• ११ असोज २०८१, शुक्रबार

गोल्मा राजारानीको मूर्ति स्थापना

blog

दोलखा समाचारदाता 

चरीकोट, भदौ ९ गते । दोलखाको सैलुङ गाउँपालिका–५ मा नेपालमै प्रख्यात मानिने गोल्मा राजा गोल्मा रानीको मूर्ति स्थापना गरिएको छ । बागमती प्रदेश सरकारबाट प्राप्त ३० लाखमध्ये १५ लाख ४४ हजार रुपियाँमा मूर्ति स्थापना गरिएको उपभोक्ता समिति अध्यक्ष नवराज कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार काम भएबराबरको भुक्तानी भएको छ र बाँकी रकम फिर्ता गएकाले परिसरमा घेराबार गर्न सकिएको छैन । 

परिसरमा स्थानीय गुठियार दुलाल बाहुनले पूजाआजा गर्ने यसको मन्दिर पनि छ । गुठीका नाममा दुई सय रोपनी खेत रहेको छ । गुठियारबाट दैनिक पूजाआजा गर्ने चलन अहिले पनि चलिरहेको छ । गुठियार भरतप्रसाद दुलालले भन्नुभयो, “विक्रम संवत् १७०० तिरको अलि नबुझिने कागजमा २५ घरधुरी दुलालले दुई सय रोपनी खेत प्रयोग गरेबापत पूजाआजा गर्ने भनी लेखिएको देखिन्छ । नापी हुँदा फिल्डबुकमा गुठी जनाएर २५ जनाको नाम लेखिएको छ । 

गोल्मा राजा गोल्मा रानीको सन्तान नभएपछि राज्य टुटेकाले यी दुलाल बाहुनलाई गुठियार बनाई पूजाआजा सञ्चालन हुँदै आएको देखिन्छ ।” मन्दिर परिसरमा दरबार रहेको भग्नावशेष देखिएका छन् । सरकारले उत्खनन गरी भएका तथ्य सार्वजनिक गरेर यसको विकासमा जोड दिनुपर्ने स्थानीयको माग छ ।