• ११ असोज २०८१, शुक्रबार

‘जसपा गठबन्धनबाहिर रहन सक्दैन’

blog

पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्नु हुँदै नेता अशोककुमार राई । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ ९ गते। जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद अध्यक्ष अशोकुमार राईले आफ्नो पार्टी गठनबन्धन भन्दा बाहिर रहन नसक्ने बताउनुभएको छ। सदरमुकाम फुङ्लिङमा बिहीबार पत्रकारसँग भेटघाट गर्नुहुँदै राईले प्रतिनिधि तथा प्रदेशसभा  सदस्य निर्वाचनमा जसपा हालको सत्ता गठनबन्धनबाहिर रहन नसक्ने बताउनुभएको हो। 

तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई पटकसम्म संसद विघटन गरेपछिको परिस्थितिसँगै वर्तमान पाँच दलीय गठबन्धन बनेको स्मरण गर्दै नेता राईले आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनसम्म यही गठबन्धनको विकल्प नभएको बताउनुभयो। जसपा गठबन्धन छोडेर बाहिर जान नसक्नेभन्दै उहाँले गठबन्धनलाई सफल बनाउनका लागि आफूहरु लागि परेको बताउनुभयो।

 गठबन्धनको निर्णयअनुसार भाग लाग्ने स्थानमा उम्मेदवारी दिँदै प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन सहभागी हुने पनि उहाँले बताउनुभयो। उहाँले प्रतिनिधि सभाका सदस्यका लागि एक सय ६५ वटै स्थानमा गठबन्धनबीच तालमेल गरेर निर्वाचनमा जसपा सहभागी हुने र प्रदेशसभा सदस्यका लागि तीन सय ३० स्थानमा पनि सकेसम्म तालमेल गर्ने, सहमति नभए गठबन्धन दलहरुकाबीच रचनात्मक र मित्रवत् प्रतिस्पर्धा गर्न पनि जसपा तयार रहेको बताउनुभयो।

 अहिले गठबन्धनमा सिट बाँडफाड कार्य दलले काम गरिरहेको बताउँदै चाँडै निष्कर्ष निस्कनेमा पनि आफू ढुक्क रहेको उहाँले बताउनुभयो। यता आफू सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने मनसाय रहेको बताउँदै आफूले चाहेअनुसारको क्षेत्रमा सम्भव हुने वा नहुने विषयको टुङ्गो गठबन्धनबीचको भागबण्डाले निर्धाराण गर्ने पनि उहाँको भनाइ छ।

उहाँले निर्वाचन केन्द्रित योजनमा पार्टी लागि सकेको पनि जानकारी दिनुभयो। जनता समाजवादी पार्टी नेपालले यही भदौ १५ गतेभित्र जिल्ला तहले सम्भावित उम्मेदवारहरुको नामावली प्रदेश समितिमा पठाइसक्नुपर्ने निर्णय गरेको छ। त्यस्तै प्रदेशले भदौ २५ गतेभित्र सङ्घीय संसदीय बोर्डमा पठाई सक्नुपर्नेगरी पार्टीको कार्यतालिका रहेको उहाँले जानकारी दिनुभयो।