• ११ असोज २०८१, शुक्रबार

पहिरो विस्थापित परिवारले पाए जग्गा

blog

सङ्खुवासभा समाचारदाता

सङ्खुवासभा, भदौ ९ गते । दुई वर्षअघि सिलिचोङ गाउँपालिका–१, सिसुवाखोलामा गएको पहिरोले विस्थापित बनाएकाहरूलाई जग्गा हस्तान्तरण गरिएको छ। २०७७ असार २७ गते राति गएको पहिरोबाट विस्थापित ५५ परिवारले खाँदबारी नगरपालिका–७ मा निःशुल्क जग्गा पाएका छन्। 

पहिरो विस्थापित ९२ परिवार मध्ये ५५ परिवारलाई जिल्ला सदरमुकामसमेत रहेको खाँदबारी नगरपालिका ल्याइएको हो। बाँकी ३७ परिवारलाई सिलिचोङ–१ कै चित्रे र बखल्टुम भन्ने स्थानमा पुनस्र्थापना गरिएको छ। गाउँ नै बग्ने गरी गएको पहिरोको कारण विस्थापित भएकालाई पुनर्वास हुन चाहेको ठाउँ रोज्न लगाइएको थियो। सो क्रममा ५५ जनाले खाँदबारी रोजेका थिए।

खाँदबारी जान चाहेकाको सङ्ख्या ठूूलो भएपछि खाँदबारी नगरपालिकाको उपप्रमुखको संयोजकत्वमा जग्गा व्यवस्थापन समिति गठन गरी जग्गाको खोजी गरिएको थियो। निःशुल्क तथा सशुल्क जग्गा दिन चाहनेबाट विवरण सङ्कलन गरी सबैभन्दा राम्रो मानिएको खाँदबारी–७ भैरे डाँडाको जग्गा छनोट गरिएको थियो। यो क्षेत्र खाँदबारी नगरपालिकाको कार्यालयबाट करिब ३० मिनेटको पैदल दुरीमा रहेको छ। ३५ हजार ३४५ दशमलव ६५ वर्गमिटर क्षेत्रफल रहेको उक्त जग्गाको मूल्य एक करोड ३० लाख रुपियाँ तोकिएको थियो। 

पहिरो विस्थापितहरूको संयुक्त नाममा जग्गाको लालपुर्जा बनाइएको जिल्ला विपत् व्यवस्थापन समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले जानकारी दिनुभयो। जग्गाको लालपुर्जा संयुक्त नाममा भए पनि घर निर्माणको लागि कित्ता काट गरी प्रत्येक परिवारलाई वितरण गरिएको हो। उहाँहरूलाई बुधबार गोला प्रथा मार्फत जग्गा बाँडिएको हो। घर निर्माणको लागि १३ हजार ५६३ दशमलव ६९ वर्गमिटर छुट्याइएको छ भने बाँकी रहेको खेत र जङ्गल पछि बाँडफाँड गरिने खतिवडाले जानकारी दिनुभयो।

विस्थापितलाई घर निर्माणको लागि प्रति परिवार पाँच लाख ५० हजार रुपियाँ प्रदान गरिने जिल्ला विपत् व्यवस्थापन समिति अध्यक्ष खतिवडाले जानकारी दिनुभयो। प्रत्येक विस्थापित परिवारलाई घर बनाउने गरी जग्गा हस्तान्तरण गरिसकेकोले अब घर निर्माणको प्रक्रिया चाँडै सुरु गरिने खतिवडाले जानकारी दिनुभयो। 

पहिरो विस्थापित र मनसुनजन्य विपत् प्रभावितलाई पुनस्र्थापना गर्ने सम्बन्धी कार्यविधिअनुसार बजेटको व्यवस्थापन गरी जग्गा खरिद तथा घर निर्माण गर्न लागिएको हो। सो कार्यविधिअनुसार सङ्घीय सरकारले ६०, प्रदेशले ३० र स्थानीय सरकार सिलिचोङ गाउँपालिकाले १० प्रतिशत लगानी गरेको छ। घर निर्माणको लागि सिलिचोङ गाउँपालिकाले आफ्नो दायित्वमा परेको १० प्रतिशत रकम जिल्ला विपत् व्यवस्थापन कोषको खातामा जम्मा गरेको र सङ्घ तथा प्रदेश सरकारमा बजेट माग भएको उहाँले जानकारी दिनुभयो। 

२०७७ असार २७ गते राति सिसुवाखोलाको बेसिन्दामा गएको पहिरोले चार घर बगाउँदा ११ जना बेपत्ता भएका थिए। बेपत्ताको खोजी गर्ने क्रममा थप एक जनाको मृत्यु भएको थियो। पहिरोबाट विस्थापितलाई नजिकैको चित्रे र सिसुवाटार बुधबारेमा अस्थायी रूपमा राखिएको थियो।