• ८ असार २०८१, शनिबार

नगरपालिकाको पशुबधशाला प्रयोग विहिन

blog

जलेश्वरस्थित निर्माण गरिएको प्रयोग विहिन पशुवधशाला । तस्वीर : महेशकुमार दास

महेशकुमार दास 

जलेश्वर, भदौं ८ गते । महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको पशुवधशाला प्रयोग विहिन भएको छ । निर्माण भएको वर्षौ बितिसक्दा समेत सो वधशालाको सदुपयोग हुन नसकेको स्थानीयको गुनासो छ । वधशालाको प्रयोग नहुँदा स्वस्थ मासु र माछा पाउन समस्या भएको स्थानीयको भनाइ छ । 

जुन उद्देश्यसाथ आठ वर्ष पहिले पशुवधाला निर्माण गरियो सो उद्देश्य हालसम्म पूरा हुन नसकेको स्थानीय उपभोक्ताको प्रतिक्रिया छ । उपभोक्ताले स्वच्छ मासु खान पाउने उद्देश्य साथ महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जलेश्वर नगरपालिका कार्यालय अगाडि माछा बजार नजिकै आठ वर्षअघि पशु बधशाला निर्माण गरिएको थियो । 

त्यतिबेला ६५ लाख ९६ हजार १९५ रुपियाँको लागतमा सो वधशाला निर्माण कार्य सम्पन्न भएको भए पनि त्यसको सदुपयोग हुन सकेको छैन । निर्माण कार्य सम्पन्न भई सो वधशालाको स्वामित्वय जलेश्वर नगरपालिकाको कार्यालयलाई हस्तान्तरण गरिएको थियो । 

नगरपालिकाको तात्कालिन कार्यकारी प्रमुख सुजितकुमार कर्णले वधशाला निर्माणको खर्च नगरपालिकाबाटै दिएर निर्माण कार्य सम्पन्न गर्न लगाई सोको स्वामित्व आफनो हातमा लिनुभएको थियो ।  

निर्माण कार्य सम्पन्न गर्न ठेक्का पाएका श्री राजेन्द्र निर्माण सेवा डडेल्धुराले तात्कालिन नगरपालिकाको कार्यकारी प्रमुख कर्णलाई पशु वधशालाको साँचो समेत हस्तार गर्नुभएको थियो । नगरपालिका र ठेकेदारबीच लेनदेन विवाद भए पनि २०७० माघ १६ गते वधशाला निर्माण कार्य सम्पन्न भएको थियो । 

केही दिन सो वधशालामा मासु विक्री वितरण शुरु भए पनि बिस्तारै वधशाला प्रयोग विहिन बनेको स्थानीय युवा राकेश चौधरीले बताउनुभयो । 

नामका लागी यहाँ पशु वधशाला छ स्थानिय फारुखले भन्नुभयो, “सरोकारवाला निकायको उदासिनताका कारण हामी उपभोक्ता अस्वस्थ्कर मासु माछा खान बाध्य छौंर ।”

जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनारले सो पशुवधशालाको व्यवस्थापन छिटै गर्ने बताउनुभयो । यसअघिका जनप्रतिनिधि र सरोकारवाला निकायले यसतर्फ ध्यान नदिँदा पशुवधशाला प्रयोग विहीन भएको उहाँले स्वीकार्नुभयो । नगर प्रमुख सोनारका अनुसार छिटै  पशुवधशालाको टेण्डर प्रक्रियाबाट भाडा लगाई व्यस्थित गरिनेछ ।