• ८ असार २०८१, शनिबार

महाकालीमा बन्नेभयो पक्की पुल

blog

दार्चुला समाचारदाता

दार्चुला, भदौ ९ गते । दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माण हुने भएको छ । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको छार्चुम जोड्ने गरेर महाकाली नदीमाथि पुल बनाउन लागिएको हो। 

मोटरेबल पुल निर्माणको शिलान्यास गर्नका लागि तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो। दार्चुलामा महाकाली नदीमाथि भारतसँग जोड्ने सातवटा झोलुङ्गे पुल सञ्चालनमा छन्। 

दुईवटा पुल निर्माणाधीन अवस्थामा रहेका छन् भने थप केही पुल निर्माणका लागि पहल भइरहेको छ। मोटरेबल पुल नहुँदा भने आवागमनमा समस्या कायमै रहेको छ। मोटरेबल पुल नभएको कारणले भारतसँगको सम्बन्धमा केही कमी अनुभव भइरहेको छ, प्रजिअ उपाध्यायले भन्नुभयो, “विशेषगरी दार्चुला जिल्ला अस्पतालबाट रेफर भएका बिरामीलाई पिथौरागढ लैजाने प्रवृत्ति देखिएको छ। मोटरेबल पुल भए सहज रूपमा त्यहाँ गएर उपचार गर्न सम्भव हुन्थ्यो।” 

त्यसैगरी दुवै देशको आर्थिक, सामाजिक, धार्मिक सम्बन्ध मजबुत बनाउनसमेत पुल महत्वपूर्ण हुने उहाँको भनाइ छ। 

मोटरेबल पुल अबको केही समयमै शिलान्यास हुने चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो। 

केही दिन पहिले मात्रै पुल निर्माणको टेन्डर कार्य सम्पन्न भएको छ। चन्डिगढको निर्माण कम्पनीले पुल निर्माणको ठेक्का प्राप्त गरेको छ। उहाँले भन्नुभयो, “योभन्दा पहिले पनि टेन्डर आह्वान भएकोमा आवश्यक योग्यता नपुगेको ठेकेदारले मात्रै विट गरेकोले ढिला भयो।” 

अबको एक/डेढ महिनाभित्रै सम्झौता कार्य टुङ्ग्याएर पुल शिलान्यास गर्ने तयारी छ। भारतीय प्राविधिक टिमसँग पनि पुलको अवस्था र प्रगतिका बारेमा छलफल भएको उहाँले बताउनुभयो। 

यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार आवागमनलाई बलियो बनाउन तथा दुवैतर्फको समुदायबीच रहेको सम्बन्ध र सम्पर्कलाई थप मजबुत बनाउन भूमिका खेल्ने दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्नाले बताउनुभयो। नेपाल–भारत आउजाउ गर्न दार्चुलाको महाकाली नदीमा झोलुङ्गे पुल र धेरै स्थानमा तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्छ। 

गत माघ १८ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र नेपाल सरकारका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठबीच पुल निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षरसमेत भइसकेको छ। 

भारत र चीनसँगको व्यापार वृद्धिका लागि महाकाली नदीमा मोटरेबल पुल बनाउन गृहकार्य अन्तिम चरणमा पुगेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बताउनुभयो। महाकालीमा मोटरपुल निर्माण भएपछि दार्चुलाका साथै बैतडी र बझाङसम्मको व्यापार दार्चुलाको नाकाबाट हुने मन्त्री बडूको भनाइ छ। 

दार्चुलामा भारतसँग जोड्ने मोटरेबल पुल निर्माण भएमा यसले दार्चुला र प्रदेशकै विकासमा टेवा पु-याउने आशा गरिएको बेला निर्माण कार्यको सुरुवात गर्न ढिलासुस्ती भइरहेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्।