• ११ असोज २०८१, शुक्रबार

अस्पतालको फोहोर नदीमा विसर्जन

blog

बिर्तामोड समाचारदाता

बिर्तामोड, भदौ ९ गते  । बिर्तामोडका विभिन्न अस्पतालले अस्पतालजन्य फोहोर विरिङ नदीमा फाल्दा नदी प्रदूषित भएको छ। रातको समयमा बिर्तामोडको कनकाई अस्पताल, मनमोहन अस्पताल र विभिन्न आँखा अस्पतालबाट उत्पादित फोहोर, सिरिन्जलगायतका अस्पतालजन्य फोहोर सिधैँ नदीमा फाल्दा नदी प्रदूषित बनेको छ भने नदी आसपासमा बसोबास गर्ने स्थानीयसमेत मर्कामा परेका छन्। 

खोलामा मानिस हिँड्दा र गाईबस्तुलाई पानी खुवाउँदासमेत अस्पतालका सिरिन्ज गाडिने त्रास भएको स्थानीय अगुवा शेरबहादुर थापाले बताउनुभयो। यसबारेमा सचेत नागरिकको तर्फबाट जिल्ला प्रशासन कार्यालय झापालाई समेत जानकारी गराइसकेको थापाले बताउनुभयो। कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिका ७ र ९ मा पर्ने उक्त विरिङ नदीमा अस्पतालका फोहोर फ्याँक्ने गरेको पाइएको बताउनुभयो। अस्पतालको फोहोर नदी जस्तो पवित्र स्थलमा  फाल्ने काम जघन्य अपराध हो । 

हामीले ती सम्बन्धित अस्पताललाई उनीहरूले फालेका फोहोर जेजस्तो अवस्थामा छन् उठाउन निर्देशन दिएका छौँ  । २४ घन्टाभित्र नउठाए एक्सनमा जान्छौँ, नगरप्रमुख पोखरेलले बताउनुभयो। केही हप्तादेखि बिर्तामोड नगरपालिका र फोहोर फाल्ने स्थानका स्थानीयबीच विवाद हुँदा बिर्तामोड नगरपालिकाको फोहोर फाल्ने काम स्थगित हुँदै आएको थियो। यसबीचमा बिर्तामोड नगरपालिका क्षेत्रका अस्पतालको फोहोर छिमेकी कनकाई नगरपालिकाको विरिङ नदीमा फालिएको पाइएको हो।