीत काठ तस्कर र वनकर्मीबीच पटक पटक मुठभेड भएका कारण यो पटक छापामार्न विशेष तयारी गरिएको थियो । सशस्त्र, नेपाल प्रहरी र सशस्त्र वन रक्षकको दलवलसहित पुगेको वनकर्मीको टोली देखेर काठ तस्कर घरछाडी भागेका थिए । घरमा असक्त बृद्ध र केटाकेटी मात्र रहेकाले कठ बरामद भए पनि तस्कर भने पक्राउ नपरेको डिएफओ झाले बताउनुभयो । 

वनकर्मीले उनीहरुको घरमा सूचना टाँस गरी तलासी लिएको थियो । अधिकांश काठ खेतबारी र वगैचामा लुकाइएको अवस्थामा फेला परेका थिए । चिरान काठ भने घरभित्रबाट बरामद गरिएको थियो । बरामद काठको प्रकृति हेर्दा पाँच छ महिना अगाडि स्थानीय चुनावकाबेला कटान भएको वनकर्मीको अनुमान छ । यी काठ बस्ती नजिकका विभिन्न सामुदायिक वनबाट चोरी गरेको वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयले घट्नाको सघन अनुसन्धान गरी प्रतिवेदन बुझाउन बाँके सव डिभिजन वन कार्यालयका अधिकृत नवीनकुमार यादवलाई अनुसन्धान अधिकृत तोकेको छ । प्रतिवेदनका आधारमा फरार काठ तस्करको पहिचान गरी कारबाही गरिने झाले बताउनुभयो ।


डिएफओ झाकाअनुसार सुराकीले दिएको सूचनाको आधारमा घटनास्थल पुगेको टोलीले साँझ ५ बजेसम्म तलासी लिएको थियो । यसअघि वन गस्तिमाथि वनमारा गिरोहले महिला उचालेर अवरोध र आक्रमण गर्नेगरेका थिए । यसपटक टोेलीमा महिला सुरक्षाकर्मीसमेत रहेकाले कुनै अवरोध नभएको वनकर्मीले जनाएका छन् ।