• १२ असार २०८१, बुधबार

महानगरले हटायो राहदानी विभागको अनधिकृत संरचना

blog

फाइल तस्बिर

काठमाडौं, भदौ १० गते । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेण्टमा बनाइएका संरचना हटाएको छ । 

शुक्रबार महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेण्टमा बनाइएका संरचना हटाएको हो। सेवा लिन जाने सवाग्राहीले सवारी साधन विभाग बाहिर नै पार्किङ गर्नुपर्ने बाध्यता रहेकाले सवारी आवतजावतमा समस्या आएको गुनासो गरेपछि महानगरपालिकाले अध्ययन गरेर बेसमेण्टमा रहेका संरचना हटाएको हो । 

अनुगमनका क्रममा विभागले सवारी पार्किङका लागि छुट्याउनुपर्ने बेसमेण्टमा प्रतिक्षालय बनाएको पाइएको थियो। महानगरपालिकाले बेसमेण्टमा रहेका संरचनासहित बेञ्च हटाएर पार्किङका लागि खाली गराएको छ। 

अवैध संरचना हटाइसकेपछि सञ्चारकर्मीसँगको कुराकानीमा काठमाडौं महानगरपलिकाका नगर प्रहरी बलका प्रमुख नगरप्रहरी उपरीक्षक राजु पाण्डेले काठमाडौं महानगरपालिका भित्र यसरी अवैध संरचना बनाएका ठाउँ तीन सय भन्दा बढी रहेको जानकारी दिनुभयो। 

उहाँले भवन निर्माण गर्दा के प्रयोजनका लागि नक्शा पास गरिएको हो भन्ने कुरा स्पष्ट खुलाइएकोले प्रयोजन अनुरुपको काम गर्नुपर्ने बताउनु भयो। उहाँले नागरिकले पनि आफ्नो तहबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। 

काठमाडौं महानगर क्षेत्रका व्यावसायिक प्रतिष्ठानका भवन र सार्वजनिक भवनमा सवारी पार्किङका लागि भनेर बेसमेण्ट बनाउन ‘कर छुट’ को सुविधा लिइए पनि पार्किङको लागि नभइ अन्य प्रयोजनमा प्रयोग भएको पाइएपछि महानगरपालिकाले साउन महिनामा नै ३५ दिने सूचना जारी गरेको थियो। 

उक्त सूचनाको पालना गरेको नपाइएपछि महानगरपालिकाले स्थलगत अनुगमन गरेर अवैध संरचनाहरु हटाउन सुरु गरेको थियो। संरचना हटाएपछि राहदानी विभागले भने भवनको नक्शाअनुसार बेसमेण्टमा पार्किङ राख्ने पहल गर्ने जनाएको छ।