• १३ साउन २०८१, आइतबार

१२ करोड बढी लागतमा निर्मित कञ्चन बाँधको उदघाटन

blog

कन्चन बाँधको उदघाटनपछि बाँध अवलोकन गर्दै सार्वजनिक लेखा समितिका सभापति शाह लगायत अतिथी र स्थानीयहरु । तस्वीर : छविलाल पाण्डे

छविलाल पाण्डे 

बुटवल, भदौ ९ गते । संघीय सार्बजनिक लेखा समिति सभापति भरतकुमार शाहले रुपन्देहीको कञ्चन बाँध सिंचाई आयोजनाको बिहीवार उदघाटन गर्नुभएको छ । १२ करोड ७६ लाख २८ हजार ६ सय ५५ रुपियाँको लागतमा निर्माण सम्पन्न भएको सिंचाई आयोजनाबाट गैडहवा गाउँपालिकामा रहेको ऐतिहासिक गैडहवा तालमा पानी लग्ने र त्यहाँबाट सिंचाई योजनाहरु सञ्चालन गर्ने आयोजनाको उद्देश्य रहेको छ । 

सो आयोजनाबाट रुपन्देहीको गैडहवा गाउँपालिका, लुम्विनी नगरपालिका र कन्चन र मायादेवी गाउँपालिकाका धेरै वडामा सिंचाई सुविधा उपलब्ध हुनेछ । कञ्चन बाँधबाट अब रुपन्देहीको दक्षिण–पश्चिम क्षेत्रको करिब पाँच हजार बढी विघा क्षेत्रफलमा सिंचाई सुविधा पुग्नेभएको छ ।  

सिंचाई आयोजनाको उदघाटन गर्दै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले रुपन्देहीका ग्रामीण क्षेत्रमा धेरै पुल र सडकहरु बने पनि सिंचाई गर्ने बाँधको अभावमा खेतहरु धेरै बाँझो भएकाले अब कञ्चन बाँधले यस क्षेत्रका किसानलाई सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  

लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक फकरुद्दीन खानले सिंचाईविना अन्न उत्पादन हुन नसक्ने भन्दै अन्य भौतिक पूर्वाधारजस्तै सडक बनाउनुभन्दा पहिले सिंचाई आयोजना बनाउनु जरुरी रहेको बताउनुभयो । आफूले सिंचाईलाई पहिलो प्राथमिकता दिने उहाँले प्रतिवद्धता जनाउनुभयो ।  

सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सिंचाईको अभावका कारण कृषि उत्पादन प्रभावित भएकाले अब सिंचाइ व्यवस्थालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । कार्यक्रममा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले नेपाल कृषिप्रधान मुलुक भए पनि कृषिमा आत्मनिर्भर हुन नसकिएको भन्दै अझै पनि पानीको अभावमा खेतहरु बाँझो रहेकाले सिंचाईको व्यवस्था गरेर कृषिलाई समृद्ध बनाउनुपर्ने बताउनुभयो ।