• ८ असार २०८१, शनिबार

बिनाबिचौलिया काम हुँदैन

समयमा आउँदैनन् फाँटका कर्मचारी

blog

ललिता साह

बोदेबर्साइन (सप्तरी), भदौ ९ गते । सप्तरीस्थित जिल्ला प्रशासन कार्यालयमा बिना बिचौलिया कुनै काम नहुने गरेको र कर्मचारीसमेत समयमा कार्यालयमा नआउने गरेको अधिकांश सेवाग्राहीको गुनासो छ। जिल्ला प्रशासन कार्यालय सप्तरीबाट दैनिक रूपमा ६० देखि ८० वटासम्म नयाँ नागरिकता र राहदानी वितरण हुँदै आए पनि यहाँ न समयमा कार्यालयका कर्मचारी आउँछन् न फाँटहरू नै समयमा खुल्छन्। तिरहुत गाउँपालिकाबाट राहदानी बनाउन छिट्टै पालो आउँछ भनेर बिहानै सात बजेदेखि जिल्ला प्रशासन कार्यालय परिसरमा लाइन बस्नुभएका सुरेशकुमार मण्डल भन्नुहुन्छ, “११ बजेसम्म कार्यालयमा फाँटका कर्मचारी आएका छैनन्। यहाँका फाँटहरू कार्यालय समयभन्दा एकदेखि डेढ घण्टासम्म ढिला खोल्ने रैछन् र एक बजेसम्म मात्रै काम हुने रैछ। एक मिनेट पनि ढिला भयो भने सेवाग्राहीको फाइल कर्मचारीले छाडेर हिँड्छन् ।” 

बुधबार पनि ११:१५ मा कार्यालय आउनुभएको भनेर सेवाग्राहीले कार्यालयको गेटमै प्रश्न गर्दा नागरिकता फाँटका अधिकृत कल्पना मानन्धर उल्टै सेवाग्राहीसँगै झोक्किनुभयो। केही दिनअघि मात्रै स्थानीय तहमा जनप्रतिनिधि आएसँगै जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेको भीड बढेको तर कार्यालयले व्यवस्थित तवरले सेवा दिन नसकेको सम्बन्धमा गोरखापत्रले समाचार सम्प्रेषण गरेपछि प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीलाई टोकन प्रणाली मार्फत सेवा दिन थालिएको छ। टोकन प्रणाली मार्फत सेवा सुरु भएसँगै सेवा दिने कार्यालयभित्रै तथा बाहिरबाट समेत थप सास्ती सुरु भएको जिल्ला प्रशासन कार्यालयमा नागरिकता तथा राहदानी बनाउनको लागि जिल्ला प्रशासन कार्यालय आउनुभएका सेवाग्राहीले गुनासो गर्नुभएको छ ।

बोदेबर्साइन नगरपालिकाबाट राहदानी बनाउनको लागि विगत एक हप्तादेखि धाउँदै आउनुभएका प्रवेश गुप्ता बुधबार बिहान ८:००‍ बजेदेखि जिल्ला प्रशासनको परिसरभित्र लाइनमा बसेकाको भेटिनु भयो। हामी तीन दिनदेखि दिनभरि कुरेर फर्किन्छाैँ र फेरि आउँछौ हाम्रो काम हुँदैन। बिचौलियाले पैसा मागे मैले पैसा नदिने भनेपछि झन् काम भएन। दिनभर घाममा लाइन लागेका छौँ, तर हाम्रो फाइल हातको हातमै छ। दर्जनको दर्जन फाइल बिचौलिया मार्फत भित्र गएर काम भएर आउँछन्। कोसँग भन्ने? हामी सबै यही टुलुटुलु हेरेर बसेका छौँ। मसँग पनि हिजो एक जना बिचौलियाले पैसा मागे तर, मैले पैसा दिइन, प्रवेशले भन्नुभयो।

जिल्ला प्रशासन कार्यालयभित्रका सबै फाँटका कर्मचारीदेखि सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीसम्म मिलेको महदेवा गाउँपालिकाका रोशनको भनाइ छ। लाइनमा घण्टौँसम्म बसेर पनि काम नहुँदा सेवाग्राहीले गुनासो गर्दा प्रशासन कार्यालय परिसरभित्र खटिएका सुरक्षाकर्मीले सेवाग्राहीलाई उल्टै गालीगलौजदेखि हातपातसम्म गर्ने गरेका छन्। 

यस्तो अवस्था हेरेर न कर्मचारी केही बोल्छ जिल्ला प्रशासन सहायक प्रमुख तथा प्रमुख केही बोल्छन्। दिनदिनै काम नभएर फर्किने युवाले मजबुर भएर बिचौलिया मार्फत काम गराउँछन्। यसरी बिचौलिया र कर्मचारी दुवै मोटाउँछन् भन्ने जिल्ला प्रशासन कार्यालयअगाडि स्टेसनरी व्यवसाय गर्दै आएका सप्तरी युथ क्लबका सदस्य सुरज यादवले बताउनुहुन्छ। “हो हरेक कर्मचारी समयमा कार्यालय आउनुपर्ने हो र पारदर्शी ढङ्गले चुस्त सेवा दिनु पर्ने सबै कर्मचारीको दायित्व हो। हाम्रो निर्देशन पनि यस्तै रहेका छन्। यद्यपि सेवाग्राहीको असन्तुष्ट हुने खालको कुनै विकृति छ भन्ने हामी बिस्तारै सच्याउँछौँ,’’ सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले भन्नुभयो।